पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको छ ।
सरकारले पूर्वाधार कर घटाउने निर्णय गरेसँगै मूल्य पनि घटेको निगमले जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावअनुरुप मूल्य घटाइएको भन्दै निगमलृ अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मटितेलको मूल्य १५३ रूपैयाँ पर्ने जनाएको छ । तर, खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत छ ।
पेट्रोलियम पदार्थमा पूर्वाधार कर घटाउन गर्न अर्थ मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको थियो। मन्त्रिपरिषदको निर्णयअनुसार कर समायोजन गर्नु भन्दै अर्थले पत्राचार गरेको हो। मन्त्रिपरिषदले पेट्रोल-डिजेलमा लाग्दै आएको प्रतिलिटर १० रुपैयाँ पूर्वाधार विकास कर हटाउने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयनका लागि आर्थिक विधेयकबाट सम्बोधन हुनुपर्दछ । तर अर्थ मन्त्रालयले बुधबार वाणिज्य मन्त्रालयलाई मूल्य समायोजन गर्न भन्दै पत्राचार गरेको थियो।
पत्रका अनुसार, ‘नेपाल सरकारको मन्त्रिपरिषदको जेठ १० को निर्णय अनुसार सीमावर्ती मूल्यअन्तर समेतका आधारमा अर्थ मन्त्रालयले करदर रेट कार्यान्वयन गर्ने सम्बन्धमा विषय पेश हुँदा हाल आर्थिक ऐन २०७९ विचाराधिन रहेकाले करको दररेट हेरफेर गर्न मनिसिव नरहेकोले तत्कालका लागि बिक्री मूल्यमा पूर्वाधार कर बराबरको रकम प्रतिलिटर १० रुपैयाँ समायोजनका साथै चालु आर्थिक वर्षको अन्त्यसम्मका लागि मूल्य समायोजन कायम गर्न सहमति प्रदान गरेको मन्त्रीस्तरको निर्णय २०७९ जेठ १७ अनुसार अनुरोध छ।’
यसअघि संसदमा बोल्दै वाणिज्यमन्त्री दिलेन्द्रप्रसाद बडूले मन्त्रिपरिषदबाट पेट्रोलियम पदार्थमा पूर्वाधार कर घटाउने निर्णय भैसकेको र अर्थ मन्त्रालयले त्यसको(हिसाब किताब निकालेर कार्यान्वयन गर्ने बताएका थिए।
यसैगरि, अर्थमन्त्री शर्माले पनि बजेटपछि पत्रकार सम्मेलन गर्दै पेट्रोलियम पदार्थमा पूर्वाधार विकास शिर्षकमा लाग्दै आएको कर हटाइने बताएका थिए । तर आर्थिक ऐन २०७९ दफा ९ मा पूर्वाधार विकास कर यथावत राखिएको छ। आर्थिक ऐन २०७९ दफा ९ मा नेपालमा आयात हुने पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँको दरले पूर्वाधार विकास कर भन्सार विन्दुमा लगाइ असुल गरिनेछ भनि उल्लेख गरिएको छ।