नयाँ जनप्रतिनिधिसँगको अपेक्षा «

नयाँ जनप्रतिनिधिसँगको अपेक्षा


मुलुक संघीयतामा प्रवेश गरेपछि देशमा दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । संघीयतामा गएपछि पहिलो पटक भएको निर्वाचनमा चुनिएका जनप्रतिनिधिले कानुनी तथा कर्मचारी व्यवस्थापनको अन्योलका बीच केही समय बिताउनु परेको गुनासो गरे पनि बाँकी समयमा राम्रै काम गरेको महसुस गर्न सकिन्छ । जनताका सुखदुःखका सरकार भनेकै स्थानीय सरकार भएकाले यसले विकासमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । स्थानीय तहलाई दैलोको सरकार भनिने भएका कारण पनि उनीहरूप्रति नागरकिको अपेक्षा पनि बढी नै हुन्छ । यसै सिलसिलमा जिल्लास्थित कारोबारकर्मी दीपक बोहोरा र विकास घिमिरेले समाजका विभिन्न वर्गका व्यक्तिसँग गरेको कुराकानीको सार :

भिजन भएको जनप्रतिनिधि अहिलेको आवश्यकता हो
सुमन लामा
फिदिम–१

जनप्रतिनिधिहरू भनेको जनताको सबैभन्दा नजिकका सेवक हुन् । आगामी दिनमा हाम्रा दलीय उम्मेदवार तथा प्रतिनिधिहरू निकै सच्चिएर, बदलिएर नेपाल बदल्ने र आम उत्पीडित आधारभूत वर्गको समुदायको वर्गीकरण गरी उनीहरूको रोजगार र उत्पादन ग्यारेन्टीतर्फ प्रयत्न सुरुवात हुनुपर्छ । यो हो उम्मेदवारहरूको महत्वपूर्ण एजेन्डा । यस्तो एजेन्डा भएपछि हाम्रो नगर, गाउँ, वडाको समग्र विकास गर्ने खालको प्रतिनिधिहरू हुनुपर्छ ।
विकास भनेको खालि भौतिक संरचनाको थुप्रोलाई मात्रै मानेर हुन्न । उत्पादन के हो, के छ ? त्यसको पहिचान र आवश्यकता मूल प्रश्न हो । उत्पादनका हिसाबले गाउँघर शून्य हुँदै गइरहेको छ । स्वदेशमा लगानी उत्पादन, रोजगारी नहुँदा अहिलेको हरेक नेपाली विदेशमा कमाउन जानुपर्ने बाध्यता छ । त्यही कमाइबाट आएको पैसाले घरको खान, लाउन, शिक्षा, स्वस्थ्यमा खर्च पु-याएर बाँचेको जनजीविका चलाउनेहरूलाई सहयोग पु-याउने खालको हुनुपर्छ । सही एजेन्डा, विचार, समृद्ध बोकेको खालको जनप्रतिनिधि हुन जरुरी छ ।

जनप्रतिनिधि स्थानीय आवश्यकता बुझ्ने हुनुपर्छ
पबिन सुब्बा
मिक्लाजुङ–२, पाँचथर

जनप्रतिनिधिहरू स्थानीय आवश्यकताअनुसार राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक नीति योजना र कार्यक्रमको निर्माण गर्ने उम्मेदवार हुनुपर्छ । शिक्षा, स्वास्थ्य, रोजगारीका साथै उत्पादनसँग जोडेको मुद्दा उठान गर्नसक्ने जनप्रतिनिधि हुनुपर्छ । मेरो विचारमा राजनीति नै नबुझेको नयाँ अनुहार, सेलिब्रेटीलाई उम्मेदवार हुनबाट निषेध गर्नुपर्छ ।
जनप्रतिनिधि भनेको जनताद्वारा चुनिएर आएको प्रतिनिधि हो भन्ने बुझ्नुपर्छ । मुख्य रूपमा स्थानीय मुद्दालाई ध्यानमा राखी काम गर्ने जनप्रतिनिधि हुनुप-यो । संघीय र प्रादेशिकभन्दा स्थानीय तहको चुनाव फरक हुन्छ । संघ र प्रदेशले नीति निर्माण गर्ने चुनाव हो ।
तर, स्थानीय चुनाव भनेको नीति निर्माण, कानुन तथा योजना कार्यक्रम बनाउने, शासकीय पद्धति लागू गर्ने सरकार हो । जनताको मुद्दा स्थानीयस्तरको मुद्दा विकास निर्माणको मुद्दालाई जोडतोडले स्थापित गर्ने, आफ्नो वर्ग र समुदायको पक्षमा निर्धक्क बोल्ने उम्मेदवार हुनुपर्ने हो ।

पहिलो प्राथमिकता भ्रष्टाचार नियन्त्रण हुनुपर्छ
रोमन अधिकारी
विद्यार्थी

स्थानीय तहको निर्वाचन सकिइसकेको छ । अहिले मतगणनाका परिणामहरू धमाधम सार्वजनिक भइरहेका छन् । त्यसले गर्दा निर्वाचनको एक चरण सकिइसकेको छ । अब सबैको ध्यान स्थानीय विकासमा केन्द्रित हुनुपर्छ भन्ने मलाई लाग्छ । आन्दोलनको माध्यमबाट होस् या मतदानको माध्यमबाट होस्, नेपालमा धेरै ठूला परिवर्तन भए । त्यसले गर्दा जनताले परिवर्तनमा राजनीतिक दलहरूलाई साथसमेत दिए । तर, जब नेताहरू कार्यकारी स्थानमा पुगे तब उनीहरूले आफन्त, नातागोतालाई अगाडि बढाउने र अवसरहरू दिन थाले । हामीजस्ता आर्थिक–सामाजिकलगायत कारणबाट तल्लो स्थानका नागरिकलाई त्यसले छुन सकेन, त्यो राजनीतिक परिवर्तनपछि आएको एउटा नकारात्मक पाटो हो भन्ने मेरो बुझाइ छ ।
स्थानीय सरकारलाई समेत पाँच वर्ष हेरिसक्यौं, तर जुन रूपले काम गर्नुपर्ने हो त्यस रूपले काम भएन । जनतामा आशा जगाउने भन्दा पनि निराशा छाउने जस्ता काम बढी भए । सामाजिक र आर्थिक रूपले पछि परेका नागरिकलाई स्थानीय सरकारले केही सहयोग गरेजस्तो त देखियो, तर त्यसले कुनै ठूलो परिवर्तन देखिएन । समग्रमा स्थानीय तहहरूमा भ्रष्टाचार बढेको कुराले धेरै स्थान पाए । अब आउने नयाँ जनप्रतिनिधिहरूले अघिल्लो स्थानीय सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिँदै नराम्रा काम रोकेर अगाडि बढ्दा राम्रो हुन्छ जस्तो मलाई लाग्छ । स्थानीय सरकारले पहिलो प्राथमिकता भ्रष्टाचार नियन्त्रणमा दिनु आवश्यक छ । त्यसपछि उत्पादन वृद्धिका काम ल्याउनुपर्छ र अन्य सामाजिक क्षेत्रको समेत सुधार गर्दै जानुपर्छ भन्ने मलाई लाग्छ । शैक्षिक बेरोजगार युवाहरूलाई स्थानीय स्तरमा कसरी रोजगारी दिन सकिन्छ भन्नेतर्फ पनि स्थानीय सरकारले ध्यान दिन आवश्यक हुन्छ र योजना बनाउँदा दीर्घकालीन सोचका साथ योजना बनाउने गर्नुपर्छ भन्ने मेरो सुझाव अब आउने नयाँ जनप्रतिनिधिहरूलाई रहेको छ ।

जनप्रतिनिधिले कुरा होइन, काम गर्नुपर्छ
शिवनाथ राई
स्थानीय

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले अब जितेर गइसकेपछि पहिलो कुरा जनताका तत्काल गर्नुपर्ने समस्या के छन् भनेर पहिचान गर्नुपर्छ । जनप्रतिनिधिहरूले निर्वाचनमा गरेका प्रतिबद्धताहरूलाई तत्काल गर्नुपर्ने र बिस्तारै लाने कार्यलाई समेत छुट्ट्याउनुपर्छ । त्यसअनुरूप काम गर्नुपर्छ । भोट माग्दा ठूला–ठूला आश्वासन दिने तर जितेर गएपछि हामी पहल गर्दै छौं भन्ने कतिपय साना, जुन पालिकाको बजेटबाटै गर्न सकिने कामलाई समेत पहल गरिँदै छ भन्ने र टार्ने कामसमेत यसभन्दा पहिलाका जनप्रतिनिधिहरूले गरेका छन्, अब त्यस्ता झूटा कुराहरू गर्न भएन । चुनाव जितेर गइसकेपछि पार्टीभन्दा माथि उठ्नुपर्ने हुन्छ । कतिपय जनप्रतिनिधिहरू चुनाव जितेपछि पार्टीभन्दा माथि उठेनन्, त्यसो गर्न भएन । धनकुटा जिल्लाको हकमै कुरा गर्ने हो भने यहाँ धेरै समस्या रहेका छन् । अझै पनि शिक्षा स्वास्थ्यकै लागि ठूलो धनराशि खर्च गरेर यहाँबाट बाहिर सेवा लिन जानुपर्ने बाध्यता छ । सदरमुकाममै खानेपानीको समस्या ठूलो छ । त्यस्ता आधारभूत कुराहरूलाई अलिक गम्भीर ढंगले सोच्नुपर्छ भन्ने मलाई लाग्छ । बजार क्षेत्रकै कतिपय स्थानमा बाटोको समस्याले गर्दा एम्बुलेन्स, दमकल पुग्न पनि समस्या छ । त्यस्ता साना कुराहरूलाई समेत ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ । एउटा तीतो सत्य के छ भने जुनसुकै दलका उम्मेदवारहरूले जितेर गए पनि घोषणपत्रअनुसार काम , त्यसले गर्दा जनतालाई उम्मेदवारहरूले ढाँटिरहेका छन् भन्ने आभास हुन्छ । अबका जनप्रतिनिधिहरूले कुरा होइन, काम गर्नुपर्छ ।

विकासका लागि सक्षम नेतृत्वको खाँचो छ
डिल्लीप्रसाद शर्मा
सामाजिक अभियन्ता

पोखरा पर्यटकीय क्षेत्र हो । फेवातालसहितका सात तालहरू संरक्षण गर्नुका साथै अतिक्रमणबाट बचाउन अत्यावश्यक देखिएको छ । पोखराको समग्र भौतिक विकाससँगै मानव संसाधनको विकास तथा पूर्वाधारमा पनि जोड गर्नुपर्ने असल, सक्षम नेतृत्व जरुरी छ । पोखराको पर्यटनसँगै शिक्षा, रोजगारी र कृषिक्षेत्रको प्रवद्र्धन गर्ने व्यक्तिको खाँचो छ । सराङकोटको डाँडाबाट जसरी पोखरालाई हेर्दा सन्तुलित रूपमा देखिन्छ, त्यसैगरी पोखरालाई सन्तुलित रूपमा विकास गर्न सक्ने सक्षम व्यक्ति अहिलेको आवश्यकता हो । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको हुनाले यसलाई अन्तर्राष्ट्रिय रूपमा हवाई उडान सञ्चालन गर्न सक्ने मिसन, भिजन भएको मेयर आउनु पर्ने अवस्था छ । पोखरामा निर्माण हुने सम्पूर्ण भौतिक संरचनाहरूमा अपाङ्गमैत्री, बालमैत्री, त्यसै पनि ज्येष्ठ नागरिकमैत्री भवनहरू, संरचनाहरू निर्माण हुन आवश्यक छ । जसरी पोखरामा निर्माण हुँदै गरेको साइकल ट्र्याक निर्माण हुँदै छ, यसमा सिग्नल अरू पनि आवश्यक छ ।

दोस्रो स्थानीय तहको निर्वाचनबाट धेरै अपेक्षा गरिएको छ
धरमसिंह लामिछाने
टेनिस खेलाडी

पोखरा पर्यटनसँगै खेलकुदको पनि राजधानी हो । पोखरामा विभिन्न साहसिक खेल पर्यटनको छुट्टै महत्व र पोखराको आर्थिक विकास तथा समृद्धिमा ठूलो टेवा पु-याउन सक्ने व्यक्तिको आवश्यकता छ । अब पोखराको मेयरले पोखराको पर्यटनसँगै खेल पर्यटन र खेलाडीहरूको भावना बुझ्ने व्यक्ति र विकास गर्ने सक्षम नेतृत्व सम्हाल्न सक्ने मेयरको खाँचो छ । पोखराको विकासका लागि धेरै सम्भावना छन् । पोखरामा रहेका प्राकृतिक स्रोतसाधन सेती नदी, फेवाताललगायतका क्षेत्रलाई राम्रोसँग प्रवद्र्धन गरेर त्यहाँबाट उचित मुनाफा लिन सकेमा पोखराको आर्थिक विकास हुनेमा कोसेढुंगा साबित हुनेछ । पोखरालाई अन्तर्राष्ट्रिय सहरका रूपमा विकास गर्नुपर्ने आवश्यक पूर्वाधारहरू निर्माण गर्न सक्ने सक्षम र सबल नेतृत्वको खाँचो छ । स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूबाट पोखरेलीहरूलाई अपेक्षाकृत विकासको अनुभूति नभएको हुँदा दोस्रो स्थानीय तहको निर्वाचनबाट धेरै अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्