Logo

दिगो निर्यातका लागि रणनीति आवश्यक

नेपालले आफ्नै मुलुकमा कच्चा पदार्थ पाइने वस्तुको उत्पादन तथा निर्यातमा ध्यान दिनु आवश्यक छ ।

नेपालको निर्यात व्यापारमा उल्लेख्य योगदान रहेको पाम आयलको कच्चा पदार्थमा इन्डोनेसियाले प्रतिबन्ध लगाएपछि चालू आर्थिक वर्षको बाँकी महिनामा निर्यात व्यापारमा नकारात्मक असर पर्न सक्ने आकलन रहेको छ । आफ्नो आन्तरिक बजारको मागलाई हेरेर इन्डोनेसियाले निर्यातमा प्रतिबन्ध लगाएको छ, जसबाट नेपालको करिब एक चौथाइ निर्यात धानेको पाम आयलको निर्यातमा कतिसम्म असर पर्छ, उद्योग एवं वाणिज्य तथा आपूर्ति दुवै मन्त्रालयले अध्ययन गर्नु आवश्यक छ । नेपालले विभिन्न देशबाट पाम आयल आयात गरी त्यसलाई प्रशोधन गरी निर्यात गर्दै आएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार नेपालले इन्डोनेसियालगायत विभिन्न देशबाट नौ महिनामा झन्डै ३३ अर्ब ६१ करोड रुपैयाँबराबरको पाम आयल आयात गरेको छ । आयात गरिएको कच्चा तेल प्रशोधन गरी नेपालले ३६ अर्ब ३८ करोड रुपैयाँबराबरको पाम आयल निर्यात गरेको छ । विभागका अनुसार नै चालू आर्थिक वर्षको नौ महिनामा कुल १ खर्ब ६० अर्ब रुपैयाँबराबरको वस्तु निर्यात हुँदा ३६-३७ अर्ब रुपैयाँको पाम आयलमात्र निर्यात भएको देखिन्छ । निर्यात घट्दा त्यसको असर विदेशी मुद्रा सञ्चितिमा समेत पर्छ । चालू आर्थिक वर्षमा बढेको करिब ९० प्रतिशतको निर्यातमा मुख्यतया तीन तेलको हिस्सा आधाभन्दा बढी छ, जसका कारण यी निर्यातमा कुनै पनि समयमा समस्या आउनासाथ नेपालको निर्यात व्यापार फेरि आधा खर्बमा झर्छ । केन्द्रीय तथ्यांक विभागले गत साता प्रकाशित गरेको चालू आर्थिक वर्षको आर्थिक वृद्धि प्रक्षेपणमा पनि चालू आर्थिक वर्षमा नेपालको वस्तु तथा सेवा निर्यात चालू मूल्यमा ३ खर्ब २० अर्ब ७१ करोड अर्थात् कुल गार्हस्थ्य उत्पादनको ६.६१ प्रतिशत हुने अनुमान गरेको छ ।
तर, कुल वस्तु निर्यातको प्रमुख वस्तु पाम आयलको निर्यातमा नकारात्मक असर पर्दा यसले तथ्यांक विभागको अनुमान पनि असफल हुने डर रहेको छ । साथै, पाम आयलको प्रतिबन्धले निर्यातमा मात्र नभएर विभिन्न क्षेत्रमा पनि असर गर्छ । नेपालमा झन्डै ४० अर्ब रुपैयाँबराबरको लगानी गरेका करिब एक दर्जन उद्योगको कच्चा पदार्थ इन्डोनेसियाबाट नै आउने गरेकोमा कच्चा पदार्थको अभावमा उद्योग सञ्चालनमा कठिनाइ हुन्छ, जसका कारण प्रत्यक्ष रोजगारीका साथै सरकारको राजस्व आयमा पनि धक्का लाग्छ । त्यतिमात्र नभएर आन्तरिक बजारमा तेलको अभाव भएपछि तेलको मूल्य थप बढ्छ । अर्थशास्त्रको सिद्धान्तमा भनिएझैं बजारमा आपूर्ति घट्दा मूल्य स्वतः वृद्धि भएर उच्च हुन्छ । यसका साथै बजारमा अभाव भएको मौका छोपेर कालाबजारी पनि सक्रिय हुन थाल्ने खतरा रहन्छ ।
त्यसैले नेपालले आफ्नै मुलुकमा कच्चा पदार्थ पाइने वस्तुको उत्पादन तथा निर्यातमा ध्यान दिनु आवश्यक छ । कच्चा पदार्थ आयात गरेर प्रशोधन उद्योगमात्र चलाउँदा कुनै पनि बेला ती उद्योग बाह्य कारणले धराशायी हुन सक्छन् । नेपालमा नै पाइने कच्चा पदार्थमा आधारित उद्योगमा सबैभन्दा बढी सम्भावना भएको कृषि क्षेत्रसँग सम्बन्धित उद्योग हुन् । तर, हाल मुलुकमा कृषि उत्पादनसमेत आयात गरेर खानुपर्ने स्थिति बनेका कारण सरकारले आन्तरिक कृषि उत्पादनलाई बढावा दिन तथा आयातलाई प्रतिस्थापन गर्न आयातित कृषि उत्पादनमा भन्सार लगाउन सकिन्छ । विश्व व्यापार संगठनमा नेपालले गरेको प्रतिबद्धताअनुसार कृषि उत्पादनमा औसत ४२ प्रतिशत र गैरकृषि वस्तु उत्पादनमा २४ प्रतिशत भन्सार लगाउन सकिने प्रावधान छ । यसरी आयात प्रतिस्थापन हुने वस्तुमा दरबन्दी बढाउन सकिने आधारमा सरकारले आन्तरिक कृषि उत्पादनलाई संरक्ष्ण गर्न सक्छ । तर, त्यसका नाममा हुन सक्ने मूल्यवृद्धितर्फ भने सरकार सचेत हुनुपर्छ । आयात बन्द गरेर आन्तरिक उत्पादनको मूल्य अचाक्ली बढाउन कुनै बहाना भने दिनु हुँदैन । स्वदेशमै वस्तु उत्पादन गर्न प्रोत्साहनका लागि सरकारले आगामी बजेटमार्फत प्याकेज ल्याउने तर बजार भाउका बारेमा वाणिज्य विभागलगायतले सक्रियतापूर्वक बजारमा असामान्य भाउ वृद्धि हुन नदिन अनुगमनमा ध्यान दिने गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्