प्राकृतिक विपत्तिको सामना गर्न सधैं तयार रहौं

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर विनाशकारी भूकम्प गएको सात वर्ष भएको छ । विनाशकारी भूकम्पले करिब ९ हजार बढी मानिसले मुलुकभरमा ज्यान गुमाए, २२ हजारभन्दा बढीको अङ्गभङ्ग भयो तथा लाखौँका भौतिक संरचना ध्वस्त भए । महाभूकम्पको सातौं वर्ष पुग्दा क्षति भएका संरचनाहरूको पुनर्निर्माण पनि क्रमशः सम्पन्न हुँदै छन् । महाभूकम्पबाट नेपालले आगामी दिनमा कसरी बलियो संरचना बनाउने तथा विनाशकारी प्राकृतिक प्रकोपबाट बच्न पूर्वकदम तथा तयारीका बारेमा अनुभव संकलन गर्ने मौका पाएको छ । तर, नेपालमा सबै प्राकृतिक प्रकोपलाई सामान्य ठान्ने तथा त्यसबाट पाठ नसिकेका उदाहरणहरू पनि धेरै छन् । त्यसैले आगामी दिनमा नेपालले भूकम्पजस्ता प्राकृतिक प्रकोपबाट कसरी क्षति न्यूनीकरण गर्ने तथा बलिया संरचनाको महत्व के हो भन्ने एकपटक फेरि स्मरण गर्नु सान्दर्भिक हुन्छ । नेपाल विशेषता काठमाडौं उपत्यका सधैं भूकम्पको जोखिममा रहेको छ । भूकम्पबाट भन्दा पनि हामीले बनाएका कमजोर संरचनाका कारणबाट मानवीय तथा भौतिक क्षति हुने गर्छन् । नेपाल भूकम्पीय जोखिमको क्षेत्रमा रहेका कारण सधैं तयारी अवस्थामा रहनुपर्छ । गोरखा महाभूकम्पले गरेको ७ खर्बबराबरको आर्थिक क्षति एउटा पाटो हो । तर, भूकम्प शनिबार नगएर अन्य दिनमा गएको भए विद्यालयमा अध्ययनरत लाखौं बालबालिकाको अवस्थाको कल्पना पनि गर्न सकिन्न । साथै, यदि राति उक्त भूकम्प गएको भए हामीले सोचेको भन्दा धेरै जनधनको क्षति हुने थियो । त्यसैले पनि हामीले आफ्ना भौतिक संरचना विशेषता निजी घर, प्रहरी चौकी, स्वस्थ्य संस्था, विद्यालयजस्ता भौतिक संरचनामात्र नभएर आफ्ना वरिपरिका अन्य भवन एवं खुला स्थानका बारेमा पनि गम्भीरतापूर्वक सोच्नुपर्छ ।
महाभूकम्पपछि सरकारले पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरू संलग्न सम्मेलन पनि आयोजना गर्यो । नेपालका विकास साझेदारहरूले नेपालको पुनर्निर्माणमा सहायता गरे । राजनीतिक दलहरूले पनि त्यस संकटको समयमा समन्वय गरे भने निजी क्षेत्रले आफ्नै कठिनाइका बाबजुद उक्त संकटका घडीमा धेरै सहयोग तथा सहकार्य मात्र गरेनन्, धेरै स्थानमा निजी क्षेत्रले प्रत्यक्ष रूपमा नै पुनर्निर्माणमा पनि सहभागी भएर आफ्नो दायित्व पूरा गर्यो । पुनर्निर्माणको काम सकिएको छैन र मुलुक फेरि पहिलाकै अवस्थामा माथि उठ्न खोज्दै छ । तर, यसबाट हामीले बाढीपहिरोलगायतका प्राकृतिक प्रकोपमा पनि कसरी सहकार्य गर्ने तथा पुनर्निर्माण र पुनस्र्थापना कसरी गर्ने भन्ने कठोर अनुभव पनि गरायो । धेरै आरोह–अवरोहका बीचबाट भूकम्पछिको पुनर्निर्माणको काम लगातार चलिरहेको छ । नेपालको पुनर्निर्माणको अनुभव हाम्रा लागि मात्र नभएर विश्वकै लागि पनि एउटा पाठ भएको छ । तत्काल एउटा विशिष्ट खालको कानुनी प्रक्रिया, संस्थागत संरचना, वित्तीय व्यवस्थापन, जनशक्तिको परिचालन र तालिमको उपलब्धताको सुनिश्चितता खालको ढाँचासहित गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौंदेखि जिल्ला तथा तीनवटै तहमा सहकार्य गरेर एउटा नयाँ पाठ पनि सिकाएको छ । तीन तहको सरकार र नागरिकबीच समन्वय हुँदा कसरी विपद्बाट उठ्न सकिन्छ र व्यवस्थापन गर्न सकिने रहेछ भन्ने पाठ सिकेका हामीले अब यस पाठलाई बिर्सने तथा एकअर्कामा दोषरोपण गर्नेभन्दा पनि प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापनमा प्रविधिको प्रयोगबारे पनि सजग हुनुपर्ने बेला आएको छ । प्रविधिले विपद्को पूर्वानुमान गर्न सकिन्छ र जोखिम न्यूनीकरण पनि गर्न सकिन्छ । त्यसैले अब यसबाट सिकेका पाठ तथा अनुभवले नेपाललाई भविष्यमा विपद्बाट सुरक्षित बनाउन मार्गचित्र बनाउने कार्यमा प्रयोग गर्नु आवश्यक छ । सुरक्षित आवास, बाढीपहिरोेको पूर्वसूचना प्रणालीजस्ता कार्यमा लगातार सतर्कतापूर्वक लागिरहने तथा विपद् आउँदा उद्धारका लागि पूर्वतयारी अवस्थामा रहने गरी स्थानीय वडादेखि केन्द्रसम्म आपत्कालीन राहत र उद्धार प्रणालीको केन्द्र बनाउनुपर्छ । साथै, विद्यालय र स्वास्थ्य संस्था, प्रहरी चौकी तथा सरकारी कार्यालयहरू भूकम्पप्रतिरोधी बनाउन दीर्घकालीन रूपमा कार्ययोजना बनाएर लाग्न पनि यस दिनले स्मरण गराइरहनेछ ।