ऋण लगानी बढ्दा पनि खराब कर्जा घट्नु शंकास्पद «

ऋण लगानी बढ्दा पनि खराब कर्जा घट्नु शंकास्पद

वाणिज्य बैंकहरूको कर्जा हरेक वर्ष २० प्रतिशतभन्दा धेरैले वृद्धि हुँदा खराब कर्जा भने घट्दै गएको छ । खराब कर्जाको दर घट्दै जाँदा बैंकिङ क्षेत्रप्रति नै शंका उत्पन्न हुन थालेको छ । बैंकहरूको १० खर्बको कर्जाभन्दा साढे २३ खर्बको कर्जामा खराब कर्जाको अंश आधाभन्दा थोरै भएपछि शंका झनै बढेको हो ।
बैंकहरूले आक्रामक रूपमा कर्जा प्रवाह गरिरहेको अवस्थामा पनि खराब कर्जा झनै घट्नु शंकास्पद रहेको नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले बताए । “कर्जाको आकार बढेपछि खराब कर्जाको प्रतिशत स्वतः कम देखिने भएकाले थोरै देखिएको हो,” उनले भने । त्यसका साथै बैंकहरूले कर्जालाई ‘इभरग्रिनिङ’ गर्ने प्रचलनले पनि खराब कर्जा कम भएको उनले बताए ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा २८ बाणिज्य बैंकले २३ खर्ब ६४ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका छन् । सो अवधिमा बैंकहरूको औसत खराब कर्जा १.५४ प्रतिशत मात्र छ । तर, २०७१ पुससम्ममा सञ्चालनमा रहेका ३० वाणिज्य बैंकहरूले १० खर्ब १८ अर्ब रूपैयाँ बराबरको कर्जा प्रवाह गर्दा औसत खराब कर्जा २.८ प्रतिशत थियो । बैंकहरूले नाफा बढाउनका लागि कर्जाको रिकभरीलाई जोड दिएको हुनाले पनि खराब कर्जा कम भएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले बताए । “बैकहरूको बिनाधितो कर्जा नदिने र धितोको रूपमा अधिकांश घरजग्गा नै रहेको छ,” उनले भने, “पछिल्लो समयमा घरजग्गाको मूल्य बढिरहेको अवस्था छ, त्यसैले लिलामी गरेर कर्जा उठाउँदा पनि नोक्सान भएको छैन ।” बैंकिङ क्षेत्रमा खराब कर्जाको अंश घट्नुलाई सकारात्मक रूपमा नै लिनुपर्ने दाहाल बताउँछन । तर, केही बैंकले दायाँबायाँ गरेर खराब कर्जा लुकाएको भए पनि त्यो दीर्घकालीन नहुने दाहालको विश्लेषण छ ।
पछिल्लो समयमा उच्च ब्याजदरको चापमा ऋणी भएको हुनाले कर्जा समयमा भुक्तानी कसरी गरेका छन् भन्ने विषयलाई पनि सोच्नुपर्ने पूर्वगभर्नर क्षेत्री बताउँछन । ऋणीले कर्जाको साँवा तथा ब्याज तिर्न नसकेपछि खराब कर्जा बढ्नु पर्ने हो नी ? क्षेत्रीले प्रश्न गरे । त्यसैले बैंक र ऋणी मिलेर कर्जा इभरग्रिनिङ गरेको हुनाले खराब कर्जा लुकेको उनको बुझाइ छ । कर्जाको इभरग्रिनिङ गर्न पाइँदैन तर ऋणदाता र ऋणी मिलेपछि नियामकले पनि केही गर्नसक्ने अवस्था नरहने उनको बुझाइ छ ।
पछिल्लो पाँच वर्षमा बैंकहरूले प्रवाह गरेको कर्जा हरेक वर्ष २० प्रतिशतभन्दा धेरैले वढेको छ । तर, खराब कर्जा भने झनै न्यून हँुदै गएको छ । २०७१ पुसमा १९.८९ प्रतिशतले बढेर १० खर्ब १८ अर्ब रुपैयाँ रहेको बैंकहरूको कुल कर्जा २०७२ पुसमा १४.८५ प्रतिशतले बढेर ११ खर्ब ६९ अर्ब पुगेको थियो । यो अवधिमा बैंकहरूको औसत खराब कर्जा २०७१ पुस को तुलनामा खराब कर्जा केही बढेर २०७१ पुसमा २.९९ प्रतिशत पुगको छ । तर, त्यसपछि २०७३ पुसमा बैंकहरूको कर्जा ३५.२७ प्रतिशतले वढेर १५ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ भने खराब कर्जा घटेर १.६४ प्रतिशतमा झरेको छ । यो अवधिमा बैंकहरू मर्जर तथा एक्विजिसनमा गएको कारण कर्जा उच्च दरमा वढेको हो । त्यसैगरी २०७४ पुसमा बैंकहरूले कर्जा २०.८५ प्रतिशत वढाएर १९ खर्ब ११ अर्ब रुपैयाँ पु-याएको अवस्था पनि खराब कर्जा भने १.७१ प्रतिशतमा सीमित छ । चालू आर्थिक वर्षको पुसम्ममा पनि बैंकहरूको कर्जा २३.७० प्रतिशतले वढेर २३ खर्ब ६४ अर्ब रुपैयाँ हुँदा पनि खराब कर्जा झनै घटेर १.५४ प्रतिशतमा सीमित भएको छ ।

प्रतिक्रिया दिनुहोस्