Logo

सहकारी संस्थाले उद्योग खोल्न पाउने

नेपालमा सञ्चालित सहकारी संस्थाले अब उद्योग खोल्न पाउने भएका छन् । सरकारबाट अनुमति प्राप्त सहकारी संस्थाहरूले उद्योग खोल्न पाउने सम्बन्धी नयाँ व्यवस्था सरकारले गरेको छ । औद्योगिक व्यवसाय ऐनमा सहकारी संस्थालाई उद्योग खोल्न दिने व्यवस्था भए पनि नियमावली बन्न नसक्दा यो कार्यान्वयनमा आउन सकेको थिएन । सरकारले गत साता औद्योगिक व्यवसाय नियमावली राजपत्रमा प्रकाशित गरेसँगै अब सहकारी संस्थाहरूले पनि उद्योग खोल्ने बाटो खुलेको छ ।
उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी चार प्रकारका सहकारी संस्थाले मात्र उद्योग खोल्न पाउने बताउँछन् । उनका अनुसार उत्पादक सहकारी संस्था वा संघ, उपभोक्ता सहकारी संस्था वा संघ, श्रमिक सहकारी संस्था वा संघ र बहुउद्देश्यीय सहकारी संस्था वा संघले मात्र उद्योग खोल्ने सुविधा पाउने छन् ।
यसबाहेक अन्य प्रयोजनका निमित्त दर्ता भएका सहकारीले भने आफ्नो क्षेत्राधिकारभित्र रहेर व्यावसायिक काम गर्नुपर्नेछ । “बचत तथा ऋण सहकारी संस्थाले भने उद्योग खोल्न पाउने छैनन् भनेर नियमावलीमै स्पष्टसँग लेखिएकाले उनीहरुले उद्योग दर्ता गर्न पाउने प्रावधान रहँदैन,” महानिर्देशक तिवारीले भने ।
औद्योगिक व्यवसाय नियमावली २०७८ अनुसार उद्योग दर्ता गर्न चाहने सहकारी संघ वा संस्थाले आवश्यक मापदण्ड पूरा गर्नुपर्ने र निश्चित शर्त पालना गर्नुपर्ने व्यवस्था छ । जसमा सहकारी संस्थाको साधारणसभाले उद्योग खोल्ने निर्णय गरेको हुनुपर्ने, उद्योग खोल्ने क्षेत्रको स्थानीय तहले स्वीकृति दिनुपर्ने लगायत रहेका छन् । यस्तै, नियमावली अनुसार सहकारी संस्थाको अघिल्लो वर्षको लेखापरीक्षण प्रतिवेदन, सेयर सदस्यहरूको लगतसहितको विवरण, सहकारी संस्थाको विनियमको प्रतिलिपिलगायतका कागजात अनिवार्य रूपमा उद्योग विभागमा पेस गर्नुपर्नेछ ।
देशमा हाल २९ हजार ८ सय ८६ को संख्यामा सहकारी संस्था रहेका छन् । जसमध्ये संघीय सरकार मातहत १ सय २५ वटा अर्थात् ०.४१ प्रतिशत, प्रदेश सरकार मातहत ६ हजार २ अर्थात् २०.०८ प्रतिशत सहकारी छन् भने स्थानीय तहमा दर्ता भएका सहकारीको संख्या २३ हजार ७ सय ५९ अर्थात् ७९.४९ प्रतिशत रहेको सहकारी विभागको तथ्यांकमा उल्लेख छ । सहकारी संस्थामा आबद्धमध्ये महिला ५६ प्रतिशत र पुरुष ४४ प्रतिशत रहेको अवस्था छ ।
ससाना पुँजी परिचालनमा सहकारीको रचनात्मक योगदान रहँदै आए पनि केही बचत तथा ऋण सहकारीको बदमासीले यो क्षेत्र नै बदनाम हुँदै आएको छ ।
सहकारीमार्फत उद्योग सञ्चालनले स्वदेशी पुँजी परिचालन तथा कच्चा पदार्थको उपयोगिता र बजारीकरणको चक्र सहज रूपमा अघि बढ्ने तथा यसबाट ठूलो संख्यामा रोजगारी सिर्जना हुने अपेक्षा सरकारको छ । सरकारले दुई वर्षअघि जारी गरेको औद्योगिक व्यवसाय ऐनले नै सहकारी संस्थालाई उद्योग स्थापनाका निमित्त बाटो खोलेको थियो । ऐनको दफा १७ (५) मा स्पष्ट व्यवस्था छ, “प्रचलित कानुनबमोजिम दर्ता भएका तोकिएबमोजिमका सहकरी संस्थाले सो संस्थाको स्वामित्व रहने गरी उद्योग दर्ता गर्न चाहेमा यस ऐनबमोजिम उद्योग दर्ता गर्न सक्नेछन् ।” यसरी ऐन बनेको दुई वर्षपछि जारी भएको नियमावली कार्यान्वयनमा आएसँगै सहकारी संस्थाहरूले अब उद्योग दर्ता गर्न सक्नेछन् । देशमा उत्पादनमूलक उद्योगको योगदान कुल गार्हस्थ उत्पादन घट्दै गएका बेला यो व्यवस्थाले केही सहज वातावरण बन्न सक्ने सरोकारवालाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्