इन्धन खरिदका लागि निगमले माग्यो दुई अर्ब ऋण

नेपाल आयल निगमले इन्धन खरिद गरेबापतको रकम भुक्तानी गर्नका लागि सरकारसँग दुई अर्ब रुपैयाँ ऋण मागेको छ । लगातार मूल्य बढेर निगमको कोषमा भएको रकम सकिएपछि उसले ऋण मागेको हो ।
अन्तराष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढेपछि निगम घाटामा गएको छ । निगमका प्रवक्ता वीनितमणि उपाध्यायले सञ्चित मुनाफा र मूल्य स्थिरीकण कोषमा भएको रकम सकिएपछि तेल खरिद गरेको भुक्तानी गर्नका लागि रकम माग गरिएको जानकारी दिए । मूल्य स्थिरीकरण कोषमा भएको रकम सकिएपछि इन्डियन आयल कर्पाेरेसन (आईओसी)लाई भुक्तानी गर्नुपर्ने अपुग रकम माग गरिएको उनले बताए । उनका अनुसार हाल निगमको मूल्य स्थिरीकरण कोषमा जम्मा २५ करोड रुपैयाँ मात्र बाँकी छ । यसमा निगमले यसअघि जम्मा गरेको रकमको ब्याजसमेत जोड्ने हो भने ३० करोडको हाराहारी मात्र कोषमा पैसा रहेको छ ।
यो रकमले आईओसीलाई हरेक १५ दिनमा तिर्नुपर्ने रकम भुक्तानीका लागि छेउ पनि नलाग्ने अवस्था सिर्जना भएपछि निगमले सरकारको जमानीमा राष्ट्रिय वाणिज्य बैंकमार्फत ऋण मागेको हो । अहिलेको खरिद तथा बिक्री मूल्यका आधारमा निगमको घाटा एक महिनामै १० अर्ब रुपैयाँ पुगिसकेको छ । पछिल्लोपटक मूल्य वृद्धि गर्दा पनि गत महिना ९ै अर्ब २७ करोड घाटा ब्यहोर्नुपरेको निगमले जनाएको छ ।
यो अवस्थामा हरेक १५ दिनमा आईओसीलाई तिर्नुपर्ने रकम अभाव हुने देखिएपछि तत्कालका लागि सरकारसँग कम्तिमा दुई अर्ब ऋणका लागि प्रस्ताव गरिएको हो । केही रकम इन्धन बिक्रीबाट उठ्ने र अपुग रकम सरकार जमानत बसेर राष्ट्रिय जाणिज्य बैंकमार्फत उपलब्ध गराउन पत्राचार गरिएको उनले जानकारी दिए । निगमले आउँदो किस्ता बुझाउँदा १४ अर्ब रुपैयाँ आईओसीलाई बुझाउनुपर्ने हुन्छ । साउनदेखि चैतसम्म ३३ अर्ब रुपैयाँ घाटामा गएको निगमको भनाइ छ । अहिले निगमलाई सबैभन्दा धेरै घाटा खाना पकाउने एलपीजी ग्यासमा रहेको छ । प्रतिसिलिन्डर ग्यासमा ९ सय ३२ रुपैयाँ घाटा रहेको छ । यस्तै पेट्रोल प्रतिलिटरमा २२ रुपैयाँ, डिजेल २८ रुपैयाँ घाटा रहेको दाबी गर्दै आएको छ ।