निजी क्षेत्रका लागि औसत वर्ष «

निजी क्षेत्रका लागि औसत वर्ष

कोभिड, तरलता अभाव, रुस–युक्रेन युद्धको असर निजी क्षेत्रमा परेको छ । यसले व्यावसायिक वातावरणमा खलबल्याएको छ । कोभिड महामारी साम्य भइसकेकोले रुस र युक्रेनको युद्ध समाप्त भएपछि आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।

२०७८ को सुरुवातमै कोभिड महामारी उत्कर्षमा पुगेका कारण वर्षैभरी यसको प्रभाव रहिरह्यो । कोभिडका कारण वैशाख र जेष्ठ महिनामा स्वास्थ्य पूर्वाधार अपुग हुँदा सयौं नेपालीले ज्यान गुमाउनु प-यो । तर, कोभिड विरुद्धको भ्याक्सिनको प्रभावकारिताका कारण तेस्रो लहर भने अपेक्षाकृत पीडादायी भएन र यसले अर्थतन्त्रमा पनि त्यति नकारात्मक प्रभाव पार्न सकेन । अर्थतन्त्र पुनरुत्थानको दिशामा अघि बढ्दा बैंकहरुमा कर्जाको माग अत्याधिक बढ्यो र निक्षेपको तुलनामा कर्जा बढ्दै जाँदा वित्तीय संकट समेत देखिन थाल्यो । अहिले अधिकांश बैंकहरु कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा छन् या भनौं उद्यमी व्यवसायीले सहज रुपले कर्जा पाउन सकेको अवस्था छैन ।
कोभिड महामारीपछि कर्जाको अत्यधिक माग बढ्दै जानुले अर्थतन्त्र लयमा फर्कन थालेजस्तो देखिए पनि निजी क्षेत्रको विकास र विस्तार भने अपेक्षाकृत रुपमा हुन सकेन । वर्षको अन्त्यतिर रुस र युक्रेन युद्धको असरले निजी क्षेत्र खुम्चिनुपर्ने स्थितिमा पु¥याइ दियो । यो युद्धका कारण अहिले कच्चा पदार्थ आयात देखी स्वदेशी उद्योगको उत्पादन क्षमता र लागत दुबैमा प्रभाव परेको छ । एकाएक बढेको इन्धनको मूल्यको प्रभाव उद्योग व्यवसाय हुँदै उत्पादित बस्तु तथा सेवामार्फत आम उपभोक्ताको घरसम्म पुगको छ । छिमेकी श्रीलंकामा सुरु भएको आर्थिक संकटजस्तै नेपालको अर्थतन्त्र पनि पुग्ने हो कि भन्ने मनोवैज्ञानिक त्रास आम सर्वसाधारणसँगै निजी क्षेत्रमा देखिएको छ । यद्यपि, निजी क्षेत्रका अगुवाहरु भने नेपालको संकट क्षणिक भएको बताएका छन् । निजी क्षेत्रले कोभिड बर्ष ०७८ सुरुवात कष्टकर भएपनि अत्यतर्फ भने केहि सहज भएको भन्दै औसत वर्षको रुपमा लिएको छ ।
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्ला दुई वर्ष निजी क्षेत्रका लागि कष्टकर रहेको कहिल्यै नभोगेको महामारीको चपेटामा परेको बताउँछन् । कोभिडको दोस्रो लहर निजी क्षेत्रका लागि निकै सकसपूर्ण रहेपनि महामारीका बेला सामानको नियमित आपूर्ति भने गर्न सकिएको बताए । यसले गर्दा आयातमा अवरोध भएर अस्वाभाविक मूल्यवृद्धि हुने अवस्था बनेन । कोभिडको दोस्रो लहर सुरु हुनै लाग्दा मुलुकले १० वर्षमा अवलम्बन गर्नुपर्ने आर्थिक नीति महासंघले तयार पारेको थियो । १० वर्षमा गर्न सकिने काम र त्यसबाट हासिल हुन सक्ने उपलब्धि सहितको राष्ट्रिय आर्थिक रूपान्तरण (नेट २०३०) सार्वजनिक गरेको हो । गत वर्ष ३५ अर्ब डलर हाराहारी रहेको अर्थतन्त्रलाई १० वर्षमा १ सय अर्ब डलरको पु¥याउने कार्ययोजना यो दस्ताबेजमा छ । कुल गार्हस्थ्य उत्पादन र व्यापारघाटा बीचको अनुपात आधा घटाउन सक्ने सम्भावना पहिल्याइएको छ । औपचारिक निजी क्षेत्रमा सजिलै औपचारिक क्षेत्र थप २२ लाख जनशक्तिलाई रोजगारी दिन सक्ने आधार छन् । यसका लागि १० प्राथमिकता प्राप्त क्षेत्र र एक सय योजना पहिचान गरिसकिएको छ । कोभिड प्रभावका कारण महासंघले यो भिजन पेपरमा अपेक्षाकृत काम गर्न भने सकेन । चालू आवको पहिलो पाँच महिनामा सेयर बजार, घरजग्गा, उत्पादनमूलक उद्योग र दैनिक उपभोग्य सामानको आयातमा माग अत्यधिक देखियो । दुई वर्षदेखि शिथिल अर्थतन्त्र जुर्मुराउन खोज्दा यो स्वाभाविक थियो । वित्तीय क्षेत्रबाट निक्षेपको करिब तीन गुणा बढी कर्जा प्रवाह भयो । पहिलो पाँच महिनामा ५.११ प्रतिशतले वृद्धि भएको अर्थतन्त्र संकुचित हुन थालेको छ । सरकारी लक्ष्यअनुसार ७ प्रतिशत वृद्धि हुन कठिन देखिएको निजी क्षेत्रको आंकलन छ ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिडको प्रभावबाट विस्तारै नर्मलतर्फ फर्किन लागेको निजी क्षेत्र रुस–युक्रेन युद्धको असरबाट प्रभावित भएको बताउँछन् । ०७८ सालको अधिकांश समय कोभिड सामाना गर्न मै वितेको र उद्योग धन्दा पुर्ण रुपमा सञ्चालन हुन नसकेको उनको अनुभव छ । वर्षको सूरुवाता अप्ठेरो अवस्थामा भएपनि अत्यतिर भने वातावरण सहज हुदै गएकोले समग्रमा औसत वर्ष रहेको उनको अनुभव छ । यद्यपी नेपालमा आधारभूत उद्योगमा परिसकेको र अर्कोतर्फ आयात निरुत्साहित गर्ने सरकारको नीतिले अर्थतन्त्रमा समस्या थपिएको बताउँछन् । उनका अनुसार अहिले केही बस्तुको माग बढे पनि कच्चा पदार्थ आयातमै शतप्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्थाका कारण अर्थतन्त्र सहज अवस्थामा नभएको तथा व्यवसायीहरुको मनोविज्ञान बिग्रँदै गएको अध्यक्ष अग्रवाल बताउँछन् । पछिल्लो समय ब्याजदर उच्च हुँदा उद्योग व्यवसाय सञ्चालन गर्न चुनौतीपूर्ण बनेको उनको अनुभव छ ।
यता महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल कोभिडबाट प्रभाववाट कम हुदै गएपनि अन्र्तराष्ट्रिय असर भने रहिरहेको बताउँछन् । कोभिडको त्रासबाट भर्खरै बाहिर निस्कन खोज्दै गरेको निजी क्षेत्र रुस युक्रेन युद्धको प्रभाव परेको तथा फेरी दक्षिण एसियाली मुलुक श्रीलंकाको आर्थिक अवस्था विग्रिएका कारण पनि नेपालको अवस्था पनि कतै त्यस्तै हुने त होइन भन्ने खालको त्रास पनि थपिएको छ । यद्यपी सबै मिलेर यसका लागि जुध्ने हो भने नेपालले श्रीलंकाको अवस्थामा बेहोर्नु नपर्ने उनको भनाइ थियो । सस्तो श्रम, संसार बुुझेको युवा जनशक्ति र भारत चीनका साथै आफ्नै देशको विशाल बजार लगानीका महत्वपूर्ण आधार हुन् । अलिकति सरकारका तर्फबाट गर्नुपर्ने सहयोग हुन सक्यो भने मुलुक छिटो आर्थिक मार्गमा अगाडि बढ्ने विश्वास उनको छ । बरिष्ठ उपाध्यक्ष ढकाल २०७८ साल व्यवसायीक हिसावले औसतमै रहेको बताउँछन् । बर्षको सुरुवातमा कोभिडको प्रभाव भएपनि अत्यतिर केहि सुधार भएको हो । उद्यम व्यवसाय खुल्न थालेपनि पूर्ण रुपमा पहिलाकै लयमा आउन नसकेको भन्दै उनले आगामी वर्ष केहि आशावादी हुने बताए । यद्यपी रुस युक्रेनको असर नेपाली बजारमा देखिएको भन्द अगामी दिनमा महंगीको चुनौती पनि नेपाली सर्वसाधरणले सामाना गर्नुपर्ने उनी बताउँछन् ।
सगग्रमा भन्नुपर्दा रुस युक्रेन युद्धको असर सबै नेपालीलाई प्रत्यक्ष वा परोक्ष रुपमा परेको छ । यसले लगानी प्रभावित भएको छ भने अर्काेतर्फ विदेशमा श्रम गरेर नेपालमा आउने रेमिट्यान्स समेत प्रभावित भएको छ । यस्तै सरकारको आयात नियन्त्रण सम्बन्धी नीति तथा रुस र युक्रेनबीच जारी युद्धका कारण स्वदेशी उद्योग दोहोरो मारमा परेका छन् । व्यवसायीहरुका अनुसार रुस–युक्रेन युद्धका कारण स्वदेशी उद्योगहरुमा एकातर्फ औद्योगिक कच्चा पदार्थको अभाव हुन थालेको छ भने अर्कोतर्फ युद्धकै कारण संसारभर पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि हुँदा ढुवानी लागत समेत बढेको छ । “हाम्रा अधिकांश उद्योग व्यवसायमा कुनै न कुनै रुपमा रुस–युक्रेन युद्धको असर परेको छ,” उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल भन्छन्, “देशका अधिकांश स्वदेशी उद्योगहरु विदेशी कच्चा पदार्थमै निर्भर रहेकाले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मुल्यमा उतारचढाव आउदा त्यसको प्रत्यक्ष प्रभाव स्वदेशी उद्योगको उत्पादनमा पर्ने गरेको छ ।”
यता नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल पनि अपेक्षाकृत रुपमा ०७८ सालमा व्यवसायीक परिवर्तन गर्न नसकिएको बताउँछन् । अप्ठेरो अपरिस्थिकै विच समय वितेको र व्यवसाय गरेका र नयाँ व्यवसायमा आउन चाहनेका लागि यो वर्ष त्यति उत्साहप्रद हुन नसकेको उनको अनुभव छ । कोभिड, तरलता अभाव, अन्र्तराष्ट्रिय युद्ध सबैको असर निजी क्षेत्रमा परेको र यसले व्यवसायीक वातावरणमा असर परेको बताउँछन् । यद्यपी रुस र युक्रेनको युद्ध समाप्त भयो भने आर्थिक गतिविधिहरु बढ्ने उनको अनुभव छ । पछिल्लो दुई दशकमा अर्थतन्त्रमा उत्पादनमूलक उद्योगको हिस्सा १२ बाट ५ प्रतिशतमा झरेको छ । हाल वर्षको औसत २० करोड डलर विदेशी लगानी नेपाल भित्रिने गरेको तथ्याङ छ । यसलाई बढाउन आगामी वर्षमा सरकार निजी क्षेत्र र सबै सरोकारवाला आर्थिक एजेन्डामा केन्द्रित हुनुपर्र्ने पनि उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्