Logo

व्यावसायिक वातावरण बिग्रिएको व्यवसायीको ठहर

नेपाल चेम्बर अफ कमर्सले मुलुकमा व्यावसायिक वातावरण झन् बिग्रिएको भन्दै अर्थतन्त्रका समस्याहरू तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।
चेम्बर अफ कमर्सको ७१ औं वार्षिक साधारणसभा एवं चेम्बर दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्र बाह्य तथा आन्तरिक दुवै कारणले समस्यामा पर्दै गएको धारणा राखे ।
उनका अनुसार तरलताको चरम अभाव, ब्याजदरमा वृद्धि, कुल निर्यातले पेट्रोलियम पदार्थको आयातसमेत धान्न नसक्ने अवस्था लगायत सूचकले नै अर्थतन्त्रमा संकटका उदाहरण हुन् । आयातमा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था, मूल्य अभिवृद्धि हुने वस्तुका कच्चा पदार्थ आयातमा समेत गरिएको कडाइजस्ता कारणले अर्थतन्त्र थप धरासायी हुने अध्यक्ष मल्लको भनाइ थियो ।
कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाले हाल अर्थतन्त्रमा देखिएका समस्याहरुको समाधान संवाद, छलफल र अन्तरक्रियाबाट नै समाधान हुने बताए । सापकोटाले राष्ट्रिय जीवनका हरेक क्षेत्रमा समाधानको उपाय भनेकै छलफल, संवाद र अन्तरक्रिया रहेकोमा जोड दिए । यस्तै, पछिल्लो समय महामारीका विरुद्ध लड्दै गर्दा मानव जातिको अस्तित्वमाथि नै यसले प्रश्न चिन्ह खडा गरेको जनाउँदै सभामुख सापकोटाले यस्ता समस्याबाट विचलित र निराश हुनु आवश्यक नरहेको बताए । महामारीकै समयमा विज्ञान प्रविधिमा भने ठूलो क्रान्ति भएको बताउँदै उनले यसले विश्वमा प्रत्यक्ष रुपमा व्यापार–व्यवसाय लगायत हरेक क्षेत्रमा ठूलो प्रभाव परेको धारणा राखे ।
कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले निजी क्षेत्रमैत्री नीति निर्माण, अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन तथा गुणस्तरीय वस्तुहरुको उत्पादन र निर्यात लगायत विषयहरुमा सरकार र निजी क्षेत्रबीच सहकार्य जरुरी रहेको बताए । निजी क्षेत्र र सरकारबीच सहकार्य बढेको जनाउँदै उनले विगतको जस्तो निजी क्षेत्रलाई शंकालु नजरले हेर्ने र फरक ढंगबाट नियाल्ने कार्यमा समेत आमूल परिवर्तन आएको बताए । निजी क्षेत्रलाई भरपूर सहयोग पु-याएर, अग्रणि स्थान दिएर विकासको यात्रा सम्भव छ भन्ने सरकारको सोच अनुसार सरकारले व्यवसायमैत्री वातावरण निर्माणको प्रयास गरिरहेको उनको भनाइ छ ।

व्यवसायी सम्मानित
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्षहरुको सम्मानमा उनीहरुका सन्ततिहरुबाट स्थापित मेमोरियल अवार्ड वितरण गरिएको थियो । जसमा ईश्वरलाल लाइफटाइम एचिभमेन्ट अवार्ड, आईसीटीसी ग्रुपका रामलाल श्रेष्ठ, जुद्धबहादुर श्रेष्ठ मेमोरियल अवार्ड वैद्यज अर्गनाइजेसनका अध्यक्ष सुरज वैद्य तथा वनवारी लाल मित्तल मेमोरियल एवार्ड अन्नपूर्ण ट्राभलका नवराज घिमिरेलाई प्रदान गरिएको छ । यस्तै, राजबहादुर चिपालु मेमोरियल अवार्ड निम्बस गु्रपका अध्यक्ष जगदीश अग्रवाल, इन्द्रभक्त मेमोरियल अवार्ड एचसी दुगड ग्रुपका हुकमचन्द दुगड, बालकृष्ण श्रेष्ठ मेमोरियल अवार्ड छत्रपाटी निःशुल्क चिकित्सालय तथा जनकदास श्रेष्ठ मेमोरियल एवार्ड नेपाल शिल्कलाई प्रदान गरिएको छ । जिल्ला तथा नगर चेम्बरतर्फ धनुषा चेम्बर अफ कमर्स, सैनामैना चेम्बर अफ कमर्स रुपन्देही, कृष्णनगर चेम्बर अफ कमर्स कपिलवस्तु र भक्तपुर चेम्बर अफ कमर्स सम्मानित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्