Logo

वीरेन्द्रनगर कोभिडविरुद्धको खोपयुक्त पालिका घोषणा

सुर्खेत वीरेन्द्रनगर नगरपालिकालाई कोभिड–१९ रोगविरुद्धको पूर्णखोप पालिका घोषणा गरिएको छ । बिहीबार एक औपचारिक कार्यक्रमकाबीच वीरेन्द्रनगरलाई पूर्णखोप पालिका घोषणा गरिएको हो ।
वीरेन्द्रनगर कोभिडविरुद्धको खोपपूर्ण पालिका घोषणा हुनेमा कर्णाली प्रदेशकै पहिलो पालिका बनेको छ । खोप लगाउने उमेर समूह १२ वर्षमाथिका १ सय २० प्रतिशतले खोप लगाएको वीरेन्द्रनगर नगरपालिकासंँग तथ्यांक छ । बाहिर जिल्लामा ठेगाना भए पनि अस्थायी रुपमा वीरेन्द्रनगरमा बसोबास गरी खोप लगाएकालाई समेत जोड्दा सय प्रतिशतभन्दा बढीले खोप लगाएको नगर प्रमुख देवकुमार सुवेदीले बताए ।
प्रदेश राजधानी तथा अन्य जिल्लाको नाकासमेत रहेको वीरेन्द्रनगरमा कोभिड–१९ को पहिलो र दोस्रो लहरमा संक्रमण दर उच्च थियो । बन्दा बन्दीदेखि खोपयुक्त पालिका घोषणासम्म ल्याइपु-याउँदा नगरपालिकाले धेरै चुनौती सामना गर्नुपरेको उपप्रमुख मोहनमाया ढकालले बताइन् ।
कोभिड–१९ रोगविरुद्धको पूर्णखोप पालिका घोषणा कार्यक्रमलाई उद्घाटनपछि बोल्दै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाले वीरेन्द्रनगरबाट अन्य पालिकाहरुले पनि सिक्नुपर्ने बताए । .
यस्तै प्रदेशसभा सदस्य पद्मा खड्काले कोभिड–१९ महामारीले आकस्मिक रुपमा आउने विपद्लाई सामाना गर्न स्थानीय सरकारले प्रभावकारी योजना बनाउनुपर्छ भन्ने सिकाइ भएको बताइन् । उनले स्थानीय सरकारले विपद् प्रतिकार्यका लागि पूर्वयोजना बनाउन आवश्यक रहेको औंल्याइन् ।
कार्यक्रमका अवसरमा कोभिड खोप अभियानका क्रममा सहयोग गर्ने कर्मचारी, महिला स्वास्थ्य स्वंसेविका तथा साझेदार संघ संस्थाहरुलाई सम्मान पनि गरेको छ ।
यसैबीच, कर्णाली प्रदेशभर ६९ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्ध खोपको दुवै मात्रा लगाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार ६ सय ४८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन् । हालसम्म खोपको पहिलो मात्रा ७० प्रतिशतले लगाएका छन् । निर्देशनालयको तथ्यांकअनुसार एक लाख सात हजार ६ सय ८१ जनाले बुस्टर डोज लगाएका छन् ।
हाल सबै जिल्लामा कोरोनाविरुद्धको खोप अभियान जारी छ । कर्णालीमा कोभिसिल्ड, एस्ट्राजेनिका, भेरोसेल, फाइजर, मोडर्ना र जोनसन खोप दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्