Logo

बेगनास तालका व्यवसायीलाई सिभिल बैंकको क्यूआर

पोखराको बेगनास तालमा रहेका डुङ्गा व्यवसायीहरूलाई क्यूआर कोड वितरण गरिएको छ ।
नगदरहित कारोबार अभियानलाई निरन्तरता दिँदै सिभिल बैंक र फोनपेको सहकार्यमा बेगनास ताल डुङ्गा व्यवसायी संघमार्फत २२० व्यवसायीलाई क्यूआर कोड वितरण गरिएको हो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्यूआर कोडलाई सर्वव्यापी रूपमा लैजानुपर्ने बताए ।
नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. रामशरण खरेलले नोट छपाइ गर्दा खर्च हुने तथा विदेशिने मुद्रा बचाउन पनि नगदरहित अभियान अपरीहार्य रहेको बताए । बेगनास तालमा क्यूआर हस्तान्तरणसँगै स्वदेशी तथा विदेशी पर्यटकले मोबाइल बैंकिङमार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन् । साथै भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स र वालेटमार्फत समेत रकम भुक्तानी गर्न सक्नेछन् ।
यस्तै बाह्य पर्यटकले पनि भिजामार्फत बेगनास तालमा डिजिटल रुपमा रकम भुक्तानी गर्न सक्नेछन् । फोनपेले विदेशी पर्यटकलाई सहज बनाउन केही दिनअघि मात्र भिजासँग सहकार्य गरेको थियो ।
कार्यक्रममा बेगनास ताल डुङ्गा व्यवसाय समिति अध्यक्ष ढकनाथ कँडेल, फेवाताल डुंगा व्यवसायी समिति अध्यक्ष बुद्धिबहादूर नेपाली, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल, फोनपेका एसिस्टेन्ट सीईओ दिवस सापकोटा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्