Logo

प्रधानमन्त्रीको भारत भ्रमण

इन्धन कारोबार सम्झौता नवीकरण, पाइपलाइन विस्तार

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा पेट्रोलियम पदार्थ कारोबारको सम्झौता नवीकरण र पेट्रोलियम पाइपलाइन विस्तार गरिने भएको छ । पेट्रोलियम पदार्थको कारोबारसम्बन्धी सम्झौता नवीकरण गरिने भएको हो ।
प्रत्येक पाँच वर्षमा नेपाल आयल निगम र इन्डियन आयल कर्पाेरेसन(आईओसी) बीच इन्धन कारोबार गर्ने सम्झौता हुने गर्छ । सोहीअनुसार सम्झौता नवीकरण गरिने छ । सन् २०१७ मार्चमा भएको सम्झौता सकिएपछि पुनः गर्न लागिएको हो । दुई देशका प्रधानमन्त्रीले सम्झौता साटासाट गर्ने र निगमका कार्यकारी निर्देशक र आईओसीका कार्यकारी निर्देशकले सम्झौता स्वीकृत गर्नेछन् । निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले इन्धन कारोबार सम्झौता नवीकरण पुरानोलाई निरन्तरता दिन लागेको जानकारी दिए । मूल्य बढाउनका लागि आईओसीका लागि प्रस्ताव आए पनि यथावत् नै राख्ने सहमति भएको उनले जानकारी दिए । यसअघिको सम्झौतामा अन्तर्राष्ट्रिय बजारबाट क्रुड आयल खरिद गरी रिफाइन गरेर बिक्री गर्न पाउने, तेस्रो मुलुकबाट खरिद गर्न पाउने, डिजेल पेट्रोलमा मार्केटिङ मार्जिन २ प्रतिशत र खाना पकाउने एलपी ग्यासमा ४ प्रतिशत सुविधालाई कायम नै राख्ने गरी छलफल भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै पेट्रोलियम पदार्थको सहज आपूर्ति अमलेखगन्ज–चितवन र सिलगुडी–झापा पेट्रोलियम पाइपलाई विस्तार, मोतिहारी–अमलेखगन्जको पाइपलाइन विस्तार गरिने विषयमा छलफल हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । सुरक्षा व्यवस्था विषयमा छलफल भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । यस्तै, दुई देशबीचको व्यापारलाई सहजीकरण गर्ने विषयमा पनि छलफल हुने भएको छ ।
प्रधानमन्त्रीको टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुसाल, कृषिमन्त्री महिन्द्रराय यादव, स्वास्थ्यमन्त्री विरोध खतिवडा, अर्थसचिव मधुकुमार मरासिनी र निजी क्षेत्रका प्रतिनिधि रहेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ललगायत निजी क्षेत्रका विभिन्न प्रतिनिधि र संघका पूर्व अध्यक्षहरू भ्रमण दलमा सहभागी छन् ।
नेपालको निजी क्षेत्रले भारतको निजी क्षेत्रसँग शनिबार छलफल गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्