नेटवर्किङका नाममा ठगी गर्ने ५ पक्राउ «

नेटवर्किङका नाममा ठगी गर्ने ५ पक्राउ

नेटवर्किङ कम्पनीमार्फत् लामो समयदेखि ठगी गर्दै आएका अभियुक्तहरुलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रहरीले नेपालका तराई तथा पहाडी जिल्लाहरुबाट जागिर लगाइदिने भन्दै विभिन्न बहानामा नेपालीहरुलाई भारतको विभिन्न सहरमा पुराई उनीहरुबाट पैसा असुल्ने र जागिर पनि नलगाइदिने पैसा पनि फिर्ता नगर्ने ५ जनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा भारतको गोरखपुरमा कार्यालय रहेको ड्रिम डेभलोपर्स ट्रेडमार्ट प्रालिमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने लमजुङ दोर्दी गाउँपालिका वडा नं. ५ का दर्पण लामा, दाङ लमही नगरपालिका ४ का कुशलराम चौधरी छन् । उनीहरुलाई प्रहरीले ३७ लाख ८५ हजार विगोसहित अदालतमा मुद्दा दायर गरेको छ । चौधरी र लामाविरुद्ध रुपन्देही प्रहरीमा ३९ जना पीडितहरुले कारबाहीको माग गर्दै जाहेरी दर्ता गरेका छन् । भारतकै बनारसमा रहेको विनविन ट्रेडमार्ट प्रालिमा नेपालीहरुलाई पु¥याई ठगी गर्ने धादिङ रोराङ गाउँपालिका ३ का ज्ञानेन्द्र मगर छन् । उनीसँग ७६ लाख ८३ हजार को विगो दावी गरिएको छ । मगरविरुद्ध २३ जनाले जाहेरी दर्ता गरेको रुपन्देहीका निमित्त प्रहरी प्रमुख डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।
यस्तै भारतकै खुशीनगरमा रहेको फुलटन टे«डमार्ट प्रालिमा जागिर लगाइदिने निहुँमा ठगी गर्ने काभ्रेपलाञ्चोक गाउँपालिका ३ का चन्दितसिंह मोक्तान र बारा निजगढ नगरपालिका १२ का दावा लामा छन् । उनीहरुसँग प्रहरीले ३७ लाख ५८ हजार विगो दाबी गरेको डिएसपी पाण्डेले बताए । मोक्तान र लामाविरुद्ध रुपन्देही प्रहरीमा १८ जनाले जाहेरी दिएका थिए ।
प्रहरीका अनुसार उनीहरुले गाउँगाउँमा पुगेर सीधासाधा नागरिकलाई एजेण्टमार्फत् सम्पर्क गराई भारतका तीनवटा नेटवर्किङ कम्पनीहरुमा काम लगाइदिने भन्दै ठगी गर्दै आएका थिए । प्रहरी तथ्यांक अनुसार ती कम्पनीमा काम लगाइदिने भन्दै ठगी गर्ने २९ जना अभियुक्त अझै फरार छन् ।

प्रतिक्रिया दिनुहोस्