पेन्सन प्रोडक्टलाई पनि समेट्ने गरी नीतिमा संशोधन गर्नुपर्छ

नेपालमा अहिले झन्डै दुई दर्जन बढी बिमा कम्पनी रहेका छन् । विगतमा भन्दा अहिले बिमा गराउनेको संख्या पनि बढ्दै गएको देखिन्छ । अझ कोरोनाकालमा त स्वास्थ्य बिमा गराउनेको संख्या ह्वात्तै बढ्यो । अहिले आएर पशु बिमा, कृषि बिमा, घर बिमाका अवधारणा पनि आएका छन् । नेपालमा भएका बिमा कम्पनीले अन्य क्षेत्रले भन्दा आफ्नो व्यवसायलाई कोरोना कालमा पनि विस्तार गरिरहेका छन् । अन्य क्षेत्रले जोखिममा फर्केर पनि हेर्दैनन् । बिमामात्र यस्तो क्षेत्र हो, जसले असहज अवस्थामा जोखिमलाई स्थानान्तरण गर्ने काम गर्छ । त्यसैले यो क्षेत्रलाई सकारात्मक रूपमा मानिसहरूसम्म लैजाने प्लेटफर्म कोरोनाले प्रदान गरेको मान्न सकिन्छ । जोखिम हुँदा ‘हामीहरू पनि छौं है’ भन्ने शिक्षा बिमाले दिन थालेको छ ।
नयाँ बिमा कम्पनीहरू धमाधम नेपाल स्टक एक्सचेन्जमा सूचीकृत हुने तयारी गर्दैछन् । सेयर बजारमा बिमा कम्पनीहरूको सेयरप्रति आकर्षण पनि बढ्दो छ । यसैक्रममा सिटिजन लाइफ इन्स्योरेन्स पनि आफ्नो आईपीओ जारी गर्ने तयारी गर्दैछ । हाल आईपीओ जारी गरेका कम्पनीहरू र जारी गर्न बाँकी कम्पनीहरूमध्ये अब्बल देखिएको दाबी गर्ने सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलसँंग नेपालमा बिमाको बजार, बिमा बजारका बेथिति, नियामक निकायको भूमिका, नयाँ प्रोडक्ट, इनोभेसन तथा बिमाप्रतिको बदलिँदो धारणाका बारेमा कारोबारले गरेको कुराकानीको सार :
पछिल्लो दुई वर्ष केरोनाका कारण धेरै व्यवसायलाई असर ग-यो । बिमालाई झनै असर ग¥यो । पछिल्लो दुई वर्षको चुनौतीबाट नेपालका बिमा व्यवसायले सिकेका पाठहरू केके हुन् ?
समग्रमा हेर्दा यी दुई वर्षले डिजिटलाइजेसनमा जानुपर्छ भन्ने कुरा सिकायो । बिमा कम्पनीको सन्दर्भमा पनि डिजिटलाइजेसनमा धकेल्ने काम ग-यो । साथै जोखिम हुँदा त्यसलाई कसरी स्थानान्तरण गर्ने भन्ने कुरा पनि सिकायो । जोखिम पनि अवसर हो । त्यो जोखिममा पनि अन्य क्षेत्रले भन्दा बिमा क्षेत्रले आफ्नो व्यवसायलाई विस्तार गरिराख्यो । जनतालाई पनि जोखिम हुँदा ‘हामीहरू पनि छौं है’ भन्ने शिक्षा दिन सकियो । अन्य क्षेत्रले जोखिममा फर्केर पनि हेर्दैनन् । बिमामात्र यस्तो क्षेत्र हो, जसले असहज अवस्थामा जोखिमलाई स्थानान्तरण गर्ने काम गर्छ । त्यसैले यो क्षेत्रलाई सकारात्मक रूपमा मानिसहरूसम्म लैजाने प्लेटफर्म कोरोनाले हामीहरूलाई प्रदान ग¥यो । अर्कातिर कोरोनाको समयमा र अहिले बिमा दाबी गर्नेहरूको संख्या बढेको छ । हामीले अपेक्षा गरेभन्दा मानिसहरूको मृत्यु र दाबी बढेका कारणले त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुराको ज्ञान पनि हामीलाई यो दुई वर्षले सिकाएको छ । हाम्रो विगतको अनुभवभन्दा केही उच्च दरमा गए पनि व्यवस्थापन गर्न भने सकियो । त्यो एउटा पाठ पनि हो ।
साधारण रूपमा हेर्दा बैंकभन्दा बिमा केही बढी प्राविधिक पनि र मानिसहरूले सहजै बिमा पनि नगर्ने अवस्था छ । कोरोनाको समयमा जोखिम स्थानान्तरण गर्ने कुरा त गर्नुभयो । तर, डिजिटलतिर जाने विषयमा नियामक निकायको भूमिका कत्तिको सहयोगी छ ?
त्यसमा उहाँहरूले धेरै नै सहयोग गर्नुभयो । कोरोनाको समयमा डिजिटलाइज गर्ने विषय होस् वा डिजिटल तालिम प्रदान गरिरहेको विषयलाई पनि पहिचान गरिदिनुभयो । पोलिसी जारी गर्ने विषयमा पनि ग्राहकले डिजिटल नीति मान्छ भने त्यसलाई डिजिटल दिन सक्ने गरी बाटो पनि खोलिदिनुभएको छ । नियामकसमेत अवस्था, बजारको माग र ग्राहकको आवश्यकता महसुस गर्दै अगाडि बढेको छ । धेरै अगाडि जानुपर्ने अवस्था त छँदै छ, तर पनि बजारअनुसार उहाँहरू पनि अगाडि बढ्नुभएको छ ।
बजारमा नियामक निकाय अलि बढी नै कडा भयो । बिमा कम्पनीहरूको सहयोगी भएन । पहिले जुन साधनहरू प्रयोग गरेर व्यवसाय विस्तार गरियो, अहिले ती साधनहरूमा कडाइ गर्दै लग्यो भन्ने पनि सुनिन्छ । वास्तविकता के हो ?
प्लेयरहरूले प्ले गर्न खोज्छन् । कहिलेकाहीं फल प्ले पनि हुन्छ । त्यस्तो अवस्थामा एम्पायरले औँला पनि ठडाउनुपर्छ । हामीले गर्ने सबै कुरा सही नै भएका छन् भन्ने पनि होइन । त्यसलाई सुधार गर्दै लैजानुपर्छ । अस्वस्थकर प्रतिस्पर्धादेखि गुणस्तरलगायतका विषयलाई नियमन गर्ने विषयलाई हामीहरूले सकारात्मक रूपमा हेरेका छौं । त्यसले सकारात्मक नतिजा पनि दिएको छ । यत्तिकै हिँडिरहेको मानिसलाई जेब्रा क्रसिङ राखिदिएपछि केही असहज त हुन्छ तर त्यो हिँड्ने मानिसको सुरक्षाको लागि नै हो ।
नियामक निकायले एकल बिमा होस् वा कर्जा दिने विषयमा हात हाल्दा अलि बढी नै नियन्त्रण गर्न खोज्यो भन्ने लाग्दैन ?
एकल बिमा पोलिसीमा केही बेथितिहरू थिए । ग्राहकको आवश्यकताभन्दा पनि केही मानिसले खेलिरहेका कारण त्यसले केही कम्पनीहरूलाई मात्र असर ग¥यो । ‘मास’मा असर गरेको होइन । कर्जामा पनि उहाँहरूले रोक्नुभएको छैन । क्यास कर्जा र गैरव्यावसायिक कर्जालाई मात्र रोक्नुभएको हो । त्यसले गर्दा पाइराखेकालाई केही मर्का परे पनि ठूलो संख्यामा त्यसले मर्का परेको छैन । अहिले पनि आवश्यकताका आधारमा कर्जा गइराखेको छ । जस्तै— मोटरसाइकल व्यवसाय गर्न आवश्यक साधन हो । त्यस्ता कुरामा उहाँहरूले रोक्नुभएको छैन । केही समय पूरै रोकेजस्तो महसुस भएको थियो । गाइडलाइनमा स्पष्टता आइसकेपछि अहिले सहज भएको छ ।
कम्पनीहरूको संख्या बढ्दै जाँदा नियामक निकायले सहजीकरण गर्नुपर्ने हो कि कडाइ ?
सुरुमा लाइसेन्स दिएपछि त्यसलाई हुर्किन दिनुपर्छ । केही परिपक्व भइसकेपछि त्यसलाई नियमन गर्नका लगि निकायले केही बढी नै हेर्नुपर्छ । बजार विस्तार एउटा पाटो भयो । विगत चार–पाँच वर्षयता आएर हेर्नुहुन्छ भने सात प्रतिशतको वृद्धि २६-२७ प्रतिशतमा पुगेको छ । यो त ऐतिहासिक वृद्धि हो नि । विगत दशकौंमा जम्मा सात प्रतिशतमात्र वृद्धि हुने तर चार–पाँच वर्षमा चार गुणाले बढेर २८ हुनु भनेको महत्वपूर्ण वृद्धि हो । वृद्धिसँगसँगै केही सुधार गर्नुपर्ने कुरा छन् । त्यसलाई नियामकले हेर्ने समय आएको छ ।
बिमा कम्पनीको संख्या धेरै हुँदा ‘मार्केट पेनिट्रेसन’ बढेको हो वा कोरोनाका कारणले बढेको हो ?
जब–जब नयाँ कम्पनीहरू बजारमा आएका छन्, त्यसले बजारलाई बढाएको छ । २००१ को पहिलो लट, २००८ को दोस्रो लट र अहिले २०१७ को तेस्रो लट हेर्दा जब–जब नयाँ कम्पनीहरू आउँछन् तब पुराना कम्पनीहरूलाई खतरा महसुस हुने र उसले आक्रामक बजारीकरण गर्ने गरेको देखिएको छ । भइरहेका कम्पनीहरू पनि दिगोपनका लागि आक्रामक भएर जाँदा बिजनेस ग्रोथ मल्टिप्लाई भएको छ । बीचमा ‘एजेन्सी इन्सेन्टिभ्स’का कारणले एक वर्ष अलिकति ऋणात्मक भएको थियो । तर, समग्रमा औसत ग्रोथ नै २५ देखि ३० प्रतिशत रहेको छ । कोरोनाको समयमा पनि सोही अवस्थामा रहेको छ । त्यस कारणले नयाँ कम्पनीको प्रवेश नै मुख्य वृद्धिको कारण देखिन्छ ।
यसको अर्थ धेरै कम्पनी हुनु राम्रो हो ?
सधैं होइन । मार्केट पिनेन्ट्रेसन र पहुँचका लागि केही लेभलसम्म सकारात्मक देखिएको छ । बैंकिङ क्षेत्रमा पनि संख्या बढेका कारणले मल्टिप्लाइ भएर गएको छ । अहिले हामी २५-३० को हाराहारीमा छौं । अझै माथि जानुपर्नेछ ।
तर, बिमा समितिले अब नयाँ लाइसेन्स दिँदैनौं, तपाईंहरू पनि बैंकहरूजस्तै मर्ज हुनुहोस् भन्ने गरेको सुनिन्छ, के यो सत्य हो ?
संख्या धेरै हो । नेपालको अर्थतन्त्र र कम्पनीको संख्या हेर्दा छिमेकी देशहरूको तुलनामा पनि यो संख्या धेरै नै हो । कतिवटासम्म बिमा कम्पनीहरू हुनुपर्छ भन्ने कुराको बहस हुन सक्छ ।
संख्या धेरै हुँदा फाइदा पनि त बढेको रहेछ । भनेपछि अहिले नै मर्जमा जाऊ भन्ने अवस्था कसरी आयो त ? अनि यही बेला नयाँ लाइसेन्स दिने कुरा पनि आएको छ ?
कम्पनीहरूको वित्तीय अवस्था, आउटपुट, रेट अफ रिटर्न, त्यसले ग्राहकलाई दिएको सुविधा र प्रतिस्पर्धा हेर्ने समय आएको छ । केही वर्षको दौरानमा मर्जमा जान चाहनेहरूलाई प्रोत्साहन गर्ने कुरा विस्तारै बढिरहेको छ ।
कम्पनीको संख्या र बजारको कुरा गर्दा हामीहरू अहिले २५ प्रतिशत पेनिट्रेसन पुग्यो भन्छौं । बिमाको पेनिट्रेसन कति प्रतिशत पुग्दा त्यसलाई आइडियल मानिन्छ ?
केही वर्ष पहिलेको अध्ययनले ४५ प्रतिशतको लाइनमा भएको देखाएको थियो । किनकि पेनिट्रेसन बढाउन भुक्तानी गर्न सक्ने क्षमतावान् रिसोर्स हुनुपर्छ । बिलो लाइनका मानिसहरू त्यो तहमा जाँदैनन् । सबैले गर्दैनन् पनि । सबै उमेरका मानिसले बिमा गर्दैनन् पनि । सबैको हिसाब गर्दै जाँदा अहिले ६० प्रतिशत हाम्रो टार्गेट मार्केट देखिन्छ, अर्थात् हामीहरू दोब्बर हुन सक्ने स्पेस बाँकी छ ।
दोब्बर हुने ठाउँ हुँदाहुँदै बिमा समितिले नयाँ–नयाँ साधन ल्याएर बजार बढाऊ भनेर प्रोत्साहन गर्नुपर्ने होइन र ?
पहिले बिमा कम्पनीहरूले ‘डेथ बेनिफिट’ अर्थात् मृत्युसँग बढी बिमा गराउँथे भन्ने चलन थियो । अहिले भने ‘लिभिङ बेनिफिट’ गर्ने भनेर बुझाउन सकेका छौं । सिटिजन लाइफले ‘बाँचुन्जेल तपाईंहरूका लागि हामीहरू ब्याकअप छौं’ भनेर प्रोमोट गर्ने गरेको छ । हाम्रो ‘जीवन सारथि’ भन्ने प्रोडक्ट छ, ‘बाँचुन्जेलको साथी एउटै बिमा काफी’ । आफ्नो लागि सुरक्षित हुन नयाँ कन्सेप्ट ल्याएका छौं । मरिसकेपछि केही दिन्छौं भन्ने धारणाबाट परिवर्तन गरेर सिटिजन जीवन बिमा कम्पनीले बाँचुन्जेलका लागि सारथि हुने काम गरेको छ ।
त्यसको अर्थ बिमा बजारमा जति पनि नयाँ प्रोडक्टहरू आउनुपथ्र्याे, अझै पनि ती प्रोडक्टहरू छैनन् । इनोभेसन भएन भन्ने गुनासो सही हो ?
समग्रमा दुवै कुरा चुनौतीपूर्ण छन् । एउटा त हाम्रो नीतिले पनि धेरै कुरा गर्न दिँदैन । बिमा ऐन नै पुरानो भएको छ । त्यसमा जीवन बिमाको परिभाषालाई अपग्रेड गर्न बाँकी छ । बिमामा भएका प्रोडक्टहरू पनि ‘आउट अफ द बक्स’ जाँदैनन् । एउटा गाइडफाइनभित्र बसेर यसैलाई मिक्स अप गरेर ल्याउने हो । त्यो हामीहरूकोमा आइसकेको छ । ग्राहकको नजरमा पनि नयाँ पोडक्ट त्यति चिरपरिचित छैनन् । कति रिटर्न आउँछ भन्ने हिसाबमा मानिसहरू गइरहेका छन् । जोखिममा आधारित प्रोडक्टमा भन्दा म्याच्योर्ड भएपछि कति रिटर्न आउँछ भन्नेमा मानिसहरू जान्छन् । हाम्रो बजारमा पाइएको कुल प्रोडक्टको ९५ प्रतिशत त्यस्तै प्रोडक्ट खोज्ने ग्राहकहरू छन् ।
बजारले नै माग गरेन भन्न खोज्नुभएको हो ?
बजारलाई हामीहरूले बुझाउने कोसिस गरिरहेका छौं । केही बढिरहेको छ । हरेक व्यक्ति अहिले इन्टरनेटसँग जोडिएका छन् । त्यसैको माध्यमबाट विदेशसँग जोडिएका छन् । विदेशको कुरा बुझ्ने क्रममा छन् । त्यसका लागि पनि सबै कम्पनीले गृहकार्य गरिरहेका छन् । नयाँ प्रोडक्टहरू बजारमा ल्याएका छन् । तर, त्यसको आकार अझै पुगेको छैन । हामीकहाँ इनोभेट नभएको भन्नेचाहिँ होइन ।
इनोभेसन र प्रोडक्टको कुरा गर्दा अहिले दुईवटा प्रोडक्ट चर्चामा छन्— बैंकास्योरेन्स, जुन बन्द भयो र अर्को माइक्रो इन्सुरेन्स, जसलाई बिमा समितिले प्रोत्साहन गरिरहेको छ । तर, त्यसमा पनि खासै नतिजा देखिएन भन्ने गुनासो छ । कसरी हेर्नुभएको छ ?
बैंकास्योरेन्स छुट्टै प्रोडक्ट होइन । केही भइरहेका प्रोडक्टहरूलाई बैंकमार्फत बेचेको मात्र थियो । अर्थात् बैंक एउटा डिस्ट्रिब्युसन च्यानल मात्र हो । बन्द भयो, त्यो छुट्टै बहसको पाटो हो । अर्को माइक्रो पोडक्टको कुरामा ग्रास रुटमा जाने, उहाँहरूलाई सचेत गराउने कुरामा धेरैले माइक्रो क्रेडिट बेचिरहेका छन् । कर्जा लैजाने माइक्रो फाइनान्समार्फत क्रेडिट इन्स्योरेन्सको रूपमा बिमा भइरहेको छ । त्यसलाई सबै माइक्रो फाइनान्सले अनिवार्य गरेका छन् । त्यसो त अर्को कृषि बिमा पनि छ । त्यसमा शिक्षाको कमीले जुन तहमा हुनुपर्ने हो, त्यो रूपमा भएको छैन । तर, विगत तीन–चार वर्षलाई हेर्ने हो भने वृद्धि भएको छ ।
कृषि बिमाको कुरा गर्दा सरकारले दिएको अनुदान तथा बिमा कम्पनीहरूको मेहनतलाई हेर्दा नतिजा देखिएन भन्ने गुनासो छ । के कारणले समस्या देखियो ?
हाम्रा कम्पनीहरूको कृषि बिमामा आफ्नै स्पेसलाइजेसन त छैन । तर, अहिले सबै कम्पनीले त्यसलाई लगानीको रूपमा विस्तार गरिरहेका छन् । यो बढ्दै गरेको बजार हो । यसमा भविष्य छ । तत्काल बजारको रूपमा नदेखिए पनि यसलाई अगाडि लैजानुपर्छ, यसले क्रस बिजनेस दिन्छ । किसानको दिमागमा मेरो ब्रान्ड बस्छ भन्ने हिसाबले कम्पनीहरू गइरहेका छन् । मार्केट पेनिट्रेसनका लागि त्यो सबैभन्दा बलियो साधन हो भन्ने हिसाबले पनि त्यसमा नाफा नहेरी गएको देखिन्छ ।
पछिल्लो समय बिमा ऐन, २०४९ मा संशोधन गर्नुपर्ने कुराहरू छन् भन्ने आवाज उठिरहेको छ । केके छन् संशोधन गर्नुपर्ने विषय ?
प्रोडक्टलाई बेच्ने पाटोमा डिजिटल्ली जानका लागि केही कुराहरू खोल्नुपर्नेछ । केही बिमा समितिले खोलिदिएको भए पनि पूर्णरूपमा जानसक्ने गरी गर्नुपर्ने एउटा पाटो छ । दोस्रो युनिलिंक जस्ता प्रोडक्ट हाम्रो छिमेकी देशहरूमा छन् । त्यो प्रोडक्ट र जीवन बिमाको परिभाषालाई नै अपग्रेड गर्नुपर्नेछ । त्यो भयो भने फुल फ्लेजमा काम गर्न सकिन्छ । पेन्सन प्रोडक्टहरूलाई पनि छुट्टै हिसाबले ल्याउने गरी नीतिमा संशोधन गर्नुपर्छ । अहिले सामाजिक सुरक्षा कोषले दिने पेन्सनसमेत ल्याउने गरी गर्न सकिन्छ ।
बाहिरतिर जीवन बिमालाई अवकाश कोषको रूपमा लिएर जान्छन् । यहाँ लाइफ इन्स्योरेन्स कम्पनीहरू रिटायरमेन्टका लागि ट्रस्टका रूपमा चिनिएका छैनन् । ती कुराहरू फ्रेम गर्दै जानुपर्छ । कोही मानिसले कर्मचारी सञ्चय कोष वा नागरिक लगानी कोषमा जम्मा नगरी लाइफ इन्स्योरेन्स प्रोडक्ट किन्छ भने त्यो पनि त रिटायरमेन्टका लागि साधन हो । त्यस्तो दीर्घकालीन विषयहरूमा पनि जान बाँकी नै छ । हामीले लायबिलिटी लङ टर्मका लागि लिन्छौं । लगानी सर्ट टर्ममा भइरहेको छ । त्यसमा इन्फ्राइस्ट्रक्चर बन्डहरूदेखि लिएर प्रोडक्ट टाइअप गर्ने कुराहरूमा पनि केही गृहकार्य गर्न पायो भने राम्रो हुन्छ ।
पूर्वाधार बन्डको कुरा गर्दै गर्दा पूर्वाधारमा लगानी गर्नुहोस् त बिमा समितिले नै भनिरहेको छ नि ?
त्यसमा कम्पिटेन्सी र कन्सोर्टियममा जाने कुराहरूमा ग्याप छ । क्षमता वृद्धि पनि गर्नुपर्ने कुराहरू छन् । गृहकार्य गर्नुपर्ने ठाउँहरू छन् ।
भन्नुको अर्थ बिमा कम्पनीहरूमा अहिले नै पूर्वाधार कम्पनीहरूमा लगानी गर्न सक्ने क्षमता छैन ?
फन्ड छ तर त्यसको मूल्यांकन गर्ने क्षमता अभाव छ ।
बिमा कम्पनीहरूलाई सर्वसाधारणले अहिले पनि विश्वास नगर्नुको कारण चेतनाको अभाव नै हो कि अन्य कारण पनि छन् ?
जसले नीति बेचिरहेको थियो, त्यो समयमा बिमाका विषयमा पूर्ण ज्ञान नहुँदा यस्तो भएको हो । जस्तै, मैले जुन अपेक्षामा प्रोडक्ट किनें त्यसको रिटर्न त्यस्तै आएन भने त्यहाँ ग्याप क्रिएट हुन्छ । त्यसले नै विश्वास हराएको हुनुपर्छ । त्यसैले त्यो ग्याप पूरा गर्न बिमा शिक्षा दिनुपर्छ । अहिले त्यो ग्याप केही कम भएको छ ।
नेपालमा एउटा पुनर्बिमा कम्पनी खुल्यो । त्यसपछि निजी क्षेत्रलाई पुनः अर्को बिमा कम्पनी खोल्ने भनेर अनुमति दिइयो । हाम्रो जस्तो सानो अर्थतन्त्र भएको देशमा कतिवटा पुनर्बिमा कम्पनी बाँच्न सक्छन् ?
नेपालको बजारलाई मात्र हेर्ने हो भने त एउटा पनि कसरी चल्छ भन्ने कुरा आउन सक्छ । अहिले २० प्रतिशत डाइरेक्सेसन गरेर ठूलो पाई लिइरहेको छ । सधैं त्यसरी दिइरहने कुरा पनि होइन । उसले विदेशबाट बिजनेस लिनुपर्ने कुरा हो । विदेशबाट ल्याउन सक्ने हो भने त जतिवटा पनि चल्न सक्ने भयो ।
त्यो प्राविधिक क्षमता तथा कानुनी आधार हामीहरूसँग छ त ?
उनीहरूले त्यसका लागि मानिसहरू राखिरहेका छन् । केही वर्ष विदेशबाट प्राविधिक ज्ञान भएका मानिसहरू ल्याएर यहाँ तालिम दिइयो भने राम्रो होला । विदेशबाट बिजनेस ल्याउन सक्ने हो भने जति पनि बिजनेस ल्याउन सकिन्छ ।
सिटिजन लाइफले आईपीओ ल्याउँदै छ, कहिले आउँछ ?
चैत ११ गते एजीएम छ । त्यसपछि आईपीओको प्रक्रिया अगाडि बढाउँछौँ ।
बजारमा धेरै बिमा कम्पनीहरूको आईपीओ आउँदै छ । के कारणले सिटिजन बिमा कम्पनीकै आईपीओमा लगानी गर्ने ?
आईपीओमा लगानी गर्ने कुरामा कम्पनीको अहिलेको वित्तीय अवस्था र फ्युचर प्रोजेक्सनका आधारमा लगानी गर्ने हो । अहिले आईपीओ जारी गरेका कम्पनीहरू र जारी गर्न बाँकी कम्पनीहरूमध्ये सिटिजन लाइफ वित्तीय रूपमा अब्बल देखिन्छ । फ्युचर प्रोजेक्सन, मार्केट पेनिटे«सन, मार्केट पाई र हाम्रो व्यापार वृद्धिलाई हेर्दा हामीहरूले लगानीकर्तालाई राम्रो रिटर्न दिन सक्छौं । त्यसै हिसाबमा लगानीकर्ताहरूले लगानी गर्न सक्छन् ।