नेपाली अर्थतन्त्रमा रूस–युक्रेन युद्धका बाछिटा

कोरोनाले थिलथिलो पारेको हाम्रो कमजोर अर्थतन्त्रले कोरोनापछि बिस्तारै लय समात्न थालेको अवस्थामा यो युद्धले फेरि हाम्रो अर्थतन्त्रको विकासमा ब्रेक लाग्न थालेको छ ।
केही समयदेखि चलिरहेको युक्रेन र रूसको द्वन्द्वले ती दुई देशलाई मात्र नभएर बाँकी विश्वका हरेक देशहरूलाई केही न केही असर पारिरहेको छ भने युद्धले तहसनहस भइरहेको देश युक्रेनको अर्थतन्त्र सन् २०२२ मा ८ प्रतिशतले घट्ने ‘आईएमएफ’ले अनुमान गरेको छ । अस्ट्रियामा युद्धको असर कम हुने अपेक्षा गरिए पनि रूसी बजारमा बाल्टिक राज्यहरू तथा अन्य धेरै नयाँ ‘इयू’ सदस्य राष्ट्रहरूमा भने यसको बढी नै असर देखिन थालेको छ । युद्धमा प्रत्यक्ष संलग्न नभएका तर तेल निर्यात गर्ने देशहरूलाई बढेको मूल्यमा तेल बेच्न पाउँदा तेलको मूल्यवृद्धिले सकारात्मक असर पारे पनि यो युद्ध लामो समयसम्म नरोकिएमा विशेष गरेर विश्वको आपूर्ति प्रणाली खलबलिन सक्छ ।
यसको असर भनेको आम उपभोक्ताले इन्धन र अन्य अत्यावश्यक वस्तु तथा सेवाका लागि सामान्य अवस्थाभन्दा बढी रकम खर्च गर्नुपर्ने हुन्छ र विश्वका गरिब तथा भर्खरै विकासको गतिमा अगाडि बढ्दै गरेका नेपालजस्ता अल्पविकसित देशहरूको अर्थतन्त्र अझ गरिबीतिर धकेलिन पुग्छ । यसरी ती देशहरूको अर्थतन्त्र गरिबीतिर धकेलिँदा त्यहाँ बसोबास गर्ने अधिकांश गरिब, मध्यम वर्ग र दैनिक ज्यालादारीमा काम गरेर गुजारा चलाउने वर्गलाई जीवननिर्वाह गर्न असहज हुन्छ । त्यसैगरी विश्वमा सुनको मूल्यमा पनि अस्वाभाविक वृद्धि हुन जान्छ ।
नेपालमा पनि रूस–युक्रेनको युद्ध सुरु भएयता बजारमा वस्तुको अभाव हुन थालेको छ । केही दिनयता बजारमा युक्रेन–रूस युद्ध, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डलरको भाउ वृद्धि आदि कारणहरू देखाएर खाने तेल, चामल, दाल, माछा मासु, फलामे छडलगायतको मूल्य बढेको छ । सबैभन्दा बढी खाने तेलको मूल्य लिटरमै ८० देखि १ सय रुपैयाँसम्म बढेको छ भने चामल बोरामा २ सयदेखि ३ सय रुपैयाँसम्म र दाल किलोमा ३० रुपैयाँसम्म बढेको छ । यो मूल्यवृद्धिले विशेष गरी विद्यार्थी, निम्न आय भएका उपभोक्ता, दैनिक ज्यालादारीमा काम गरेर छाक टार्ने समूह आदिलाई बाँच्नै गाह्रो पर्न थालेको छ ।
सरकारले बजार अनुगमन र नियन्त्रण नगर्दा व्यापारीले पुरानो स्टक र नेपालमा नै उत्पादन हुने वस्तुहरूमा पनि मूल्य बढाएर बेचिरहेका छन् ।
कोरोनाले थिलथिलो पारेको हाम्रो कमजोर अर्थतन्त्रले कोरोनापछि बिस्तारै लय समात्न थालेको अवस्थामा यो युद्धले फेरि हाम्रो अर्थतन्त्रको विकासमा ब्रेक लाग्न थालेको छ । हाल बजारमा वस्तुको अभाव र मूल्यवृद्धि दुई किसिमको देखिन्छ । पहिलो खाने तेल, धनियाँ, कच्चा पाम तेल, केराउ, बेबी लोसन, टेलिफोनका सामग्री, पेट्रोलियम पदार्थ, कोइला, खाद्यान्न, प्रिन्टिङ पेपर, केमिकल, पशुजन्य भ्याक्सिन, मोबिलजस्ता वस्तुहरू जुन युद्धका कारणले ती देशहरूबाट आयात हुन नसक्दा अभाव भएर मूल्यवृद्धि भएको छ भने दोस्रोचाहिँ व्यापारीसँग पुरानो स्टक रहेका वस्तुहरू र नेपालमा नै उत्पादन हुने वस्तुहरूको पनि मूल्यवृद्धि हुन थालेको छ । युद्धग्रस्त देशहरूबाट आउने वस्तुमा मूल्यवृद्धि हुनु समान्य हो तर हामीकहाँ नै उत्पादन हुने वस्तुहरू वा पुरानो स्टकमा भएको वस्तुको मूल्यवृद्धि हुनु भनेको जनता मूल्यवृद्धिको चपेटामा पर्नु हो, उनीहरूप्रतिको अन्याय हो । यसका लागि सरकारले बजारको अनुगमन गरी मूल्य नियन्त्रण गर्नुपर्नेमा आजका मितिसम्म यो कहींकतै सुरुवात भएको देखिँदैन ।
हाम्रो युक्रेनसँग १८ अर्ब र रूससँग ४ अर्बबराबरको वार्षिक व्यापार हुने गरेकोमा चालू वर्षको सात महिनामा युक्रेनसँग १४ अर्ब ४२ करोड २३ लाखबराबरको ४५ प्रकारका वस्तुहरूको व्यापार भएको छ भने रूससँग ९१ प्रकारका वस्तुको व्यापार भएको छ । युद्ध जारी रहेमा यो कारोबारमा सीधै असर पर्छ । नेपालको युक्रेनसँग सीधा सम्बन्ध रहेको हुनाले पनि यसको असर हाम्रो भान्सासम्म सीधै पर्ने देखिन्छ । युक्रेनबाट सात महिनाको अवधिमा १ करोड १२ लाख ३३ हजार रुपैयाँबराबरको केराउ, १ करोड १९ लाख ८१ हजार रुपैयाँबराबरको धनियाँ, ३ अर्ब ९५ करोड ३७ लाख २४ हजारबराबरको तोरी, ७९ करोड ४७ लाख ९० हजारबराबरको सोयाबिन तेल र ९ अर्ब ५१ करोड ६३ लाख ६० हजार रुपैयाँबराबरको सूर्यमुखी तेल आयात भएको छ । युद्धका कारणले युक्रेन र रूसबाट आयात हुने वस्तुहरू आयात हुन बन्द हुन जाँदा अब यी वस्तु अन्य देशबाट ल्याउँदा धेरै महँगो पर्छ । त्यसैगरी नेपालको निर्यातमा पनि यो युद्धको नकारात्मक असर पर्छ । यहाँबाट कार्पेट, चिया, अगरबत्ती, चित्रकलाका सामान आदि युक्रेन निर्यात हुने गरेको छ ।
त्यसैगरी पर्यटक आगमनमा पनि यसको असर पर्छ । गत वर्षको तथ्यांक हेर्दा रूसबाट २ हजार १ सय ७ र युक्रेनबाट ९ सय ९७ पर्यटक नेपालमा आएको देखिन्छ भने सन् २०१८ मा १० हजार ४ सय १० जना पर्यटक रूसबाट नेपाल आएको देखिन्छ । युद्धका कारणले यी देशबाट अब पर्यटकहरू आउने सम्भावना शून्य रहन्छ भने रूसले आफ्नो आकाशमा अन्य देशको हवाई उडान बन्द गरेका कारणले रूसको हवाई मार्ग भएर नेपाल आउने युरोपका पर्यटकहरू नेपाल आउने सम्भावना पनि घटेर जाने हुन्छ । हाम्रो पर्यटन व्यवसायमा युरोपको हिस्सा ठूलो भएको सन्दर्भमा यो उद्योगमा युद्धको दीर्घकालीन असर पर्ने पक्कापक्की छ ।
त्यसैगरी यो युद्ध लामो समयसम्म चलिरहेमा नेपालमा बेरोजगारीमा वृद्धि हुन्छ । हाम्रो अर्थतन्त्रमा रूसको प्रत्येक वर्ष १२ करोडबराबरको प्रत्यक्ष लगानी हुँदै आएको छ । यो लगानी वस्तु तथा सेवा उत्पादन गर्ने उद्योगलगायतमा लगानी हुँदा यहाँ धेरैले रोजगारी पाएका थिए । तर, युद्धका कारणले उसले हामीलाई दिने बजेटमा कटौती आई नेपालमा थप बेरोजगारीको समस्या सिर्जना हुन सक्ने देखिन्छ ।
रूस–युक्रेन युद्धका कारणले आफ्नो देशमा तेलको आपूर्ति बढाउन र तेलको मूल्यमा भइरहेको वृद्धि रोक्न भर्खरै विश्वको ठूलो पाम तेल आपूर्तिकर्ता देश इन्डोनेसियाले पाम तेलको निर्यात घटाएको छ । यसले नेपालमा तेलको अभाव हुनुका साथै मूल्य झन् वृद्धि हुने सम्भावना बढेर गएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि यता नेपालले २३ अर्ब ९३ करोड रुपैयाँभन्दा धेरैको कच्चा पाम आयल इन्डोनेसियाबाट आयात गरेको छ । यसैबाट नेपाली तेल प्रशोधन कम्पनीहरूले कच्चा पाम आयल प्रशोधन गरेर भारततर्फ निर्यात गर्दै आएका र यसले नेपालको निर्यात व्यापारमा ठूलोे हिस्सा ओगट्दै आएको सन्दर्भमा अब भने त्यो पनि ठप्प हुने अवस्था आएको छ ।
रूस र युक्रेन विश्वमा पेट्रोलियम पदार्थ, कोइला, मकै र गहुँ ठूलो मात्रामा निर्यात गर्ने राष्ट्र भएको हुनाले उनीहरूले यी वस्तुको निर्यात बन्द गर्दा विश्वभरि नै वस्तुहरूको अभाव हुन जान्छ र शक्तिशाली देशहरूले यी वस्तुहरू अन्य देशहरूबाट जोहो गर्न थाल्छन्, जसले गर्दा हामीकहाँ ती देशहरूबाट आउन बन्द हुन्छ र यी वस्तुहरूको अभाव हुन जाने खतरा पनि त्यत्तिकै हुन्छ । स्मरण रहोस्, विश्वको कुल गहुँ निर्यातको झन्डै ३० प्रतिशत र मकै निर्यातको झन्डै २० प्रतिशत हिस्सा रूस र युक्रेनले मात्र ओगटेका छन् ।
यो युद्धबाट हुने असर कम गर्न सरकारले बजारमा भइरहेको कृत्रिम अभाव र मूल्यवृद्धिलाई रोक्न बजार अनुगमन गरी मूल्य र वस्तुको कृत्रिम अभावलाई नियन्त्रण गर्नुपर्छ । वस्तुको कृत्रिम अभाव र अनावश्यक मूल्यवृद्धि हुन नदिन सरकारी तहबाट युद्धको असर रहेसम्म खाद्य संस्थान, साल्ट ट्रेडिङजस्ता सुपथ मूल्य पसलहरू सञ्चालनमा ल्याउनुपर्छ । रूस र युक्रेनबाट आयात हुने वस्तु बन्द भए पनि ती वस्तुहरू विश्वका अन्य देशहरूबाट आयात गर्ने प्रक्रिया अगाडि बढाउनुपर्छ । कृषि, उद्योगलगायतमा आन्तरिक वस्तुको उत्पादनमा वृद्धि गर्नुपर्छ । इन्धनको खपत घटाउन विद्युतीय सामग्रीको प्रयोग बढाउनुपर्छ । देशको जुन ठाउँमा जे वस्तु उत्पादन हुन्छ त्यही वस्तुको उपभोग गर्नुपर्छ, जसले गर्दा आयातलाई कम गर्न सकिन्छ । सार्वजनिक संस्थानहरूलाई उनीहरूको पूर्ण क्षमतामा उत्पादन गर्न लगाई वस्तु तथा सेवाको आपूर्ति बढाउनेतिर लाग्नुपर्छ । जनताको पक्षबाट पनि मूल्यवृद्धिप्रति सजगचाहिँ हुनुपर्छ । कुनै वस्तुको अनावश्यक मूल्यवृद्धि भएको छ भने बिस्तारै सो वस्तुको विकल्प खोज्नुपर्छ वा उक्त वस्तुको उपभोग बिस्तारै घटाउँदै जानुपर्छ ।