घरजग्गा कारोबारले अर्थतन्त्रमा पार्ने प्रभाव «

घरजग्गा कारोबारले अर्थतन्त्रमा पार्ने प्रभाव

नेपालमा हुने आम मूल्यवृद्धिको एउटा कारण घरजग्गामा हुने अनियन्त्रित मूल्यवृद्धि पनि भएको हुनाले यो विषयमा समयमा नै सोच्नुपर्ने देखिन्छ ।

नेपालमा घरजग्गाको मूल्य वार्षिक २६.४५ प्रतिशतले बढ्ने गरेको घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदनले देखाएको छ भने मालपोत कार्यालयको तथ्यांकले चाहिँ यो १९.७३ प्रतिशत बढेको देखिन्छ । यस्तो अनियन्त्रित मूल्यवृद्धिलाई समयमा नै नियमन र यसको कारोबारलाई राजस्वको दायरामा ल्याउन सकिएन भने अर्थतन्त्रका लागि घातक हुन सक्छ । कारोबारीले छोटो समयमा अर्बौं आम्दानी गर्ने तर राजस्व नतिर्ने भएमा यो क्षेत्रको अर्थतन्त्रमा हुने योगदान कमजोर देखिन्छ । घरजग्गाको कारोबारमा नियमन नगर्दा अमेरिका, जापानलगायत विश्वका अन्य देशहरूमा ठूला–ठूला आर्थिक संकटहरू आएका घटनालाई उदाहरण मान्दै भविष्यमा नेपालको अर्थतन्त्रमा संकट नआओस् भन्नका लागि घरजग्गाको मूल्य सर्वेक्षण गरी कारोबारमा नियमन समयमै गर्नुपर्ने देखिन्छ ।
घरजग्गाको अनियन्त्रित कारोबारका कारणले नेपालमा पनि सन् २००८ मा झन्डै–झन्डै अर्थतन्त्रमा संकट आउने अवस्था पुगेको थियो । फेरि पनि यो अवस्था आउँदैन भन्न सकिँदैन, साथै नेपालमा हुने आम मूल्यवृद्धिको एउटा कारण घरजग्गामा हुने अनियन्त्रित मूल्यवृद्धि पनि भएको हुनाले यो विषयमा समयमा नै सोच्नुपर्ने देखिन्छ ।
भर्खरै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले घरजग्गामा गरिने लगानीमा थप कडाइ गरेको छ । हाल नेपाल राष्ट्र बैंकले यो कडाइ एकल रूपमा गरिने जग्गाको प्लटिङलाई मात्रै गर्न खोजेको जस्तो देखिन्छ । तर, संस्थागत रूपमा हाउजिङ विकास गर्ने र पहिलो पटक घरजग्गा किन्नेहरूलाई कडाइ गर्नु हुँदैन भन्नेमा धेरै विज्ञहरूको सुझाव पनि रहेको छ र कार्यान्वयन भयो भने यो सुझाव पनि उपयुक्त नै हुन्छ । अब बिस्तारै व्यक्तिगत रूपमा प्लटिङ गर्नका लागि बैंकहरूले दिने कर्जामा भने कडाइ हुने अवस्था देखिन्छ । यो पेसालाई व्यवस्थित गर्न यो एउटा महत्वपूर्ण औजार हुन सक्छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको जग्गा प्लटिङसम्बन्धी रियलइस्टेट कर्जाको जोखिम भारमा पुनरावलोकन गर्नेबारेमा स्पष्ट शब्दमा मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामा उल्लेख गरेको छ । नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा प्रवाह हुने कर्जामा थप कडाइ गर्ने घोषणा गरेको छ भने उत्पादनशील क्षेत्रमा जाने ऋणको ब्याजदर केही लचिलो बनाउँदै लैजाने बताएको छ ।
पछिल्लो समयमा नेपालमा घरजग्गाको मूल्य छोटो अवधिमै धेरै गुणाले बढेको अवस्थामा बजारमा तरलता अभाव हुन थालेपछि यसको कारोबार लगातार घटिरहेको छ । केन्द्रीय बैंकले घरजग्गा क्षेत्रमा आवासीय घरकर्जासहित बढीमा २५ प्रतिशतसम्म मात्रै कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरे पनि हाल बैंक तथा वित्तीय संस्थाको लगभग ३५ प्रतिशत हाराहारी कर्जा प्रवाह भएको सिबिफिनको अध्ययनले देखाएको छ । राष्ट्र बैंकले बजारमा तरलताको अभावलाई कम गर्न सेयर धितो ऋणमा कडाइ र अत्यावश्यक बाहेकका वस्तुहरूको आयातमा कडाइ गर्दा पनि यसमा सुधार नआएकाले अब कडाइ गर्न बाँकी रहेको यो क्षेत्र छ । अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले यसमा पनि कडाइ गर्न सुरु गरेको देखिन्छ ।
घरजग्गाको कारोबारमा संकट आउने बुझे पछि यो क्षेत्रमा काम गर्ने टाठाबाठा व्यवसायीले चलनचल्तीको मूल्यभन्दा केही कम गरेर भए पनि घर जग्गा बेचेर आफू यो व्यवसायबाट बाहिरिसकेको अवस्था छ । यो अवस्थामा चलनचल्तीभन्दा केही कम मूल्यमा पाइयो भन्दैमा बैंक वा वित्तीय संस्थाबाट महँगो ब्याजमा ऋण लिएर घरजग्गा किन्ने मानिसहरू समस्यामा पर्न सक्ने सम्भावना पनि रहेको छ भने आफूसँग पैसा छ जग्गा किनेर आफैंले प्रयोग गर्ने वा लामो समयपछि मात्र बिक्री गर्ने सोचाइ भएमा चाहिँ यतिबेला घरजग्गामा लगानी गर्ने उपयुक्त समय पनि हुन सक्छ । तर, आज किनेर तुरुन्त बेचेर नाफा खान्छु भन्ने सोचले घरजग्गा किन्नेहरू भने समस्यामा पर्न सक्ने सम्भावना पनि उत्तिकै देखिन्छ ।
गत वर्ष साउन, भदौ र कात्तिक महिनामा यो क्षेत्रको कारोबार केही खस्किए पनि सोही वर्षको असोज, मंसिर, पुस र माघ महिनामा भने कारोबार बढेको अवस्था थियो तर यसपालि भने तरलताको अभाव र अस्वाभाविक रूपमा बढेको घरजग्गाको मूल्यका कारणहरूले गर्दा यसको कारोबार बढ्न सकेको छैन । कतिपय जानकारहरू सरकारले भू–उपयोग ऐन कार्यान्वयनमा ल्याउनुकोे साटो कित्ताकाट रोकेर घरजग्गा क्षेत्रलाई अस्वस्थ प्रतिस्पर्धामा धकेलेको पनि बताउँछन् । यसरी अनावश्यक कित्ताकाट रोक्दा घूस खुवाएर नक्कली अंशबन्डा गराई फाइदा लिइरहेको अवस्था पनि छ भन्ने गरेको पाइन्छ ।
प्रत्येक वर्ष यो समयमा घरजग्गाको अत्यधिक किनबेच हुने र सबैभन्दा बढी राजस्व संकलन पनि यही समयमा हुन गरेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । तर, यो वर्षको पुस र माघमा घरजग्गामा आएको मन्दीका कारण किनबेच र राजस्व दुवै घटेको अवस्था छ । विभागका अनुसार गत सालकोे माघ मसान्तसम्ममा घरजग्गाको कारोबारबाट ६ अर्ब ७३ करोड २७ लाख ८० हजार ८ सय ७७ रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको थियो भने यो वर्षको माघ मसान्तसम्ममा ५ अर्ब ५० करोड १८ लाख ५० हजार ४३४ रुपैयाँ बराबरमात्र राजस्व सङ्कलन हुन सकेको अवस्था छ ।
देशभर रहेका जम्मा १ सय २६ मालपोत कार्यालयहरूमध्ये काठमाडौँ उपत्यकामा रहेका नौवटा मालपोत कार्यालयमा घरजग्गाको कारोबार अत्यधिक हुने गरेको विभागको अध्ययनले देखाएको छ । डिल्लीबजार मालपोत कार्यालय, चाबहिल मालपोत कार्यालय, कलङ्की मालपोत कार्यालय, मनमैजु मालपोत कार्यालय, साँखु मालपोत कार्यालय, लगनखेल मालपोत कार्यालय, गोटीखेल मालपोत कार्यालय, भक्तपुर मालपोत कार्यालय र भक्तपुर मालपोत कार्यालयमध्ये डिल्लीबजार मालपोत कार्यालयको मात्रै राजस्व सङ्कलनमा वृद्धि भएको छ ।
प्लटिङलाई कडाइ गर्दा अल्पकालमा यो क्षेत्रसँग जोडिएका इँटा, गिट्टी, बालुवा, सिमेन्ट, हार्डवेयर, बिजुली, रंग, फर्निचर, आल्मुनियमलगायतका धेरै उद्योगलाई असर पर्न सक्ने र यो क्षेत्रसँग सम्बन्धित निर्माणको काम रोकिँदा सो क्षेत्रमा काम गर्ने श्रमिकहरू बेरोजगार हुने सम्भावना भने बढ्छ । तर, केही जग्गा दलाल र भू–माफियाको चलखेल र दादागिरी हेर्दा यो क्षेत्र बिस्तारै बदनाम हुँदै गएको तथा इमानदार व्यवसायी पलायन हुँदै गएको हुनाले यसलाई नियन्त्रण गर्न ढिलो भइसकेको छ । यो कारोबारलाई दर्तावाल फर्ममार्फत निश्चित व्यक्ति वा समूहलाई मात्र लाइसेन्स उपलब्ध गराई पारदर्शी ढंगले सञ्चालन गर्नुपर्छ । यो कारोबार अनियत्रित हुँदा समाज र अर्थतन्त्रमा ठूलो विकृति भित्रिएको छ र जग्गा दलाल र भू–माफियाले जथाभावी जग्गा प्लटिङ गर्ने, डोजर लगाउने गर्दा सहर नै कुरूप भइसकेको छ भने बाढीपहिराकोे खतरा पनि बढेर गएको छ । यो क्षेत्रका केही व्यवसायीहरू यति शक्तिशाली भइसकेका छन् कि समाजमा यिनीहरूको दादागिरीले सोझासादा मानिसहरू बस्न सक्ने अवस्था नै हुन छोडेको छ । घरजग्गाको कारोबारमा प्रशस्तै कमाइ हुने, केही व्यवसायीहरूले छलछाम र अनैतिक व्यापार पनि गर्ने र यसको बलमा विभिन्न शक्ति केन्द्रहरूलाई प्रभावमा पारेर कतिपय मानिसलाई आफ्नो बसोबास नै बेचबिखन गरेर हिँड्न बाध्य बनाउने गरेका प्रशस्त उदाहरणहरू समाजमा पाउन सकिन्छ । बिना आर्थिक लगानी पनि यो व्यवसाय चल्ने हुनाले धेरै मानिस यो पेसामा आबद्ध हुने र सित्तैंमा हुने कमाइलाई केहीले मदिराजन्य वस्तु उपभोगमा बढी प्रयोग गर्ने कारणले समाजमा अपराध बढ्ने खतरा पनि हुने देखिन्छ भने यो क्षेत्रमा प्रशस्त पैसा हुने हुनाले विदेशबाट विलासिताका सामानहरू बढी आयात हुँदा व्यापारघाटा बढ्ने सम्भावना हुन्छ ।
यसै बीचमा घरजग्गा कारोबारलार्ई पारदर्शी र सहज बनाउन देशभरका सबै मालपोत कार्यालयमा अनलाइन प्रविधिबाट सेवा प्रदान गर्न थालिएकाले राजस्व सङ्कलन थप पारदर्शी बन्न सक्ने आशा गर्न सकिन्छ । हरेक व्यवसायले सम्मानित भएर सञ्चालन भएजस्तै यो व्यवसायले पनि सम्मानका साथ सञ्चालन हुन पाउनुपर्छ । यसका लागि यो व्यवसायलाई व्यवस्थित र सम्मानित बनाउन यो क्षेत्रमा नियम बनाई सरकारको कडा अनुगमनका बीचमा मात्र व्यवसाय सञ्चालन गर्न दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्