काठमाडौं–धादिङ दुबैतर्फ संगसंगै काम

नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा कंंक्रिट लाइनिङको काम सुरु भएको छ । मुख्य सुरुङमार्गको फिनिसिङ अर्थात् कंक्रिट लाइनिङको काम सुरु गरिएको आयोजनाले जनाएको छ ।
आयोजना प्रमुख नरेशमान शाक्यले भने, “यता सुरुङमार्ग छेड्ने काम पनि भइरहेको छ । सँगै फिनिसिङ गर्ने काम पनि सुरु गरेका हौं । यसले गर्दा आयोजनाले गति पनि लिन्छ ।” समयमै आयोजना सम्पन्न गर्न दुई सिफ्टमा काम भइरहेको शाक्यले बताए । आयोजनाको कुल भौतिक प्रगति ४६ प्रतिशत पुगेको छ । आइतबारसम्म काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्गको ९ सय ९५ मिटर र निकासी सुरुङमार्गको १३ सय ६७ मिटर काम भएको छ । हालसम्म २५ सय ३२ मिटर सुरुङ खन्ने काम सम्पन्न भएको आयोजनाले जारी गरेको प्रगति विवरणमा उल्लेख छ ।
गत वर्ष पुस ७ गतेबाट सुरुङ छेड्ने काम थालिएको थियो । ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ०७६ कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले २.६८ किलोमिटर लम्बाइको सुरुङमार्गको शिलान्यास गरेका थिए । २४ सै घण्टा करिब ५ सय ८० प्राविधिक जनशक्ति सहितको टोलीले सुरुङमार्ग खन्ने काम गरिरहेको आयोजना प्रमुख शाक्यले बताए । “औसतमा १० मिटरसम्म दैनिक सुरुङ खन्ने काम भइरहेको छ । आगामी साउन–भदौसम्ममा सुरुङ खन्ने काम सकिने छ । त्यसपछि अन्य फिनिसिङको काम हुन्छ,” उनले भने । कोभिडका कारण आयोजनाको समय ८६ दिन थप गरिएको भए पनि तोकिएकै समयमा निर्माण पूरा गर्ने गरी काम भइरहेको शाक्यले बताए ।
ड्रिलिङ र ब्लास्टिङ प्रविधिबाट सुरुङमार्ग खनिएको छ । उनका अनुसार दुई सुरुङमार्ग निर्माण गरिनेछ । पहिलो आकस्मिक सवारीको लागि ४ मिटर चौडाइको र अर्काे ९ मिटर चौडाइको निर्माण हुनेछ । सुरुङमार्ग प्रवेशमा पेट्रोलियम पदार्थ बोक्ने र दुईपाङ्ग्रे सवारीलाई भने प्रतिबन्ध गरिने छ ।
जापानी निर्माण कम्पनी हाज्मा एन्दो कर्पोरेसनले निर्माणको जिम्मा लिएको सुरुङमार्गको धादिङतर्फ र काठमाडौंतर्फको भागमा एकै साथ खन्ने काम भइरहेको छ । काठमाडौंतर्फको सुरुङमार्गबाट माटोलाई पहुँच मार्ग र धादिङतर्फबाट निकालिएको माटोलाई रोडसाइड सर्भिस स्टेसन निर्माणको लागि माटो भर्ने काम, निर्माण स्थलको साइट क्लियरेन्सको काम भइरहेको छ । सरकारले १ सय ९ मध्ये ४४ रोपनी जग्गा अधिग्रहण गरी मुआब्जा वितरण गरेको थियो । जसमा करिब ६ अर्ब रुपैयाँ मुआब्जाको लागि खर्च भइसकेको छ ।
दुई इन्टरचेन्ज (फ्ल्याइ ओभर र अन्डरपास) ब्रिजसहित निमार्ण हुने छ । सुरुङमार्गले नागढुंगा–सिस्नेखोला करिब साढे ८ किमि दूरीलाई २.६८ किमिमा छोट्याउने छ । सुरुङमार्ग र फ्लाइओभर नेपालको पहिलो पूर्वाधार हो । नेपाल सरकारको ४ अर्ब ८० करोड रुपैयाँ र जापान सरकारको १५ अर्ब ८० करोड रुपैयाँ ऋण सहयोग गरी कुल करिब २० अर्ब ६० करोड रुपैयाँ लगानीमा आयोजना निर्माण हुन लागेको हो ।