Logo

विदेशी लगानीका उद्योगमध्ये ८४% साना

सरकारले विदेशी लगानीको न्यूनतम सीमा बढाए पनि लगानीकर्ताको आकर्षण भने साना उद्योग–व्यवसायमै बढी देखिएको छ । उद्योग विभागले स्वीकृत गरेको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मध्ये साना लगानीकर्ताको संख्या अत्यधिक छ भने मझौला र ठूला उद्योगको संख्या नगण्यमात्र छ ।
विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा एफडीआईतर्फ ९० वटा साना उद्योगले स्वीकृति पाउँदा मझौला खालका ३७ र ठूला दुईवटा उद्योगले मात्र स्वीकृति पाएका छन् । यससँगै नेपालमा उत्पादन तथा कारोबारका लागि स्वीकृति पाएका विदेशी लगानीका उद्योगको संख्या ५ हजार ३ सय ६६ पुगेको छ । जसमा साना उद्योगको संख्या ८३.५ प्रतिशत अर्थात् ४ हजार ४ सय ८१ रहेको छ । यस्तै, मझौला उद्योगको संख्या १०.५४ प्रतिशत अर्थात् ५ सय ६६ र ठूला उद्योगको संख्या ५.९४ प्रतिशत अर्थात् ३ सय १९ रहेको विभागले जनाएको छ ।
विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीका अनुसार संख्यात्मक रुपमा साना उद्योगको सख्या बढी देखिए पनि लगानी परिमाणका हिसाबले भने ठूला उद्योगको बढी लगानी स्वीकृत भएको छ । जसमध्ये गत आर्थिक वर्षसम्म साना उद्योगका लागि ९ अर्ब ७६ करोड ६१ लाख रुपैयाँ तथा मझौलाका लागि ५ अर्ब २४ करोड ९९ लाख रुपैयाँ लगानी स्वीकृत भएकोमा ठूला उद्योगको २१ अर्ब ४३ करोड ४९ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत भइसकेको छ ।
ठूला उद्योगले लगानी बढी ल्याए पनि प्रविधि पनि सँगसँगै ल्याउने भएकाले रोजगारी सिर्जनामा भने साना उद्योग निकै अगाडि देखिएका छन । विभागका अनुसार गत आवसम्ममा साना उद्योगबाट १ लाख ६६ हजार १ सय ४३ मा रोजगारी सिर्जना भएको छ भने मझौलाबाट ४९ हजार ५ सय ४१ र ठूला उद्योगबाट ५९ हजार २ सय ८६ मा रोजगारी सिर्जना भएको विभागको भनाइ छ ।
सरकारले साढे दुई वर्षअघि विदेशी लगानीको न्यूनतम सीमा बढाएर ५ करोड रुपैयाँ पु-याएको थियो । त्यसअघि यस्तो सीमा ५० लाख रुपैयाँमात्र थियो । निजी क्षेत्र र दातृ निकायले विदेशी लगानीको सीमा ज्यादै कम भएको भन्दै आलोचना गरेपछि सीमा बढाइएको थियो । नेपालस्थित १८ वटा द्विपक्षीय तथा बहुपक्षीय दातृ निकायले पत्राचार गरेर ५० लाखको सीमा बढाउन सरकारसमक्ष लिखित आग्रह गरेका थिए । तर, यो सीमा बढाइँदा नवीन प्रविधिजन्य लगानी आउन नसकेको भन्दै आलोचना समेत भइरहेको छ । विदेशी लगानीका लागि अधिकतम सीमा भने तोकिएको छैन ।
बढीमा ६ अर्बसम्मको विदेशी लगानी उद्योग विभागमार्फत नै स्वीकृत हुने व्यवस्था छ भने त्यसभन्दा बढीको पुँजी हुनेले लगानी बोर्डमार्फत प्रक्रिया अघि बढाउनुपर्छ ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ अनुसार विदेशी लगानीकर्ताले नेपालमा उद्योगको जायजेथा तथा सेयर खरिद गरेर लगानी गर्न सक्नेछन् भने लिज लगानी पनि गर्न सक्नेछन् । यस्तै, विदेशमा स्थापित उद्योगले नेपालमा शाखा खोल्दै लगानी गर्न सक्ने सुविधा पनि नियमावलीमा रहेको छ । तर, विदेशी लगानी गर्न स्वीकृतिप्राप्त विदेशी लगानीकर्ताले स्वीकृति पाएको एक वर्षभित्र लगानी ल्याउनुपर्ने शर्त राखिएको छ । जसअनुसार न्यूनतम सीमा अनुसार लगानी गर्नेले एक वर्षभित्र २५ प्रतिशत रकम ल्याउनुपर्ने व्यवस्था छ । त्यसैगरी २५ करोडसम्मको लगानी स्वीकृत भएका उद्योगले १५ प्रतिशत र त्यसभन्दा बढी स्वीकृति पाएकाहरूले १० प्रतिशत एक वर्षभित्रै ल्याइसक्नुपर्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्