Logo

खानेपानीका लागि विश्व बैंकको ६ अर्ब अनुदान

सुर्खेत-भेरी नदीको पानी वीरेन्द्रनगर ल्याउने लिफ्ट खानेपानी आयोजनका लागि सम्झौता भएको छ ।
आयोजना निर्माणका लागि संघीय सरकार कर्णाली प्रदेश सरकार र स्थानीय वीरेन्द्रनगर नगरपालिकाबीच शुक्रबार सम्झौता भएको हो । नेपाल सरकारले विश्व बैंकको अनुदान रकमबाट आयोजनाका लागि ६ अर्ब रुपैयाँ दिने भएको छ । उक्त अनुदान रकमबाट संघीय सरकारले ८० प्रतिशत दिने छ भने प्रदेश र स्थानीय सरकारको २० प्रतिशत लागत सहभागितामा आयोजना निर्माण गर्ने सम्झौता भएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिए । सम्झौताअनुसार दुई चरणमा आयोजनाको निर्माण गरिने देवकोटाले जानकारी दिए । पहिलो चरणमा तीन अर्ब र दोस्रो चरणमा थप तीन अर्ब आयोजनाले प्राप्त गर्नेछ ।
पहिलो चरणमा भेरी नदीमा इन्टेक बनाउने, पानी प्रशोधन प्रणाली स्थापना गर्ने, अमृत डाँडामा रिजर्भ ट्यांकी स्थापना गर्ने, बांगेसीमलदेखि अमृत डाडाँसम्मको मुख्य पानी प्रसारणलाइन विस्तार गरिने तथा फोर लेन सडकको दुवैतर्फ पनि प्रसारणलाइन विस्तार हुने अध्यक्ष देवकोटाले बताए । पहिलो चरणका लागि तीन अर्ब ५६ करोड लागत अनुमान रहेको छ । पहिलो चरणको काम २०७८ असार मसान्तसम्ममा ठेक्का लगाइसक्ने देवकोटाको भनाइ छ । दोस्रो चरणमा वितरण प्रर्णालीको काम हुनेछ । दोस्रो चरणका लागि कम्तिमा पनि तीन अर्ब लाग्ने प्रारम्भिक अध्ययन छ । आयोजनको कुल लागतमध्ये विश्व बैंकको अनुदानबाट संघीय सरकारले ८० प्रतिशत बेहोर्ने तथा २० प्रतिशत प्रदेश, स्थानीय सरकार र उपभोक्ताको लागत सहभागिता रहने छ ।
वीरेन्द्रनगरमा हाल झुप्रा खोलाको पानी वितरण गरिँदै आएको छ । पछिल्ला वर्ष जनसंख्या ह्वात्तै बढेपछि खानेपानीको अभाव हुन थालेको छ । प्रदेश राजधानीसमेत रहेको सुर्खेत उपत्यकामा खानेपानीको सहज आपूर्तिका लागि भेरी लिफ्टिङ आयोजनालाई अगाडि सारिएको छ । भेरी नदीबाट उपत्यकामा ५ सय ६६ लिटर प्रतिसेकेण्ड पानी ल्याउने आयोजनाको डिजाइन छ । भेरी नदीबाट लिफ्ट गरी वीरेन्द्रनगरको अमृत डाडाँमा पानी ल्याई उपत्यकामा वितरण गरिनेछ । सुर्खेत उपत्यकाको खानेपानी समस्या समाधान गर्न महत्वपूर्ण सम्झौता भएको भन्दै अध्यक्ष देवकोटाले अब आयोजनालाई दु्रत गतिमा सम्पन्न गर्न सरोकारवाला सबैले सहयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्