Logo

सात महिनामा सम्पत्ति शुद्धीकरणका दुई मुद्दा


चालू आर्थिक वर्ष २०७८-०७९ को ७ महिनामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दुईवटामात्र मुद्दा दर्ता गरेको छ । सम्पत्ति शुद्धीकरण अर्थात् गैरकानुनी रूपमा आर्जित धन तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी र अन्य विनासका हातहतियार विस्तारमा सहयोग गर्ने गैरकानुनी कमाइ र योगदानका विरूद्ध अनुसन्धान गर्ने यस निकायले यो अवधिमा १० जनाविरुद्ध २४ करोड ८८ लाखको बिगो दाबी गर्दै अदालतमा २ वटा मुद्दा दर्ता गरेको हो ।
नेपालमा अत्यधिक मात्रामा गैरकानुनी सम्पत्तिको चलखेल हुने गरेका विवरण सार्वजनिक हुने गरे पनि विभागले मुद्दा दर्ता भने निकै न्यून संख्यामा मात्र गरेको छ । चालू आवमा तुलनात्मक रुपले कम मुद्दा दर्ता भए पनि गुणात्मक काम भइरहेको विभागका सूचना अधिकारी ऋषिराम पोखरेलले बताए । “दुई वटामात्र मुद्दा दर्ता हुँदा कम लाग्नु स्वाभाविक हो । काम गुणात्मक भएको छ । परेका उजुरीहरु सम्पत्ति शुद्धीकरणका हुन् कि हैनन् भनेर अनुसन्धान गर्न समय लाग्छ,” उनले भने ।
गत आर्थिक वर्ष २०७७-०७८ मा भने विभागले २३ करोड ७० लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै ५ वटा मुद्दा दर्ता गरेको थियो । अनुसन्धानको प्रक्रिया निकै लामो हुने भएकाले धेरै मुद्दा दर्ता नभएको विभागले जनाएको छ । विभागले उजुरीको अनुसन्धान गरी विषेश अदालतमा मुद्दा दर्ता गर्ने गरेको छ । विभागले आर्थिक वर्ष २०७३-०७४ मा भने १ अर्ब १२ करोड रुपैयाँ बिगो दाबी गर्दै ३८ वटा मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्