रुस–युक्रेन युद्धले नेपालका खानेतेल उद्योग प्रभावित

वीरगन्ज-रसिया र युक्रेनबीचको तनावले नेपालका खानेतेल उद्योग प्रभावित हुने भएका छन् । रुसले युक्रेनमाथि बिहीबारदेखि सैन्य आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा प्रभाव परेसँगै नेपालको खानेतेल उद्योग पनि प्रभावित हुने देखिएको हो ।
रुसको आक्रमणपछि तनावग्रस्त बनेको युक्रेनमा कच्चा पदार्थ आउन बन्द हुने भएपछि नेपालका तेल उत्पादन गर्ने उद्योगहरू प्रभावित हुने चिन्ताले उद्योगी व्यवसायीलाई सताएको छ । नेपालमा उत्पादन हुने खानेतेलका लागि आवश्यक ९० प्रतिशत तोरी र सूर्यमुखीको दाना युक्रेनबाट आयात हुने गरेको छ ।
सूर्यमुखी र तोरीको दाना युक्रेनबाट आयात गरी नेपालका तेल उद्योगमा प्रशोधन गरेर भारततर्फ निर्यात हुने गरेको छ । सूर्यमुखी तेल भारत निर्यातले नेपालको व्यापार घाटामा केही राहत हुँदै आएको थियो । गत आर्थिक वर्षमा युक्रेनबाट १६ अर्ब रुपैयाँभन्दा बढीको भटमास, कच्चा तोरी र सनफ्लावर तेलको कच्चा पदार्थ आयात भएको थियो ।
तर, रुस युक्रेनबीच सुरु भएको तनावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि रुसले अजोभ समूहमा व्यावसायिक जहाजको आवागमन स्थगित गरेको छ । रुसी सेनाले बिहीबार युक्रेनका प्रमुख सहरमा आक्रमण गरेको छ ।
विश्वको सबैभन्दा ठूलो गहुँ निर्यात रूसले मुख्यतयाः आफ्नो अन्न (ब्ल्याक सी) कालो सागरको बन्दरगाहबाट पठाउने गरेको छ । आजोभ समूह सानो क्षमताको उथला पानी बन्दरगाहहरूको घर हो । रूसी हस्तक्षेपसँगै विभिन्न यूरोपेली मुलुकसहित अमेरिकाले रूसमाथि प्रतिबन्ध लगाएपछि कच्चा तेलको मूल्य सात वर्षयताकै उच्च विन्दुमा पुगेको छ । रसिया–युक्रेन युद्धका कारण पछिल्लो एक महिनायता भने नेपालमा तोरी र सनफ्लावरको दाना आयात हुन सकेको छैन ।
युक्रेन–रुस तनावले नेपालको वैदेशिक व्यापारमा आंशिक प्रभाव पर्ने नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय कार्यकारिणी समितिका सदस्य तथा पारवहन तथा स्थल यातायाता समितिका संयोजक अशोक टेमानीले बताए । उनले भने, “रुस सबैभन्दा ठूलो गहुँ निर्यात गर्ने देश हो । नेपालमा गहुँ आयात खासै हँुदैन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि भएपछि त्यसको असर नेपालमा पनि स्वतः देखिन्छ,” उनले भने, “युद्धको नाममा मूल्य बढिसक्यो । युक्रेनबाट भने खाने तेलको कच्चा पदार्थहरू आउने भएकाले खाने तेलका उद्योगहरू केही प्रभावित हुने भएको छ ।” दुई देशबीचको तनावले नेपालका तेल उत्पादकहरू थप तनावमा छन् ।