Logo

ब्याजदर वृद्धिको निर्णय स्थगन गर्न आग्रह


कोभिडका कारण सबै प्रकारका उद्योग–व्यवसाय कठिन अवस्थाबाट गुज्रिरहेको भन्दै निजी क्षेत्रले बैंक तथा वित्तीय संस्थाले ब्याज बढाएकोमा चिन्ता प्रकट गरेको छ । ‘एकातिर उद्योग व्यवसाय कोभिडपूर्वको अवस्थामा सञ्चालन हुन सकेका छैनन् भने उत्पादित वस्तुहरुको बिक्रीबाट उठ्नुपर्ने रकम समेत बजारबाट उठ्न सकिरहेको अवस्था छैन,’ नेपाल उद्योग वाणिज्य महासंघले विज्ञप्तिमार्फत भनेको छ, ‘बैंकिङ क्षेत्रबाट उद्योग व्यवसायलाई पूर्ण रुपमा सञ्चालन गर्ने कार्यमा सहयोगको अपेक्षा भइरहेको अवस्थामा निक्षेपमा ब्याज वृद्धिको निर्णयबाट उद्योग व्यवसाय क्षेत्र थप सशंकित भएको छ ।’
बैंकिङ क्षेत्रबाट विगतमा भएका सकारात्मक पहलको निजी क्षेत्रले सदैव स्वागत गरेको भन्दै महासंघले अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्र र उद्योगी व्यवसायीले लिएको ऋणको ब्याजदर पुनः बढेमा यो क्षेत्र थप धरासायी हुने र सम्पूर्ण उद्योगी व्यवसायी सडकमा आउने परिस्थिति सिर्जना हुने हो कि भन्ने चिन्ता रहेको बताएको छ ।
हरेक त्रैमासमा निक्षेपमा ब्याज दर वृद्धि हुँदै जाने प्रथा कायम हुने हो भने मुलुुकभित्र उद्योग व्यवसाय गर्न सम्भव नरहेको भन्ने ठहर गर्दै महासंघले ब्याज दरको अस्थिरता कायम रहँदा मुलुकमा व्यावसायिक लागत प्रक्षेपण गर्न सक्ने अवस्था समेत नहुने जनाएको छ । विगतका अनुुभव समेतलाई हेर्ने हो भने पनि ब्याजदर वृद्धिबाट तरलता समस्या समाधान नहुने तर, ब्याजदर वृद्धि लगायतका कारणबाट उद्योग व्यवसाय क्षेत्र चौतर्फी दबाबमा पर्दा यसको प्रत्यक्ष असर मुुलुकको उत्पादन र अर्थतन्त्रमा पर्ने महासंघको बुझाइ छ ।
व्यापार घाटाको दायरा निकै बढिरहेको अवस्थामा पछिल्लो पटक निक्षेपमा ब्याजदर वृद्धिको निर्णयबाट कर्जाको ब्याज दर वृद्धि हुन गई उद्योग व्यवसाय थप शिथिल हुने र त्यसले आन्तरिक उत्पादन नै ठप्प हुन जाने अवस्था आउनेतर्फ सरकार र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराउँदै महासंघले अनपेक्षित रुपमा गरिएको निक्षेपमा ब्याजदर वृद्धिको निर्णयले आधार दर वृद्धि हुन गई ऋणको ब्याज दरमा समेत वृद्धि हुने भएकाले तत्काल उक्त निर्णय स्थगन गर्न राष्ट्र बैंक समक्ष आग्रह पनि गरेको छ ।
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघले शुक्रबार फागुन महिनाका लागि ब्याजदर बढाउने सहमति गरेको थियो ।
बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य तरलताको अभाव बढेका कारण ब्याजदर बढाउने भनेको भए पनि ब्याजदर बढाउँदा भएकै निक्षेपमात्र खोसाखोस हुने र नयाँ निक्षेप सिर्जना नहुने पटक पटक देखिइसकेको छ ।
तर, कर्जाको माग निरन्तर बढिरहेको अवस्थामा पनि निक्षेप आउन नसकेको भन्दै बैंकहरुबीच ब्याजदर बढाउने भद्र सहमति गरिएको एक बंैकरले बताए ।
यसअघि व्यक्तिगततर्फ मुद्दतिमा वार्षिक १०.०७ प्रतिशत ब्याजदर दिने सहमति गरेकोमा फागुनदेखि ११.०३ प्रतिशत ब्याजदर पु-याउने भएका छन् ।
सहमति अनुसार अब वाणिज्य बैंकहरुले संस्थागत निक्षेपमा १०.३ प्रतिशत ब्याजदर दिनेछन् भने बचत खाातामा ५ प्रतिशत र कल डिपोजिटमा ३.०१५ प्रतिशत ब्याजदर दिने छन् ।
वाणिज्य बैंकहरुसँगै अब विकास बैंक र फाइनान्स कम्पनीलाई पनि ब्याजदर बढाउन दबाब परेको छ । राष्ट्रिय स्तरका विकास बैंकले एक वर्षे मुद्दती निक्षेपको ब्याज (व्यक्तिगत तर्फ) ११.५५ प्रतिशत र क्षेत्रीय स्तरका विकास बैंकको ११.६५ प्रतिशत हुनेछ भने फाइनान्स कम्पनीको एक वर्षे मुद्दती निक्षेपको ब्याज (व्यक्तिगत तर्फ) ११.७१ प्रतिशत पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्