कोरोना संक्रमण एक हप्तामा ३ गुणा घट्यो

तथ्यांकले कोरोना संक्रमणदर घट्दै गइरहेको देखाएपछि मानिसको दैनिकी तथा बजारमा आर्थिक गतिविधि समेत बढ्न थालेको छ । बन्द रहेका शैक्षिक संस्था खुल्ने र हाल कायम गरिएको सवारी साधनमा लगाएको जोरबिजोर प्रणालीलाई सहज गरिएपछि आर्थिक गतिविधि पुनः लयमा फर्कने संकेत देखिएको हो ।
माघ महिनाको शुरुमा ५० प्रतिशतको हाराहारीमा पुगेको कोरोना संक्रमण सोमबार १२.८ प्रतिशतमा झरेको छ । एक हप्ता अघि प्रतिदिन ३१.६ प्रतिशत रहेको कोरोना संक्रमण सोमबार घटेर १२ प्रतिशत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यो संक्रमण गत वर्षको दोस्रो लहरका बेला उच्च मापन २५ प्रतिशतको हाराहारीमा रहेको तथ्यांक रहेको थियो भने हाल कायम रहेको तेस्रो लहरमा भने ५० प्रतिशतको हाराहारीमा रहेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजानिक गरेको नियमित स्वास्थ्य रिपोर्टमा एक हप्ता अघि ५ हजार ५ सय ८३ व्यक्ति संक्रमित हुने गरेकोमा सोमबार सो संख्या १ हजार ५ सय ७९ मा झरेको छ । मन्त्रालयकी प्रवक्ता संगिता मिश्राले कोरोना संक्रमण घट्दै गएको देखिएपनि जोखिम कायम रहेकाले कारण जनसवास्थ्य मापदण्ड र खोप लगाउन अनुरोध गरेकी छन् । गत २४ घन्टामा ११ हजार ३६५ जनामा गरिएको एन्टिजेन तथा पिसिआरमा १ हजार ५७० संक्रमित भएका छन् । यो अवधिमा ६ हजार १४६ जना संक्रमण मुक्त भएर फर्किएको मन्त्रालयले जनाएको छ । सोमबारसम्म संक्रिय संक्रमितको संख्या ४० हजार १११ रहेको छ । यो संख्या एक हप्ता अघि ७४ हजार ६५३ रहेको थियो । यसैगरी गत हप्ता काठमाडौं उपत्यकका ३ जिल्लामा संक्रमितको संख्या ४४ हजार ५ सय ३१ रहेकोमा सोमबार सो संख्या १९ हजार १ सय ४ पुगेको मन्त्रालयले सार्वजानिक गरेको तथ्यांकमा उल्लेख छ । भक्तपुर, ललितपुर र काठमाडौ सहित ५ सय भन्दा बढी संक्रमिण उपचाररत भएका जिल्लाहरुको संख्या १३ रहेको छ । यसैगरी २ सय भन्दा बढी संक्रमित उपचार गरिरहेका जिल्लामा सुनसरी, मोरङ, चितवन, कास्की, बाँके र कैलाली सहित १७ रहेका छन् ।
कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसि) ले मानिसको भेटघाट र भेलालाई सिमित व्यक्तिमा केन्द्रित गर्न सरकारलाई सिफारिस गरेपछि गृह मन्त्रालयले स्वास्थ्यका विभिन्न मापदण्ड पालना गराउने नियम बनाएको थियो । सरकारले सार्वजनिक स्थानहरु कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड हुनु पर्ने नियम बनाएको छ । खोप कार्ड अनिवार्य गरेपछि स्वास्थ्य मन्त्रालयले खोप अभियानमा अझ प्रभावकारी बनाएको छ । संक्रमण बढ्दै गएपछि राजधानी तथा जिल्ला अस्पताल र खोप केन्द्रमा मानिसको भिड लाग्न थालेको थियो ।
हाल कुल देशभरको जनसंख्याको ७२.७ प्रतिशतले समेत पूर्णमात्राको खोप लगाई सकेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. मिश्राले पछिल्लो समय कोभिड संक्रमणका विभिन्न भेरियन्ट फेला परिरहेको र यसको असर नेपालमा समेत देखिकोले अनावश्यक भिडभाड नगर्न अनुरोध गरेकी छिन् ।