Logo

किन सामान्य छ नेपालमा कालोबजारी ?

कालोबजार सायद शून्यमा पु-याउन असम्भव होला, तर यसको न्यूनीकरणतर्फ सबै पक्ष एकीकृत रूपमा अगाडि बढ्न आवश्यक छ ।

कालोबजारी न्यूनीकरण गर्न ध्यान दिनुपर्नेहरू आफैं कालोबजारी गर्नेको साथमा पछाडिबाट उभिँदा नेपालमा कालोबजारीले आफ्नो जरा गाड्न सफल भएको हो ।

भनिन्छ, समस्या र अभावको बीचमा अवसरको सिर्जना हुन्छ । अभावले आवश्यकता पहिचान गर्न सहयोगी भूमिका निर्वाह गर्छ अनि कुन वस्तु वा सेवाको माग बढी छ थाहा पाउन सहजीकरण पनि गर्ने गर्छ । मूलतः स्रोत तथा साधनको उचित वितरण हुन नसक्दा, माग एक्कासि बढ्दा र आपूर्ति एक्कासि घट्दा अभावको वातावरण सिर्जना हुने गर्छ । आर्थिक चक्रमा अभाव जुनै पनि अवस्थामा आउन सक्छ, अनि यसै अभावको समयमा हुने घृणित कार्य हो— कालोबजारी ।
कुनै पनि वस्तु वा सेवाका लागि लाग्ने शुल्क वा भाडाबापतको मोलभन्दा बढी मोल लिई बिक्री गर्ने कार्यलाई कालोबजारी भनिन्छ । सधैं मोल उच्च हुनुपर्छ भन्ने पनि छैन, गुणस्तर खस्काउने कार्य पनि यसैअन्तर्गत पर्ने गर्छ । नेपालमा त सायद कालोबजारी एउटा बानी र सामान्य गतिविधि हो । अहिले बजारमा सिटामोलको चरम अभाव रहेको देखिन्छ । देशकै राजधानीमा यो अभाव भइरहँदा अन्य भेगमा के छ, सायद काठमाडौँले सोच्न पनि सक्दैन । यहाँ विषय सिटामोलको मात्र हैन, यात्रा गर्दा रोकिने होटलमा खानाको गुणस्तर र स्वास्थ्यसम्बन्धी मापदण्डदेखि दुर्गम भेगमा तोकिने खाना पकाउने ग्यासको मूल्यसम्म कालोबजारी हुने गरेको पाइन्छ । हिजो इन्धनमा कालोबजारी भयो, इन्डक्सन चुलोमा भयो, फेरि कोरोनाको दोस्रो लहरमा अक्सिजन सिलिन्डरमा भयो, अक्सी मिटरमा भयो अनि अहिले फेरि सिटामोलमा भइरहँदा यस्तो लाग्छ— यो सामान्य हो, अनि सोही सिटामोलको चक्की दस गुणा बढी तिरेर खरिद गर्नुपर्ने बाध्यता रहिआएको छ ।
अहिले हेर्दा यस्तो लाग्दै छ, नेपालमा कालोबजारी एउटा सामान्य विषय हो । यो एउटा बजारको आवश्यकता हेरेर गरिने निरन्तर अभ्यास हो, जसले मर्कामा पर्नेलाई थप मर्का र बिचौलिया र कुनियत भएकोलाई थप प्रोत्साहन गरिरहन्छ । नेपालमा कालोबजारी सामान्य प्रक्रियाझैँ रहेर निरन्तर भइरहनुमा केही कारण अवश्य छन् । मूलतः अर्थशास्त्रमा कालोबजारको मुख्य कारक भनेको भ्रष्टाचार नियन्त्रण स्पष्ट नहुनुदेखि चेतनाको अभाव र गरिबी भनिए तापनि नेपालमा यसको बेग्लै कारण रहिआएको छ ।
पहिलो कारण त कालोबजारी एउटा संस्कारसरह भइसकेको छ । दुई–तीन दिन हावाहुन्डरी आए तापनि बाँकी दिन सामान्यझैँ हुन्छन्— जसको प्रमाण अझै पनि ती राजमार्गको होटलमा कुनै गुणस्तर मापदण्ड नभेटिनु हो । कालोबजारी गरेर कमाउने एउटा अवसरजस्तो हुन थालेको नेपालमा यस प्रकारको अभावको अवसर खोजेर र पर्खेर बस्ने जमात नै छन्, जसले मौका पाउनासाथ कृत्रिम अभाव सिर्जना गरेर भए पनि कालोबजारी गर्न लालायित हुन्छन् । मानवता, इमानदारिताजस्ता भावनात्मक विषयलाई पैसामा कारोबार गर्ने संस्कार बसिसकेकाहरूले कालोबजारी प्रोत्साहन र प्रवद्र्धन गरिरहनु एउटा प्रमुख कारण भएको छ ।
हिजो नाकाबन्दीमा इन्धन कालोबजारी गर्नेहरूले त्यसै ठूला महल ठडाएका हैनन्, उनीहरूलाई त्यस्तो कार्य गर्ने हिम्मत आफैं उत्पन्न भएको अवश्य हैन । त्यसको पछाडि साथ दिने बलियो हात भएकै कारण उनीहरूले आफ्नो स्थान जमाउन सफल भएको पक्षलाई नकार्न अवश्य मिल्दैन । कालोबजारी न्यूनीकरण गर्न ध्यान दिनुपर्नेहरू आफैं कालोबजारी गर्नेको साथमा पछाडिबाट उभिँदा नेपालमा कालोबजारीले आफ्नो जरा गाड्न सफल भएको हो । राजनीतिक साथ र समर्थनबिना एक आम सर्वसाधारणले बजारमा यस प्रकारका गतिविधि गर्न कठिन नै छ, सायद त्यही भएर पनि होला, कालोबजारी गर्नेलाई अहिलेसम्म कडा कारबाहीको समाचार नसुनिएको ।
ऐनको अभाव भएको पक्कै हैन । कालोबजार ऐन, २०३२ नेपालमा रहेकै छ, जसले मालवस्तुको विचलनको विषयदेखि जम्माखोरी तथा कृत्रिम अभाव, झुक्याई बिक्री–वितरणदेखि मिसावटको विषयसम्म सम्बोधन भएको छ । सोही ऐनमा जरिवानाको उपल्लो हदसमेत व्याख्या भएको छ, तर यहाँ विषय कार्यान्वयनको हो, जसको स्पष्ट अभाव देखिन्छ । अनुगमन गर्ने निकाय फितलो हुँदाको परिणाम भनेरसमेत बुझ्दा हुन्छ । सधैं दसैंताका अनुगमन गरेजस्तो गरिने निकायले यस अवस्थामा सिटामोल पाइरहेको दाबी गरिरहँदा के–कति बजार अध्ययन गरेको छ भन्ने उत्तर सायद उनीहरूसँग नै छैन ।
हिजो न्युरोडको गुदपाक पसल बन्द गरियो, तर अहिले सोही स्थानमा फेरि सञ्चालनमा छ । कालोबजारी भइरहेको कुरा सबैलाई अवगत हुँदै गर्दा दोषीलाई कारबाही भएको तथ्य खासै बाहिर आउँदैन । हिजो कालोबजारमा संलग्नलाई के–कति कारबाही भयो, कुन हदसम्मको सजाय दिइयो बारे कसैलाई सम्झना छैन, जसले गर्दा नयाँ बिचौलियाहरूलाई पनि निरुत्साहित गर्ने ठाउँ रहँदैन, बरु उल्टो प्रोत्साहित गरेझैँ देखिन्छ । कम सजाय वा सजाय नहुनु नै यस्ता विषयमा प्रोत्साहनस्वरूप अगाडि बढिरहेको हुन्छ ।
कालोबजारीकरणले अस्थिरता प्रवद्र्धन गर्ने, महँगी बढाउनेदेखि लिएर भ्रष्टचारिता प्रवद्र्धन गर्ने र समग्र अर्थतन्त्रमा प्रत्यक्ष असर पार्ने भएको हुँदा यसलाई अर्थतन्त्रको एउटा रोग भनेर परिभाषा गर्दा फरक पर्दैन । सम्बन्धित निकायले ढाकछोप गर्नुभन्दा यथार्थ स्विकारेर सुधारोन्मुख यात्रातिर लाग्न सक्नुपर्छ । कालोबजार सायद शून्यमा पु-याउन असम्भव होला, तर यसको न्यूनीकरणतर्फ सबै पक्ष एकीकृत रूपमा अगाडि बढ्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्