Logo

जनसंख्या वृद्धिदर घट्दा उत्पादकत्वमा असर

केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जनसंख्या वृद्धिदर घटेको छ । विभागका अनुसार ८० वर्षपछि नेपालको सरदर वार्षिक जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तरल झरेर ०.९३ प्रतिशत पुगेको हो ।
विगत पाँच दशकको जनसंख्या वृद्धिदर हेर्दा नेपालमा जनसंख्या वृद्धिदर घट्दै गएको देखिन्छ । जनगणना २०३८ मा नेपालमा सरदर वार्षिक जनसंख्या वृद्धिदर २.६२ प्रतिशत देखिएकोमा जनगणना २०४८, २०५८, २०६८ मा क्रमशः २.०८, २.२५, १.३५ हुँदै हाल ०.९३ प्रतिशत पुगेको छ । यसरी जनसंख्या घट्दै जाँदा त्यसले आर्थिक तथा सामाजिक क्षेत्रमा असर पार्ने देखिन्छ । अहिले प्रजननदर घट्दा दुई दशक पछिको श्रमशक्ति घट्ने भएकाले त्यसले विकास निर्माणमा असर पु¥याउने हुँदा यही २० वर्षमा आर्थिक स्थायित्व कायम गरी विकास निर्माणमा जोड दिनुपर्ने देखिएको छ ।
जनसंख्या घट्दा तत्काल कुनै असर नपरे पनि २० वर्षपछि आर्थिक क्षेत्रमा यसको ठूलो असर देखिने अर्थविद् प्रा.डा. विश्वम्भर प्याकुरेल बताउँछन् । “जनसंख्या घट्नु देशकै कुल गार्हस्थ्य उत्पादन घट्नु हो,” उनी भन्छन्, “जनसंख्या कम हुँदा कतिपय मुलुकमा आधारभूत वस्तु तथा सेवाको मागमा गिरावट आई आर्थिक मात्र नभएर मानसिक तनाबसमेत देखिएका उदाहरण छन् ।” साथै जनसंख्या घट्दा रोजगारीमा समस्या उत्पन्न हुने र निर्भरता बढ्ने उनको तर्क छ ।
“हामीले ६५ वर्षभन्दा माथिको अवस्थालाई वृद्ध भनेका छौं,” उनी भन्छन्, ‘१४ वर्षभन्दा कम उमेरको जनसंख्या पनि निर्भर नै हुन्छ र ६५ भन्दा माथिको जनसंख्या पनि निर्भर नै हुने तर श्रमका लागि युवा जनसंख्याको अभाव हुँदा त्यसले उत्पादकत्वमा दबाब सिर्जना गर्छ ।” श्रम शक्तिभन्दा वृद्धहरूको संख्या बढी हुँदा १५ देखि ६४ वर्ष उमेर समूहमा दबाब पर्ने प्याकुरेल बताउँछन् । साथै यसले सरकारमाथि समेत दबाब सिर्जना गर्ने उनको तर्क छ । “चीनमा जनसंख्या घट्दा सन् २०३५ सम्ममा ‘पेन्सन फन्ड’ नै सकिन्छ भन्ने अनुमान गरिएको छ,” उनी भन्छन्, “श्रम जनसंख्या नै कम भएमा नेपालमा पनि अवकाशवालालाई दिने भनिएको सेवा सुविधा दिन चुनौतीपूर्ण हुनेछ ।”
चीनले एक सन्तान भन्ने नीति लिँदा त्यसले उत्पादकत्वमा असर पर्ने देख्दा नीतिमै परिवर्तन ल्याउनु परेको भन्दै उनी जनसंख्या घटेर आधारभूत सेवामा गिरावट आए आर्थिक मन्दीको अवस्था सिर्जना हुनसक्ने बताउँछन् । युवाको जनसंख्या घट्दा विविध क्षेत्रमा नकारात्मक प्रभाव पर्ने र भौतिक पूर्वाधारको विकास हुन नसक्ने देखिएकाले जनसंख्याको नीति बनाउँदा यस विषमा ध्यान पु¥याउनुपर्ने प्याकुरेलको तर्क छ ।
त्यस्तै योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् डा. गोविन्दराज पोखरेल पनि जनसंख्या वृद्धिदर घट्दा भविष्यमा चाहिने श्रमशक्तिको कमी हुन जाने बताउँछन् । “अहिले धेरै युवा छौं, थोरै वृद्ध र बच्चाहरू छौं,” उनी भन्छन्, “भविष्यमा पेन्सन खाने र राज्यबाट भत्ता खाने जनसंख्या ठूलो हुन्छ र देशलाई उत्पादनमा लैजाने र कर तिर्ने जनसंख्या कम हुन्छ ।”
विकास नभई उत्पादनशील जनसंख्या कम हुनु डरलाग्दो अवस्था भएको भन्दै उनी भविष्यमा ठूलो प्रौढ जनसंख्यालाई सानो युवा जनसंख्याले पाल्नुपर्ने हुन्छ । “औसतमा अहिले १० जनाले कमाएर एक जनालाई पाल्नुपर्ने हुन्छ भने भविष्यमा ४ जनाले कमाएर एक जनालाई पाल्नुपर्ने अवस्था आउँछ,” पोखरेल भन्छन्, “अहिले आम्दानीको १० प्रतिशत त्यसमा गएको छ भने भविष्यमा २० देखि २५ प्रतिशत जान सक्छ ।” त्यस कारणले उत्पादनशील जनसंख्या घट्नु विकासशील देशका लागि श्रमशक्तिको अभाव हुने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्