जनसांख्यिक लाभ नपाइकनै बूढो हुने डर «

जनसांख्यिक लाभ नपाइकनै बूढो हुने डर

राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजाले नेपालको जनसांख्यिक संरचना परिवर्तन भइरहेका कारण जनसांख्यिक फाइदा नपाइकनै मुलुक बूढो हुने खतरा रहेको देखाएको छ । यसअघि आधाभन्दा बढी जनसंख्या युवा भएका कारण नेपालले जनसांख्यिक लाभ पाउने अपेक्षा थियो । तर, युवा जनशक्ति विस्तारै एजिङतर्फ लागेका कारण नेपाली समृद्ध नभई बूढो हुने डर बढेको छ ।
यसका कारण सेवा व्यवस्थापन र राजनीतिमा पनि प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ । प्रारम्भिक नतिजाका अनुसार एकातिर जन्मदर घटेको छ भने अर्कोतिर विदेश बसाइँ सर्नेको अनुपात पनि बढेको छ ।
वि.सं. १९८७ को जनगणनामा वार्षिक ०.०७ प्रतिशतले नकारात्मक रहेको जनसंख्या वृद्धिदर र त्यसपछिका वर्षहरूमा १ प्रतिशत भन्दा बढी हुँदै आएको थियो तर, राष्ट्रिय तथ्यांक विभागले चालु वर्ष २०७८ मा गरेको जनगणनाको प्रारम्भिक तथ्यांक अनुसार पछिल्लो एक दशकमा भने ०.९३ प्रतिशतले मात्र वार्षिक सरदर जनसंख्या वृद्धि भएको छ । अर्थात्, झण्डै आठ दशकपछि नेपालको जनसंख्या वार्षिक १ प्रतिशत भन्दा कमीले बढेको छ । यसअघिको जनगणना २०६८ मा भने नेपालको जनसंख्या वार्षिक १.३५ प्रतिशतले बढेको थियो ।
यससँगै अघिल्लो जनगणनामा २ करोड ६४ लाख ९४ हजार रहेको जनसंख्या एक दशकमा झण्डै २७ लाखले बढेर २ करोड ९१ लाख ९२ हजार पुगेको पनि विभागले जनाएको छ । यसमा विभागले लिम्पियाधुरा र कालापानीको जनसंख्या समेत समावेश गरेको जनाएको छ । यसअघि सरकारले नेपालको जनसंख्या ३ करोड नाघ्ने प्रक्षेपण गरे पनि वार्षिक जनसंख्या वृद्धिदर घट्दा जनसंख्या ३ करोड भन्दाकम नै रहन गएको विभागले जनायो ।
शिक्षाको पहुँच, प्रजनन् दर, मृत्युदर तथा बसाइँसराइका कारणले जनसंख्या घटेको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए । “पछिल्लो समय शिक्षाको पहुँच बढ्दा विवाह गर्ने उमेर पनि बढेको छ,” उनले भने, “जन्मदर घटेको छ भने विदेश बसाइँ सर्नेको अनुपात पनि बढेको छ । जसले हामीले प्रक्षेपण गरेभन्दा केही कम जनसंख्या रहन पुग्यो ।”
अघिल्लो जनगणनाको तुलनामा पछिल्लो दशकमा लैंगिक अनुपात वृद्धि हुँदै ९५.१ प्रतिशत पुगेको छ । विभागका अनुसार एक दशकमा पुरुषको जनसंख्या १४ लाख ४२ हजारले बढेर १ करोड ४२ लाख ५१ हजार पुगेको छ भने महिलाको जनसंख्या १२ लाख ५५ हजारले बढेर १ करोड ३६ लाख ४५ हजार पुगेको छ । त्यस्तै यस अवधिमा २४.५७ प्रतिशत परिवार संख्या थप भएको छ ।
२०६८ को जनगणनामा ५४ लाख २७ हजार रहेको घरपरिवार १० वर्षमा बढेर ६७ लाख ६१ हजार पुगेको पनि विभागले जनाएको छ । साथै औषत परिवार संख्या समेत अघिल्लो जनगणनाको तुलनामा ४.५५ बाट घटेर ४.३२ मा झरेको छ । त्यस्तै, जनगणनाको प्रारम्भिक नतिजा अनुसार २१ लाख ६९ हजार जनसंख्या अक्सर विदेशमा बसोबास गर्दै आएका छन् । त्यसमा पुरुषको अनुपात ८१.२८ प्रतिशत रहेको छ भने १८.७२ प्रतिशत महिला रहेका छन् ।
भौगोलिक क्षेत्र अनुसार जनसंख्याको वितरण हेर्दा तराईमा नेपालको आधा जनसंख्या रहेको देखिन्छ । २०६८ को जनगणनामा ५०.२७ प्रतिशत जनसंख्या तराईमा बसोबास गर्दै आएकोमा अहिले भने बढेर ५३.६६ प्रतिशत पुगेको छ । साथै पहाड र हिमालमा बसोबास क्रमशः ४०.२५ र ६.०९ प्रतिशत रहेको छ ।
प्रदेशगत जनसंख्याको विवरण हेर्दा मधेश प्रदेशमा सबैभन्दा धेरै अर्थात् २०.९९ प्रतिशत जनसंख्या बसोबास गर्दै आएका छन् भने कर्णाली प्रदेशमा सबैभन्दा कम ५.८१ प्रतिशत जनसंख्या रहेको विभागले जनाएको छ । यद्यपि एक दशकमा लुम्बिनी प्रदेशको जनसंख्या अघिल्लो दशकको तुलनामा धेरै अर्थात् १३.८९ प्रतिशतले बढेको छ भने गण्डकी प्रदेशको जनसंख्या सबै भन्दा कम अर्थात् ३.१६ प्रतिशतले मात्र बढेको छ ।
धेरै जनसख्या हुने जिल्लामा क्रमशः काठमाडौं, मोरङ, रुपन्देही, झापा र सुनसरी परेका छन् भने कम जनसंख्या भएका जिल्लामा क्रमशः मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला रहेको पनि विभागले जनाएको छ ।

कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार
पुरुष ४८.९६ प्रतिशत, महिला ५१.०४ प्रतिशत
एक दशकमा महिलाभन्दा पुरुषको जनसंख्या धेरै बढ्यो
परिवार संख्या ६७ लाख ६१ हजार
औसत परिवार सदस्य संख्या ४.३२
विदेशमा अक्सर बसोबास गर्ने जनसंख्या २१ लाख ६९ हजार
५३.६६ प्रतिशत जनसंख्या तराईमा
मधेश प्रदेशमा २०.९९ प्रतिशत तथा कर्णाली प्रदेशमा ५.८१ प्रतिशत जनसंख्या
६६.०८ प्रतिशत जनसंख्या सहरमा
काठमाडौं जिल्लाको जनसंख्या २० लाख १७ हजार
मनाङ जिल्लाको जनसंख्या ५ हजार ६ सय ४५
सबैभन्दा धेरै जनसंख्या वृद्धि भएको जिल्ला भक्तपुर (३.३२ प्रतिशत)
रामेछापको जनसंख्या १.६५ प्रतिशतले ऋणात्मक
जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर
लिम्पियाधुरा र कालापानीको जनसंख्या समेत समावेश

प्रतिक्रिया दिनुहोस्