भाङको गेडा पौष्टिकताले भरिपुर हुन्छ । यसलाई काँचो, अचार बनाएर, पिना बनाएर, दूध वा तेलमा र तेल निकालेर समेत खान सकिन्छ
गाँजा र रैथाने विकासमा लागेको ग्रहण

पृथ्वीको एक चमत्कारी बोट जसको सामान्य डोरी, कपडा, कंक्रिट, औषधि र मनोरञ्जनका खाद्य सामग्रीलगायतका २५ हजारभन्दा बढी प्रयोग छन् । एउटा बिरुवा जुन अत्यन्त छिटो हलक्क बढ्छ । त्यसको जरा जमिनको सीमित गहिराइसम्म पुग्छ । बाहिर वातावरणबाट टनका टन कार्बन डाइअक्साइड खिचेर त्यसको सदुपयोगबाट जमिनमुनिको फोहरमा रहेका प्रदूषक धातुहरू निर्मलीकरण गरी आकाश र जमिन दुवैलाई एकै पटक सफा गर्छ । सम्पूर्ण प्राणीमात्रको जीवन यापनका लागि आकाश र जमिनको वातावरणको शुद्धीकरण गरिदिन्छ ।
विश्वमै पहिलोचोटि नेपाली भूमिमा भेटिएको हेर्दा सामान्य लाग्ने तर एक चमत्कारी बिरुवा कुन होला भनी अनुमान गर्नसमेत तपाईंलाई गाह्रो हुन सक्छ । कसैले त्यसको नाम बताइदिँदा समेत तपाईंलाई पत्याउन गाह्रो पर्नेछ । यथार्थमा उक्त चमत्कारी बिरुवा तपाईं हाम्रोमा शिवबुटी भनेर चिनिने गाँजा, भाङ वा विजया हो ।
गाँजा, भाङ वा विजयाको लागू तŒव नहुने अर्थात् गैर–साइकोएक्टिभ भागलाई हेम्पअन्तर्गत राखिन्छ । लागू तŒव नहुने गाँजा, भाङ वा विजयाको प्रजाति मूलतः हेम्पको रूपमा चिनिन्छ । हेम्प पृथ्वीको सबैभन्दा छिटो बढ्ने बिरुवाहरूमध्ये एक हो । हेम्पले प्रतिहेक्टर १५ टन कार्बन डाइअक्साइड हावाबाट लिएर माटोमा मिलाउने गर्छ । उक्त क्रममा माटोमा भएको फोहोरको कारण हुने विषाक्तता मारिदिने र हेम्पलाई बढ्न अवरोध गर्ने झारपातहरूसमेतलाई निर्मूल पारिदिने गर्छ । हेम्पको खेतीले माटोको स्वस्थ सुदृढीकरण हुने हुँदा हेम्पपछि उक्त जग्गामा लगाइएका बालीनालीको समेत उच्च उत्पादन हुने गरेको भेटिन्छ ।
जति बेला हेम्पले वातावरणबाट कार्बन डाइअक्साइड अवशोषित गर्छ, त्यो समयमा हेम्पको जराले जमिनबाट पानी सोस्ने प्रणालीमार्फत माटोमा रहेको विषालु धातु, कीटनाशक, विभिन्न केमिकल, विस्फोटक पदार्थ, पेट्रोलियमजस्ता माटो बिगार्ने विषाक्त पदार्थहरूलाई आफ्नो तन्तु र जराको वरपर थुपारेर राख्छ । माटोको खेती हुने माथिल्लो तहको माटो सफा, सन्तुलित र पोषक तŒवले भरिपूर्ण बनाउन मद्दत गर्छ ।
माटो मात्र नभएर सहरीकरणले गर्दा प्रदूषित हुन पुगेको जमिनमुनिको भूमिगत पानीबाट यसले घातक रेडियो एक्टिभ पदार्थ, विषाक्त पदार्थ र प्रदूषकहरूसमेत सोसेर सफा गर्ने गर्छ । फलतः हेम्पको खेतीपछि उक्त बिग्रिएको भूभाग सुधारिएको सुरक्षित रूपमा कृषि योग्य क्षेत्रको रूपमा परिवर्तित हुने गर्छ ।
हेम्प एक प्रभावकारी भू–क्षय नियन्त्रणमा समेत प्रयोग हुन्छ । हेम्पबाट उत्पादित फाइबर अन्यभन्दा बलिष्ठ हुने हुँदा उक्त फाइबरले बनेको बोराले जमिनको नाङ्गा भागहरू छोप्न प्रयोग गरिन्छ । उक्त बोराहरूले भू–क्षय हुन् नदिने, झारहरू बढ्न नदिने र वनस्पतिहरूलाई उम्रने, हुर्कने वातावरण पैदा गरिदिने हुँदा नाङ्गा पहाड, निर्माणाधीन ठाडो राजमार्गको किनार र भू–क्षय हुने सम्भावना रहेको वरपरको जमिनमा भू–क्षय रोक्न उपयोगमा आउँछ ।
त्यस्ता जग्गामा हेम्प वा गाँजा रोपेर समेत भू–क्षय रोक्ने र मुनाफा कमाउने दुवै गर्न सकिन्छ । तसर्थ हेम्प र गाँजा विनाश हुँदै गएका चुरे पर्वत र अन्य इलाकाहरूबाट उचित आय लिँदै सुरक्षित गर्ने उपायसमेत हो ।
भाङको गेडा पौष्टिकताले भरिपुर हुन्छ । यसलाई काँचो, अचार बनाएर, पिना बनाएर, दूध वा तेलमा र तेल निकालेर समेत खान सकिन्छ । यसको डाँठबाट बलियो कपडा बनाउन सकिन्छ, जुन अधिक पसिना सोस्ने, धेरै टिकाउ हुने र अत्यधिक इन्सुलेसन गर्ने क्षमताको फाइबर बन्छ ।
हेम्पको हेम्प कागज, हेम्प कंक्रिट आदिसमेत बन्छ । हेम्पको फाइबर निकाल्दै गर्दा त्यहाँ आउने काठको फोहोरलाई चुनामा आधारित बाइन्डर र पानीसँग मिलाएर हेम्पको परम्परागत कंक्रिटजस्तै कडा पदार्थ बन्छ । हेम्पबाट बनेको सुक्खा कंक्रिटलाई हेम्पक्रिट भनिन्छ । हेम्पक्रिटलाई स्टिलभन्दा दस गुना बलियो समेत बनाउन सकिने हुँदा त्यसबाट घर आदि मात्र हैन सौखिनहरूले ब्रान्डेड मोटर–कारहरू समेत बनेका छन् ।
हेम्पक्रिटले हावाबाट कार्बनडाइअक्साइड सोसेर लिन्छ । एक वर्गमिटर क्षेत्रफलको हेम्पक्रिटले आफ्नो जीवनचक्रमा १६ किलो बराबरको कार्बनडाइअक्साइड सोसेर लिने गर्छ । हेम्पको इन्सुलेसन अत्यन्त टिकाउ र प्रभावकारी समेत हुन्छ ।
गाँजा वा भाङ वा विजयाको अत्यन्त धेरै गुणमा मात्र एउटा गाँजाको नसा दिने शिव तŒव वा टिएचसी र त्यसका समकक्षी तŒव धेरै खाएमा लागू हुने बैगुनलाई पक्डेर अमेरिकीहरूले नियतवश संसारभर खलनायकको रूपमा प्रस्तुत गरे ।
हामीले समेत एक दिगो ग्रामीण अर्थव्यवस्था निर्मित भएको, गाँजा वा भाङ आधारित हाम्रो समाजको भविष्यलाई तिलाञ्जली दिएर अमेरिकीहरूको लहैलहैमा लागेर गाँजा वा भाङलाई औषधीय प्रयोजनमा समेत प्रतिबन्ध गर्ने निर्णय लिएका थियौं ।
हामीले हाम्रो अत्यन्त गुनी गाँजा र भाङ बारीमा सड्न दिने र हाम्रा उच्च पदमा आसीनहरूले मुलुकभित्र स्लो–पोइजनरूपी सेन्थेटिक ओखती र सप्लिमेन्ट बेच्न खुला एकाधिकार बजार उपलब्ध गरिदिएबापत तिनै सामग्री मुलुकभित्र पु¥याउने माफिया वर्गबाट ठूलो कमिसन प्राप्त हुने बजार संरचना नै तयार गरी जनतालाई रोगको घरका रूपमा रहेको आयातित सेन्थेटिक ओखती, टनिक र हिलिङ खाद्य खान पर्ने वाद्यकारी अवस्थामा धकेलिदियांै ।
हाम्रो मुलुक सञ्चालनको मोडल माफिया खुसी पार्ने, माफियाको प्रभावमा रहेको सञ्चारमाध्यमबाट आफूलाई महान् मानिसको रूपमा प्रस्तुत गरी वाहवाही कमाउने, माफिया वर्गकै लगानीले पार्टी र संसद्को चुनाव जित्ने, राजनीतिक पार्टीको उच्च पद हत्याउने, मुलुकको मन्त्री र प्रधानमन्त्री पड्काउने, माफियाकै अनुकूल हुने गरी सम्पूर्ण प्रशासन यन्त्रमा प्रशासक र नीति निर्माताको नियुक्ति गरिदिने र मुलुक सदाका लागि तिनै माफियाको एकाधिकार बजार बन्ने ग्यारेन्टी गरिदिने नियतमा हाम्रो विगतका धेरै वर्षहरू बिते । आज पनि त्यो क्रम सुचारु छ ।
हाम्रा छिमेक भारत र चीनले समेत औषधीय प्रयोजनका बाहेक मनोरञ्जन र नसाको लागि मात्र गाँजाको अनियन्त्रित उत्पादन र बिक्री रोक्ने भनी संयुक्त राष्ट्र संघसँग प्रतिबद्धता गर्दै गर्दा हामीले भने थप क्रान्तिकारी बनेर औषधीयलगायतका सम्पूर्ण प्रयोजनमा गाँजा र भाङको प्रतिबन्ध लगाउने घोषणा गरायौं ।
तत्कालीन समयको आर्थिक बेन्चमार्कमा नेपाल संसारको विकास उन्मुख मुलुकमध्येको मुलुक थियो । नेपालको रैथाने सीप, वनस्पति र प्रविधि नेपाली माटो सुहाउँदो हुने भएकाले त्यसले मुलुकलाई छिटै आत्मनिर्भर गरी संसारसँग आफूलाई प्रतिस्पर्धी गर्न सक्थ्यो ।
हाम्रा स्थानीय जडीबुटी, रैथाने सीप, ज्ञान र सामाजिक सह अस्तित्व स्विकारी जीवन यापन गर्ने सामाजिक चरित्र हाम्रो मुलुकलाई निकै चाँडो धनी मुलुक हुनबाट कसैले रोक्न सक्ने अवस्थामा थिएन । हाम्रो मुलुक विकसित हुँदा यो क्षेत्र विदेशी उत्पादनको एकाधिकार बजार बन्ने, विदेशी चलखेलको हनिमुन स्थल हुन असम्भव बन्दै थियो । त्यसै क्रममा गाँजाको प्रतिबन्ध गर्ने हाम्रो निर्णय कार्यान्वयन गर्ने क्रममा हामी गाँजा र भाङमा मात्र सीमित भएर बसेनौ ।
हामीले रातारात स्थानीय र केन्द्रीय तहमा विभिन्न ऐन, नियम, कानुन, नियमावली, आदेश र अदालती निर्णयहरू तीव्र रफ्तारमा बनायौं । रुल अफ लको सिद्धान्तअनुरूप तिनीहरू एकआपसमा हार्मोनी रहेको, नबाझिने र एउटा अर्कोमा बाझिएमा माथिल्लो तहको कानुनी व्यवस्थाको परिकल्पना स्थापित हुने हुनुपथ्र्यो । तर हामीले विभिन्न तहको कानुनमा अनिवार्य हुनुपर्ने हार्मोनीलाई नियतवश विच्छेद गरिदियांै ।
वनको नियमावलीलाई कृषिले नचिन्ने, स्थानीय तहको नियम कानुनलाई माथिल्लो तहले नचिन्ने र एउटा क्षेत्रमा जुन नियम र कानुनी व्यवस्था भएको छ, त्यसलाई अर्को क्षत्रसँग जोडिने कुनै धारा वा क्लज वा अन्य व्यवस्थासमेत गरेनौं, जुन ठूलो ग्य्रान्ड डिजाइनअन्तर्गत आएको थियो ।
यी सबै प्रकारको गतिविधिको पछाडि मात्र एक उद्देश्य थियो । निहुँ गाँजा र भाङ प्रतिबन्ध गर्ने तर यथार्थ नेपालको समृद्धि दिने सम्पूर्ण सात हजार वनस्पतिहरूको क्षमता पहिचान गरी औद्योगीकरणमा जानबाट फरक–फरक नियम कानुनको फरक–फरक व्यवस्थाबाट जटिल बनाउँदै असम्भव प्रायः पारिदिने ।
मुलुकमा उपयोग नभएको वा कम मात्र उपयोग भएको वन र पर्ती जग्गाको नाममा रहेको झन्डै ७० प्रतिशत भूभागलाई नेपालको उन्नतिको लागि कहिल्यै उपयोग हुन नसक्ने गरी हरियो मरुभूमिमा परिणत गरिदिने ।
माफियाहरूको मात्र हितमा रहने गरी मुलुकलाई माफियाहरूकै मुठ्ठीमा दूरगामी रूपमा राख्ने ग्य्रान्ड डिजाइनअन्तर्गत बुनिएको कानुनी र सामाजिक राज्यव्यवस्थालाई हाम्रा आफ्नै शासकहरूले उत्प्रेरकको रूपमा मात्र नभएर कारिन्दा बनेर रातारात सम्पन्न गरिदिए ।
तपाईं मान्नुस् नमान्नुस्, आजको दिनमा घोषित रूपमा गाँजा र भाङ तर अघोषित रूपमा नेपाली रैथाने सीप, ज्ञान र प्रविधि तथा नेपालका सम्पूर्ण रैथाने जडीबुटीहरू आधारित सबै प्रकारका कमर्सियल उत्पादन र औद्योगीकरण जटिल तर नियोजित कानुनी व्यवस्थाका कारण प्रतिबन्ध रहेको मुलुक बनेको छ नेपाल ।
हामी आजको मितिबाट नजानिएको कति हजार वर्षसम्मका लागि नियतवश कायम रहेको भूमिगत गिरोहको ग्य्रान्ड डिजाइनअन्तर्गतको कानुनी, सामाजिक र राजनीतिक व्यवस्थाको चपेटामा परेर आफ्नो सम्पत्ति, साधन र स्रोत आफ्नै लाई उपयोग गर्न नसक्ने र अर्काको संसारको सबै बजारहरूले प्राय प्रवेश नदिने हालतमा पुगेपछिको सरसामान र कसैले नलिने मिति सकिएको प्रविधि र ज्ञानको एकाधिकार बजार बन्नुपर्ने हो, त्यसको यकिन हुन सक्ने स्थिति छैन ।
(घिमिरे क्यानडामा खाद्य तथा औषधि विज्ञका रूपमा कार्यरत छन् ।)