साढे दुई वर्षपछि दूधको मूल्य बढ्दै «

साढे दुई वर्षपछि दूधको मूल्य बढ्दै




राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने प्रस्ताव गरेको छ ।
बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले सरोकारवाला निकायसँग छलफल गरेर प्रतिलिटरमा १० रुपैयाँ बढाउने गरी मूल्य प्रस्ताव गरिएको जानकारी दिए । “सातै प्रदेशबाट नमुना संकलन, विगतको अध्ययन र किसानसँग वार्ताका माध्यमबाट मूल्य विश्लेषण गरेका छौं,” उनले भने, “दूधको मूल्य साढे २ वर्षदेखि नबढेकाले किसानको हितमा मूल्य सिफारिस गरेका छौं ।”
पशुसेवा विभाग, दुग्ध विकास संस्थान (डीडीसी), डेरी उद्योग संघ, डेरी एसोसिएसन, किसानलगायतको प्रतिनिधित्व रहने गरी गठित कमिटीले तयार पारेको प्रतिवेदनका आधारमा मूल्य सिफारिस गरिएको बोर्डको भनाइ छ । मन्त्रालयले समितिले दिएको सुझावसहितको प्रतिवेदनका आधारमा मूल्य समायोजन गर्न लागेको हो ।
अहिले किसानले चिल्लो पदार्थ (एसएनएफ) र ठोस पदार्थ (फ्याट) का आधारमा पैसा पाउने गरेका छन् । सहकारीले किसानलाई प्रतिलिटर औसतमा ५४ रुपैयाँ दिन्छन् । बजार मूल्य भने प्रतिलिटर ७६ रुपैयाँ तोकिएको छ, तर उपभोक्ताले प्रतिलिटर ८० रुपैयाँसम्म तिर्दै आएका छन् ।
साढे २ वर्षअघि प्रतिलिटर ६ रुपैयाँ मूल्य बढेको थियो । त्यसमा ६९ प्रतिशत किसान र ३१ प्रतिशत उद्योगीको मूल्य थियो । ६ रुपैयाँ बढेपछि बजार मूल्य ७६ रुपैयाँ पु¥याइएको बोर्डले जानकारी दिएको छ । अहिले डीडीसीले निलो प्याकेट (आधा लिटर) को मूल्य ३८ रुपैयाँ तोकेको छ । तर उपभोक्ताले प्रतिप्याकेट ४० रुपैयाँमा किनिरहेका छन् । बोर्डले सिफारिस गरेअनुसार मूल्य कार्यान्वयन भए बजार मूल्य प्रतिलिटर ८६ रुपैयाँ पुग्नेछ । तर खुद्रा मूल्य भने ९० रुपैयाँभन्दा माथि हुने देखिन्छ ।
प्रतिवेदनमा पशुलाई खुवाउने आहारा (दाना, चोकर, ढुटो, पिना, पराल र घाँस) को मूल्य धेरै बढेको तर दूधको मूल्य साढे दुई वर्षसम्म यथावत् रहेको हुँदा किसान घाटा खाएर दूध बेच्न बाध्य रहेको उल्लेख छ । विगतमा प्रत्येक वर्ष मूल्य समायोजन हुँदै आए तापनि पछिल्लो समय साढे दुई वर्षयता दूधको मूल्य समायोजन भएको छैन ।
दूध बिक्री गर्दा किसानले प्रतिलिटर चार रुपैयाँ घाटा बेहोर्न पर्ने प्रतिवेदनमा उल्लेख छ । यस अवधिमा औषधि, रेखदेख गर्ने गोठालोको तबल भत्ता, ढुवानी खर्च र अन्य उपकरणलगायतका सामग्रीको मूल्य अकासिएकाले पनि समयानुकूल मूल्यवृद्धि हुन आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका आधारमा नयाँ मूल्य लागू भए किसानलाई लागत खर्च कटाएर प्रतिलिटर तीन रुपैयाँ फाइदा हुनेछ । समितिले इलाम, झापा, सुनसरी मोरङ, सप्तरी, सर्लाही, बारा, मकवानपुर, काभ्रे, चितवन, नवलपरासी, रुपन्देही, कास्की, बाँके, सुर्खेत, कैलाली र कञ्चनपुरका दूध उत्पादक किसान र दुग्ध उद्योगीसँग छलफल र अन्तक्र्रिया गरी प्रतिवेदन तयार गरेको हो ।
दूध व्यवसायले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा पाँच प्रतिशत योगदान पु¥याउँदै आएको छ । नेपालमा वार्षिक २३ लाख एक हजार टन दूध उत्पादन पुगेको तथ्यांक छ । उत्पादनको ४० प्रतिशत गाई र ६० प्रतिशत भैंसीको छ । दूध कृषि उत्पादनको एक मुख्य नगदेबाली हो । दुग्ध व्यवसायले मुलुकका करिब पाँच लाख मानिसलाई प्रत्यक्षरुपमा रोेजगारी प्रदान गरी गरिबी निवारणमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ । प्रतिवेदनमा उल्लेखित तथ्यांकअनुसार हाल वार्षिकरूपमा औसत दुई अर्ब बराबरको विभिन्न दुग्ध पदार्थ आयात हुँदै आएको छ । चकलेट, ल्याक्टोजीन, हर्लिक्सजस्ता अन्य दूध मिश्रण भएका खाद्य पदार्थको समेत हिसाब गर्दा वार्षिकरूपमा चार अर्बसम्मका दुग्ध पदार्थ आयात हुने गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्