बजारमा पिँडालु र तरुलको बढ्दो व्यापार

माघे संक्रान्ति नजिकिनासाथ बजारमा जताततै तरुल, पिँडालु र सखरखण्ड देखिने गर्छ । अघिपछि बजारमा फाटफुट रूपमा मात्रै देखिने तरुललगायत कन्दमूलको व्यापार माघीको अवसरमा व्यापक हुने गर्छ । मानव विकासको सुरुवातमा मानिसले खाने भनिएको कन्दमूलमध्येको एक तरुल पनि हो । तरुलको व्यापार विशेष गरी पुस महिनामा हुने गर्छ । त्यसैले पुसको अन्त्य हुँदै गर्दा राजधानीको मुख्य तरकारी बजार कालीमाटीमा निकै भीड हुने गर्छ ।
ठूलो होलसेल होस् या फुटपाथ तरकारी पसल, जहाँतहीं तरुल, पिँडालु र सखरखण्डले भरिएको देखिन्छ । ‘पुसको पाक्य, माघको खाक्य’ भन्ने भनाइ नेपाली समाजमा निकै प्रचलित छ । पुस मसान्तका दिन उसिनेको तरुल, पिँडालु, सखरखण्डजस्ता परिकार माघे संक्रान्ति अर्थात् मकर संक्रान्तिका दिन खाने प्रचलन रहँदै आएको छ । झनै यस वर्ष माघे संक्रान्ति त्रयोदशी तिथि, शनिबार परेको परेको हुनाले सबै जना घरमा बसी घिउ, चाकु, तिलको लड्डु, सखरखण्ड, पिँडालु र तरुलका साथसाथै मीठा–मीठा पक्वानहरू पकाएर खाएर रमाइलो गरेको तस्बिरहरू विभिन्न सामाजिक सन्जालहरूमार्फत देख्न पाइएको थियो । आफ्नो फेसबुक, ट्विटर र इन्स्टाग्रामजस्ता एपहरू खोल्नासाथ संक्रान्ति मनाइएका तस्बिर तथा भिडियोहरू देखिएको थियो ।
कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा गत वर्षको तुलनामा तरुलहरूको व्यापार बढेको हो । तर, अहिले प्रायः गाडा तथा साइकलवालाहरूले घरघरमा तरकारी तथा अन्य सामानहरू ल्याउने हुनाले बजार निकै प्रतिस्पर्धात्मक भएको हुनाले गत वर्षभन्दा यस वर्ष तरुलको व्यापार बढे पनि मूल्य भने बढ्न सकेको छैन । त्यस्तै बजारमा धेरै किसिमका तरुलहरू पाइन्छ । जस्तै पाल्पाको हात्तीपाइले तरुल, देशी तरुल, वन तरुल, घर तरुल (रातो र सेतो), चितवनको पताले तरुल, सिमल तरुल पनि बजारमा पाइने गरिन्छ । तर, यस वर्ष काठमाडौंमा सर्लाही र चितवनको तरुल बढी मात्रामा भित्रिएको व्यापारीहरूको भनाइ छ । नाममा भिन्नता भएजस्तै त्यसको स्वादमा पनि भिन्नता रहेको छ ।
सेतो तरुलको दाँजोमा रातो तरुल महँगो हुनुका साथै धेरै स्वादिष्ट हुने हुनाले अझै बढी मात्रामा यसको माग हुने गर्छ । किनकि तरुललाई उसिनेर खाने मात्र नगरी तरकारीको रूपमा पनि प्रयोग गरिन्छ । त्यसैले अहिले बजारको माग हेरेर व्यवसायीहरूले तरुल खेती पनि गर्दै आएका छन् भने पिँडालु सहजै पाइने र स्वादिलो तरकारी हो । यसलाई उसिनेर, फलहारको रूपमा खान सकिन्छ । तरकारी बनाउन र अचारको रूपमा स्वाद फेर्न पनि सकिन्छ । यसलाई आलुमा मिश्रण गरौं वा दालमा, स्वाद दुई गुणा बढ्छ । पिँडालु मात्र होइन, त्यसको डाँठ र पाँतको (कर्कलो वा गाभा) समेत विभिन्न परिकार बन्छ ।
पिँडालु र तरुल खानाले स्वास्थ्यमा कुनै हानि नगर्ने र मुख्य कुरा जुनसुकै सब्जीमा मिसाउँदा पनि स्वादिलो हुने हुनाले यसको माग बढ्दो हुने गर्छ । पिँडालुमा फाइबर, एन्टिअक्सिडेन्ट, प्रोटिन, पोटासियम, भिटामिन ए र सी, क्याल्सियम, आइरनजस्ता पोषक तत्व हुन्छ । यसमा प्राकृतिक फाइबर रहन्छ, जसले शरीरमा ग्लुकोज र इन्सुलिनको मात्रा उचित स्तरमा बनाइराख्छ । खासगरी मधुमेह रोगीले पिँडालुको सेवन गर्नैपर्छ । त्यस्तै तरुल स्वास्थ्यका लागि लाभदायक खाद्यपदार्थ हो । कोरिया र जापानमा सदियौंदेखि यसलाई आयुर्वेदिक औषधिका रूपमा पनि प्रयोग गरिँदै आएको छ । यसमा प्रशस्त मात्रामा फाइबर, भिटामिन बी ६, एन्टिअक्सिडेन्टजस्ता पोषक तत्व पाइन्छ ।
तरुल खानाले मस्तिस्कको विकास र बुझ्ने क्षमतामा सुधार आउनुका साथै छाला तथा श्वास–प्रश्वाससम्बन्धी समस्याका लागि राम्रो मानिन्छ । स्वास्थका लागि लाभदायक अनि स्वादिष्ट हुनुका साथै जेमा मिसाउँदा पनि मीठो हुने हुनाले बजारमा यसको माग सधैं उच्च हुने गर्छ ।