Logo

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव


सरकारले प्रशोधित दूधको मूल्य बढाउने प्रक्रिया अघि बढाएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने गरी सिफारिस समेत गरिसकेको छ ।
बोर्डले किसान, डेरी उद्योग, दुग्ध विकास संस्थान (डीडीसी) र विज्ञको सहमतिमा दूधको मूल्य बढाउन प्रस्ताव गरेको जानकारी दिएको छ । बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले सबै सरोकारवाला निकायको सहमतिमा प्रतिलिटर १० रुपैयाँ मूल्य प्रस्ताव गरिएको जानकारी दिए । “किसानको लागत मूल्यको आधारमा मूल्य प्रस्ताव गरेर पाएका छौं,” उनले भने, “कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले दूधको मूल्य निर्धारण गरेपछि लागु हुन्छ ।”
किसानको लागत मूल्य बढ्दै गएको र लामो समयसम्म मूल्य नबढेकाले दूधको मूल्य बढाउन किसान तथा उद्योगीले माग गरेका थिए ।
राष्ट्रिय दुग्ध विकास बोर्डले किसानको दूधको लागत मूल्य कति रहेछ भनेर विभिन्न २६ जिल्लामा अध्ययन गरेको थियो । बोर्डको सिफारिसमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले दूधको मूल्य निर्धारण गर्ने गर्छ । दाना, चोकर, डिजेलको मूल्य बढेकाले दूधको मूल्य बढाउन किसान र उद्योगबाट प्रस्ताव आएको बोर्डको भनाइ छ । विगत साढे दुई वर्षदेखि दूधको मूल्य नबढेको भन्दै किसानले बढाउन माग गदै आएका छन् ।
सरकारी नियम अनुसार दूधको मूल्य वृद्धि हुँदा वृद्धि हुने रकमबाट ६९ प्रतिशत किसानलाई र बाँकी ३१ प्रतिशत उद्योगलाई जाने व्यवस्था छ । नेपालमा वार्षिक २४ लाख टन दूध उत्पादन हुन्छ । यसमध्ये औपचारिक क्षेत्रमा १५ देखि १७ प्रतिशत मात्रै दूध आउँछ । बाँकी स्थानीय तहमै खपत हुने गर्छ । पहुँच मार्ग र ढुवानी साधनको अभावका कारण उत्पादित दूध बजारमा आउन सकेको छैन । अहिले किसानले प्रतिलिटर दूधमा ५५ देखि ६० रुपैयाँमा पाउँछन् । बजारमा उपभोक्ता मूल्य भने प्रतिलिटर ८० रुपैयाँ छ ।
डीडीसीले किसानको दूध खरिद गरेर रकम भुक्तानी गर्ने गर्छ । लामो समय डीडीसीले दूधको रकम भुक्तानी नगर्दा व्यवसाय सञ्चालन गर्न कठिन भएको किसानको गुनासो छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर आवश्यक पर्नेमा हाल नेपालमा ७९ लिटर उपलब्धता रहेको छ । अझै दूधको उत्पादन बढ्न सकेको छैन ।
पछिल्लो समय दाना, चोकरको मूल्य वृद्धि भएको किसानको भनाइ छ । दूधको लागत खर्च महँगिएर धान्नै नसक्ने अवस्था आइपुगेको भन्दै केन्द्रीय दुग्ध उत्पादक सहकारी संघले पछिल्लो समयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा लबिङ गर्दै आएको थियो । सबै वस्तुको मूल्य वृद्धि भए पनि पछिल्लो ३ वर्षदेखि दूधको मूल्य समायोजन भएको थिएन ।

प्रतिक्रिया दिनुहोस्