Logo

कोभिडका कारण माघीको रौनक आएन दाङमा

file photo

दाङ-थारु वस्तीमा अघिल्ला वर्षको जस्तो यस वर्ष माघी पर्वको रौनक आएन । माघीको अवसरमा हुने नाचगान तथा महोत्सव पनि भएका छैनन् । यस वर्ष माघी सुन सान भएको थारु अगुवाहरु बताउँछन् ।
थारु समुदायको ठूलो तथा महत्वपूर्ण चाडको रुपमा माघी पर्व मनाउने गर्दछन् । तीन दिन सम्म धुमधामसँग मनाउने यो पर्वमा थारु समुदायले माघी पर्वलाई नयाँ वर्षको रुपमा मनाउँछन् । माघ १ गते देखि थारु सम्वत् एवम् थारु समुदायको नयाँ वर्ष सुरु हुने गरेको छ । माघी पर्व सुरु भएसँगै थारु बस्तीमा माघीको चहल पहल बढने भएता पनि यस बर्ष पछिल्लो समय वढेको कोभिड १९ को संक्रमणका कारण माघी पर्वको रौनक भने छैन । तर सबै भन्दा ठूलो पर्व भएकाले थारु समुदायले माघीलाई धुमधामसँग मनाउने तयारी गरेका छन् । यो समुदायका अगुवाहरुका अनुसार माघीको पहिलो दिन अर्थात पुस महिनाको अन्तिम दिन वर्ष दिनको दुःख, पीडा भुलेर मिठो खाने, नाचगान गर्दै रमाउने चलन रहेको छ । यो दिन हरेक थारु गाउँमा सुँगुर मारिएको हुन्छ । विशेष गरेर सँगङ्गुरको मासु लगायतका परिकार खाने र रमाउने चलन छ । माघीको पहिलो दिनलाई थारु भाषामा ‘जिता मर्ना’ दिन भनिन्छ ।
पुस महिनाको अन्तिम रात्रि गाउँघरका अगुवा, भलमन्सा लगायतको घरमा खानपान गर्ने, जाग्राम बस्दै नाचगान गर्ने, डफको तालमा मौलिक धमार गीत गाउने लगायतको कार्य हुने गरेको छ । त्यसपछि माघ १ गते अर्थात माघे सङक्रान्तिका दिन विहानै नदी, ताल, पोखरीमा नुहाउने गरिन्छ । यसरी, माघे सङक्राान्तिको दिन विहानै स्नान गर्नाले पूण्य प्राप्ती हुने जन विश्वास रहेको थारु अगुवाहरु बताउछन् । माघे सङ्क्रान्ति अर्थात नयाँ वर्षको दिन आफ्नो परिवार, इष्टमित्र, आफन्त सबैलाई भेटघाट गर्दै माघीको शुभ कामना आदान प्रदान गर्ने गरिएको थारु अगुवा लक्ष्मीमान चौधरीले बताए ।
यस बर्ष थारु समुदायले कार्यक्रमहरु कहिकतै नगरेपनि आ–आफनो घरमा रमाइलो गरेर माघी मनाउन लागेको चौधरीले बताए । थारु कल्याणकारीले पनि कार्यक्रम आयोजना गरेन । घरेक वर्ष माघी महोत्सव आयोजना गरेपनि पछिल्लो समय कोभिडको कारण महोत्सव हुन सकेको छैन । ‘विगत वर्षमा ठाउँमा–ठाउँमा मेला, महोत्सव लागेका कारण चहल पहल हुने गरेको थियो यस बर्ष छैन,’ चौधरीले भने ।
माघीलाई मुक्त कमैया र मुक्त कमलरीले स्वतन्त्रताको पर्वको रुपमा पनि मनाउने गरेका छन् । माघी पर्वले परिवार, इष्टमित्र बीच मेलमिला बढाउने, आपसी सम्बन्ध अझ सु–मधुर बनाउने गरेको बताइन्छ । माघी पछि थारु समुदायमा विवाह, अङ्शवण्डा लगायतका कार्यको थालनी गरिन्छ । यस वर्षको माघीमा सुनसान जागाराम बस्ने मतवा छाने, बरघर छाने गाउँघरमा कस्तो काम गर्ने भने योजना बनाइन्छ । माघलाई विभिन्न ठाउँका थारू समुदायले आ–आफ्नो परम्परा अनुसार माघ, खिचरा, तिला सङ्कराइत नामले मनाउँदै आएको पाइन्छ । केही वर्ष पहिले थारू समुदायका अधिकांश छोरीहरु कमलरी थिए । उनीहरु माघका दिनमात्रै छुट्टी पाउँथे त्यसैले यसलाई मुक्ति दिवसका रुपमा पनि मनाइन्छ । यसपालि कोरोनाका कारण नाचगानको कार्यक्रम छैन तर खानाको परिकार बनाउन भ्याइ नभ्याइ छ । कामको सिलसिलामा घरदेखि टाढा भएका दाजु भाइ, दिदी बहिनी घरमा आउनेको सङया बढेको छ । गाउँमा छुट्टै चहलपहल र भेटघाट भएकाले रमाइलो छ । थारू कल्याणकारी सभा दाङका सभापति भुवन चौधरीले थारू समुदायको महान् पर्वलाई मानिसले माघी भन्ने गरे पनि बास्तवमा यो पर्व (माघ) भएको बताए । माघी थारु समुदायको ठुलो चार्ड भएको उनले बताए । माघीको लागि थारु समुदायले १ महिना अघि देखि नै तयारी गर्ने गरेको सभापती चौधरी बताउँछन् ।
यसैबीच लुम्बिनी प्रदेश सरकारले माघे सङक्रान्ति पर्वको अवसरमा माघ २ गते प्रदेश भरि सार्वजनिक बिदा दिने निर्णय गरेकोे छ । त्यस्तै दाङ जिल्लाका विभिन्न धार्मिक स्थलमा लाग्ने माघे सङक्रान्ति (माघी) मेला प्रभावित हुने भएका छन् । बाह्रकुने दह र लमही नगरपालिका–९ स्थित बगारबाबा धार्मिक स्थल रिहारमा हरेक वर्ष माघ १ गते मेला लाग्ने गर्छन । यो वर्ष यी दुवै स्थानमा जन स्वास्थ्यको सुरक्षा कारण देखाएर मेला नलाग्ने भएको हो । जिल्ला प्रशासन कार्यालय दाङको निर्देशन अनुसार मेला नलाग्ने तर भौतिक दूरी र सुरक्षाको मापदण्डको पालना गरी दर्शन र पूजा भने गर्न पाउने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्