महँगी पाँच वर्षकै उच्च

चालु आर्थिक वर्षको पहिलो ५ महिनाको मुद्रास्फीति ७.११ प्रतिशत पुगेको छ । यो मुद्रास्फीति विगत ५ वर्षकै उच्च हो ।
चालु वर्षमा सरकारले ६.५ प्रतिशत मुद्रास्फीति कायम गर्ने लक्ष्य लिए पनि पहिलो ५ महिनामै मुद्रास्फीति ७ प्रतिशतभन्दा माथि पुगेको छ । आर्थिक वर्ष २०७७-०७८ को सोही अवधिमा मुद्रास्फीति २.९३ प्रतिशत थियो ।
विगत ५ वर्षमा मुद्रास्फीतिको अवस्था हेर्ने हो भने यस वर्ष निकै बढेको देखिन्छ । आर्थिक वर्ष २०७६-०७७ को पहिलो पाँच महिनामा मुद्रास्फीति ६.५५ प्रतिशतले बढेको थियो भने आव २०७५-०७६ तथा २०७४-०७५ को सोही अवधिमा मुद्रास्फीति क्रमश ३.७१ र ४.१९ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
अर्थशास्त्री प्रा.डा. शिवराज अधिकारी चालु वर्षमा मुद्रास्फीतिले दोहोरो अंक छुन सक्ने बताउँछन् । बजारमा दुई तरिकाले मूल्यवृद्धि भइरहेको बताउँदै अधिकारीले सचेत हुनुपर्नेमा जोड दिए । उनका अनुसार वस्तु तथा सेवाको माग बढ्दा र उत्पादन लागत बढ्दा वस्तु तथा सेवाको मूल्यवृद्धि हुने गरेको छ । त्यसमा पनि यसपटक मूलतः माग बढेका कारण मूल्य वृद्धि अकाशिएको हो । “आन्तरिक उत्पादन र आयात गरेर मागको आपूर्ति हुन्छ । हाम्रो माग बढेको बढेको बढ्यै छ तर, वस्तु तथा सेवाको उत्पादन पहिलाको अवस्थामा छैन । त्यसकारणले मूल्यवृद्धि भएको छ,” उनले भने । आन्तरिक उत्पादन नहुँदा आयात गर्नुपर्ने र अन्तर्राष्ट्रिय बजारमा नै महँगी बढिरहेका कारण पनि आयातित वस्तुको मूल्य बढिरहेको उनको तर्क छ । आन्तरिक उत्पादन पनि कोरोनालगायत विभिन्न कारणले महँगो हुँदा मुद्रास्फीति बढेको अधिकारीले बताए ।
अर्थविद् प्रा.डा. गोविन्द नेपालले भने उपभोक्ताले निकै धेरै मूल्यवृद्धि झेलिरहेको बताउँदै ७ प्रतिशतको मूल्य वृद्धिले आश्चर्यमा नपरेको बताए । “जनताले दैनिक जीवनमा भोगेको मूल्य वृद्धि निकै धेरै छ । आज बजारमा हाहाकारको स्थिति छ । आफ्नो आम्दानी र खर्च मिलान गर्न नसकेर मानिस निकै असुरक्षित महसुस गरिरहेका छन् ।” उपभोग्य मूल्य सूचीमा राखिएका उपभोग्य वस्तुले वास्तविक मूल्य नदेखाएको बताउँदै उनले त्यसमा केही परिवर्तन गर्नुपर्ने सुझाव दिए । आयातमा भइरहेको वृद्धि तथा खाद्यान्नमा भएको अनियन्त्रित मूल्यवृद्धिले महँगी बढाएको नेपालले बताए । त्यसमाथि पेट्रोलियम पदार्थको मूल्य झण्डै दोब्बर हुन पुग्दा मूल्यवृद्धि पनि नियन्त्रण भन्दा माथि पुगेको उनको तर्क छ । देशमा आउँदै गरेको चुनाव र कोरोनाको प्रभावले मूल्यवृद्धि झन् बढाउने उनी बताउँछन् । “वैशाख-जेठमा स्थानीय तहको चुनाव भयो भने त्यसले पनि धक्का हान्छ । कोरोनाका कारण उत्पादन घट्ने तर, आपूर्ति स्थिर रहने भयो भने यसैलाई बहाना बनाएर मूल्य वृद्धि हुने देखिन्छ,” उनले भने ।