Logo

लघु–घरेलुभन्दा साना उद्योगमा आकर्षण

लघु, घरेलु र साना उद्योगलाई एकै प्रकृतिको भन्दै सरकारले समान व्यवहार गर्ने गरे पनि यी तीन वर्गमध्ये लघु र घरेलुभन्दा साना उद्योगमा आकर्षण बढी देखिएको छ । उद्योग विभागका अनुसार लघु उद्योगभन्दा साना उद्योग ११ गुणा बढी स्थापना भएका छन् भने घरेलु उद्योगको तुलनामा साना उद्योगको संख्या १९ गुणा बढी छ ।
विभागका अनुसार मुलुकभर हालसम्म साना उद्योगको संख्या ४ लाख २८ हजार ५ सय ९० रहेको छ भने लघु उद्योगको संख्या ३७ हजार ३ सय ८९ मा सीमित छ । यस्तै, घरेलु उद्योगको संख्या यसभन्दा पनि कम अर्थात २१ हजार ६ सय ६४ मात्र छ । विभागले हालै सार्वजनिक गरेको लघु, घरेलु तथा साना उद्योग तथ्यांकअनुसार लघु र घरेलुको तुलनामा साना उद्योगका उच्च आकर्षण देखिएको हो ।
विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीका अनुसार दर्ता भएका लघु, घरेलु तथा साना उद्योगमध्ये प्राइभेट फर्मको संख्या अत्यधिक छ भने साझेदारी फर्म र प्रालि न्यून संख्यामा छन् । आव २०७७-०७८ सम्ममा प्राइभेट फर्मतर्फ ३ लाख ८२ हजार ६५ संख्यामा साना उद्योग स्थापना भएकोमा १९ हजार २ सय ७५ घरेलु र ३६ हजार ८ सय ४ लघु उद्योग स्थापना भएका छन् ।
यस्तै, १८ हजार ७ सय ७१ साना साझेदारी फर्म स्थापना भएका छन् भने एक हजार ३ सय १४ घरेलु र ५ सय ३२ लघु उद्योग खुलेका छन् । प्रालितर्फ भने २७ हजार ७ सय ५५ साना, १ हजार ७५ घरेलु र ३८ लघु उद्योग स्थापना भएको विभागले विभिन्न जिल्ला तथा प्रदेशबाट संकलन गरेको तथ्यांकमा उल्लेख छ ।
औद्योगिक व्यवसाय ऐन २०७६ ले गरेको वर्गीकरण अनुसार घर जग्गा बाहेक बढीमा २० लाख रुपैयाँसम्मको स्थिर पूँजी रहेका उद्योगलाई लघु उद्योगको मान्यता दिइएको छ । घरेलु उद्योगका लागि पुँजीको आकार तोकिएको छैन । तर, यसका लागि परम्परागत सीप र प्रविधिमा आधारित हुनुपर्ने तथा श्रममूलक र खास सीप वा स्थानीय कच्चा पदार्थ एवं स्थानीय प्रविधि, कला तथा संस्कृतिमा आधारित हुनुपर्ने शर्त राखिएका छन् । यस्तै इञ्जिन, उपकरण वा मेसिनको प्रयोग गरेको भएमा बढीमा ५० किलोवाटसम्मको क्षमताको विद्युतीय ऊर्जा प्रयोग गरेको हुनुपर्ने उल्लेख छ ।
साना उद्योगका लागि भने लघु उद्यम र घरेलु उद्योग बाहेक १५ करोड रुपैयाँसम्म स्थिर पूँजी भएको उद्योगलाई साना उद्योग मानिएको छ । सरकारले लघु, घरेलु तथा साना उद्योगलाई समान सुविधा उपलब्ध गराउने भए पनि मझौला उद्योगले समेत पुँजी घटाएर साना उद्योगको सुविधा लिने गरेको व्यवसायीहरु बताउँछन् । औद्योगिक व्यवसाय ऐनले मझौला उद्योगका लागि १५ करोड रुपैयाँभन्दा बढी र पचास करोड रुपैयाँसम्म स्थिर पूँजी भएको उद्योगलाई आधार मानेको छ । ठूला उद्योगका लागि भने ५० करोड रुपैयाँभन्दा बढी स्थिर पूँजी भएको हुनुपर्ने उल्लेख छ । लघु घरेलु र साना उद्योगलाई आय करमा छुट हुने भएकाले मझौला उद्योगले पनि पुँजी घटाएर यस्तै उद्योगमा सूचीकृत हुँदा संख्या ठूलो देखिएको व्यवसायीको भनाइ छ । यस्तै, कर्जाको ब्याजदरमा छुट तथा अन्य विभिन्न कोषबाट समेत कर्जा पाउने भएकाले यो वर्गका उद्योग व्यवसायमा लगानीकर्ता आकर्षित देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्