विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय सदर «

विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय सदर


कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमण पुनः बढ्दै गएको जनाउँदै केही समयका लागि विद्यालय बन्द गर्न गरेको सिफारिसअनुसार आज (मंगलबार) बाट देशभरका विद्यालय बन्द हुने भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस २७ गतेदेखि माघ १५ सम्म बिदा दिने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दिपक शर्माले देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरुलाई आगामी माघ १५ सम्म हिउँदे बिदा दिन अनुरोध गरिएको बताए ।
सीसीएमसीले देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरुले यो बिदालाई हिउँदे बिदा मिलान हुने गरी व्यवस्थापन गर्न सिफारिस गरेको थियो ।
कोभिड बढ्दै जाने देखिएपछि सरकारले सबै अभिभावकहरुलाई आफ्ना छोराछोरी विद्यालय नपठाउन अनुरोध गरेको छ ।
हिउँदे बिदाकै अवधिमा १२ वर्ष देखि १७ वर्षसम्मका विद्यार्थीहरुलाई र १८ वर्षभन्दा माथिका सबै उमेर समूहका खोपको पूर्ण मात्रा नलगाएका शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई खोप उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक खोप आपूर्ति गर्न सिफासिस गरिएको छ । यसका लागि जिल्ला खोप समन्वय समितिले प्राथमिकताका साथ अभियान संचालन गर्न सहजीकरण गर्नेछ । यस कार्यमा प्रदेश सरकारहरु सहयोग र सहजिकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मार्फत तथा सबै स्थानीय तहहरुलाई विगतमा झैं आवश्यक सहयोग तथा सहजिकरण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत अनुरोध गरिएको छ ।
विगत केही दिनयता कोभिड–१९ को संक्रमण तीव्र रूपमा फैलिनुका साथै ओमिक्रोन भेरियन्टको संक्रमण समेत पुष्टि भएका कारण विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा वचावटको विषयलाई विशेष ध्यान विद्यालय बन्द गरेको मन्त्रालयले जनाएको छ ।
विदाको उक्त अवधिमा १२ वर्ष देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई सबै स्थानीय तहमा रहेको स्वास्थ्य चौकी मार्फत खोप लगाउने कार्यक्रम रहेकोले विद्यालयसँग सम्पर्क गरी तोकिएको दिनमा खोपलगाउने कार्यमा आफ्ना बालबालिकाहरूलाई पठाइदिनन सबै अभिभावकहरूमा अनुरोध गरिएको छ । विदाको अवधिमा विद्यालयहरूले सिकाइ सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रवन्ध मिलाउनु तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले पूर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षाका कार्यक्रमहरू जनस्वास्थ्य र सुरक्षाका मापदण्डहरू पूर्ण रूपमा पालना हुनेगरी जेड आकारमा बसाइ व्यवस्था गरी सञ्चालन गर्ने गरी प्रबन्ध गर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्