जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको नयाँ व्यापार योजना
जडीबुटीको बजार युरोपसम्म पुर्याउने योजना

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले स्वदेशी जडीबुटी र जडीबुटीजन्य वस्तुको उत्पादन बढाएर यसको बजार युरोपसम्म पु¥याउने लक्ष्यका साथ नयाँ व्यापार योजना तय गरेको छ । जडीबुटीको व्यापार विस्तार गर्दै कम्पनीको मुनाफा बढाउन र जडीबुटीबाट नै मुलुकको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ कम्पनीले योजना बनाएको हो ।
सरकारी स्वामित्वमा रहेको कम्पनी कुनै समय घाटामा जाँदा कर्मचारीलाई उपदान दिन समेत जग्गा बेच्न बाध्य भएको थियो । तर तीन वर्षयता नाफामा जान थालेपछि कम्पनीले थप मुनाफा आर्जन गर्ने लक्ष्यका साथ जडीबुटीको नयाँ बजार खोज्न लागेको हो । युरोपमा जडीबुटीजन्य वस्तुको माग बढ्न थालेपछि कम्पनी थप उत्साहित बनेको छ । कम्पनीले उत्पादन गरेका जडीबुटी तथा जडीबुटीजन्य वस्तुको व्यापारिक बजार स्वदेशमै खुम्चिए पनि अब अन्तर्राष्ट्रिय स्तरमा बजार विस्तार गर्ने लक्ष्यले कम्पनीले वार्षिक १ अर्ब रुपैयाँ नाफा कमाउन सक्ने अनुमान गरिएको छ ।
वन तथा वातावरण मन्त्रालयका सहसचिव तथा कम्पनीका अध्यक्ष डा. सिन्धुप्रसाद ढुंगानाले झन्डै ४ दशकसम्म घाटामा रहेको कम्पनी ३ वर्षयता लगातार नाफा कमाएपछि उत्साहित भएको बताए । “कम्पनीको उत्पादन बढाएर विदेशमा बजार विस्तार गर्ने लक्ष्यका साथ नयाँ व्यापार योजना तय गरेका हौं,” उनले भने, “युरोपको बजारमा जडीबुटीजन्य उत्पादन प्रदर्शनीमा राखेर परीक्षण पनि गरेका थियौं, धेरै माग आयो । यसकारण अब अर्गानिक सर्टिफिकेसन गरेर जडीबुटीको बजार विस्तार गर्नेछौं । निर्यातका लागि बाटो खुलाउन कम्पनीलाई भ्याटमा दर्ता गरेका छौं ।”
कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले उत्पादनमा वृद्धि र स्रोतसाधनको उचित प्रयोग गर्दै आफ्नो उत्पादनको बजार विस्तार युरोपसम्म लैजाने बताए । “जडीबुटीजन्य कस्मेटिक सामान र औषधिमा राज्यको खर्बौं रुपैयाँ बाहिरिएको अवस्था छ । अब स्वदेशमा नै हामी यसको उत्पादन बढाउनेछांै र युरोपसम्म पनि बजार विस्तार हुनेछ,” उनले भने, “३ वर्षपछि वार्षिक १ अर्बको कारोबार गर्ने लक्ष्य लिएका छौं र थप १० हजारलाई रोजगार दिलाउने छौं ।”
कार्कीका अनुसार ७ वटै प्रदेशमा प्रशोधन प्लान्ट राख्ने, मुनाफा बढ्न थालेपछि आईपीओ खुलाउने, स्थायी कर्मचारीका लागि दरबन्दी थप गर्ने योजना छ । “जडीबुटीजन्य उत्पादन जस्तै मञ्जन, स्याम्फु, साबुन तथा अन्य कस्मेटिक सामानहरु, सन्चोको उत्पादन बढाउने लक्ष्यका साथ काम भइरहेको छ,” उनले थपे ।
हाल ३०० वनस्पति व्यापारिक रुपमा प्रयोग भइरहेको छ । कार्कीका अनुसार कम्पनीले १३ प्रकारका सुगन्धित तेलजन्य जडीबुटीको कारोबार गरिरहेको छ । वन तथा वातावरण मन्त्रालयको स्वामित्वमा रहेको कम्पनीले ३ वर्ष अघिसम्म वार्षिक करिब ४ करोड घाटा सहनुपरेको थियो । मन्त्रालयका अनुसार कम्पनीले आव २०७५÷०७६ देखि मुनाफामा पहिलोपटक एक करोड ९२ लाख कमाएको थियो । आव २०७६÷०७७ मा कम्पनीले एक करोड २२ लाख नाफा कमाएको थियो । आव २०७७÷०७८ को अहिले लेखापरीक्षणको काम भइरहेको छ ।
पछिल्लो समय जडिुबटीको माग अन्तर्राष्ट्रिय बजारमा बढ्न थालेपछि जडीबुटी उत्पादक, व्यवसायी तथा सरकार थप उत्साहित बन्न थालेका छन् । जडीबुटी उत्पादक संघका निवर्तमान अध्यक्ष गोविन्द घिमिरेले युरोपियन बजारमा स्वदेशी जडीबुटी व्यापारको राम्रो सम्भावना रहेको बताए । “युरोपमा मसला, सुगन्धित तेलको बढी माग रहेको छ,” उनले भने, “माग बढिरहेकाले उत्पादन पनि बढाउनुपर्ने आजको आवश्यकता हो, जडीबुटीको व्यापार बढाउन कानुन खुकुलो बनाउनुपर्छ र मूल्यवान बनाउन प्रविधि विकासमा जोड दिन आवश्यक छ ।”