प्रभु बैंकको १२ प्रतिशत बोनस सेयर प्रस्ताव पारित «

प्रभु बैंकको १२ प्रतिशत बोनस सेयर प्रस्ताव पारित

प्रभु बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । विभिन्न निर्णयहरू पारित गर्दै साधारणसभा सम्पन्न भएको बैंकले जनाएको छ ।
बैंकको सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाको अध्यक्षतामा काठमाडौं बबरमहलस्थित बैंकको प्रमुख कार्यलयमा सभा आयोजना गरिएको हो । सभामा समितिको प्रतिवेदनसहित गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरू पारित गरेको छ । साथै, सो वार्षिक साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटलको गत आर्थिक वर्ष २०७७÷०७८ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ ।
सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सोहि आर्थिक वर्षमा कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने–गाभिने, एक्विजिशन तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन, बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्ती गर्ने र समझदारी पत्र तर्जुमा गरी प्रक्रिया अगाडी बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय समेत पारित गरेको छ ।
१२ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय पारित गरेपछि बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार १ सय ७५ रुपैयाँ पुगेको छ । देशका विभिन्न स्थानमा शाखारहित बैंकिङ सेवा, ६१ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १८९ वटा एटीएम तथा २१५ वटा शाखा कार्यालयसहित देशभर फैलिएको बैंकिङ सञ्जालको माध्यमबाट १६ लाखभन्दा बढी ग्राहकलाई सेवा पु¥याइरहेको बैकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्