पुँजीगत खर्चमा सरकारको तदारूकता देखिएन : गोल्छा «

पुँजीगत खर्चमा सरकारको तदारूकता देखिएन : गोल्छा


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राजस्व संकलनमा तदारुकता देखाएजस्तै पुँजीगत खर्चमा सरकारले तदारूकता देखाउन नसकेको बताएका छन् ।
तरलताको समस्या पेचिलो बन्दै गएको अहिलेको समयमा सरकारको पुँजीगत खर्च मात्र बढन सकेपनि त्यसले केही सहयोग गर्ने उनले बताए ।
भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा महासंघले गरेको कार्यक्रममा अध्यक्ष गोल्छाले कोभिडले थलिएको अर्थतन्त्रले केही गतिलिन खोजेको बेला तरलताको अभावले समस्या उत्पन्न भएको बताए ।
निजी क्षेत्रलाई पनि व्यापारमुखी मात्र भएको, उत्पादनमुुखी क्षेत्रमा लाग्न नसकेको भन्ने आरोप लाग्ने गरेको भन्दै उनले यो केही हदसम्म सत्य भएपनि निजी क्षेत्र उपयुक्त वातावरण पाएमा उत्पादनमुुखी क्षेत्रमा केन्द्रीत हुन तयार रहेको दावी गरे ।
अध्यक्ष गोल्छाले आर्थिक गतिविधि बढ्न लागेको, आन्तरिक पर्यटन विस्तारै अगाडी बढ्ने तरखरमा रहेको बेला पुनः कोभिडको अर्को भेरियन्टले विश्वलाई नै तर्साएको बताए ।
अर्थतन्त्रको विस्तार, रोजगारी सृजना, निर्यात अभिवृद्धि गर्ने लक्ष्यका साथ महासंघले ल्याएको भिजन पेपर नेट २०३० को सफल कार्यान्वयनमा महासंघको सिंगो सञ्जालको कार्यगत एकता, सहकार्य, स्वामित्व आवश्यक रहेको उनको भनाइ छ ।
भक्तपुर उद्योग वाणिज्य संघले महासंघका हरेक कार्यमा सहयोग गर्दै आएकोमा त्यसको प्रशंसा समेत गरे । उनले भक्तपुरको प्रमुख सामथ्र्य पर्यटन, हस्तकला, कला संस्कृति नै रहेकाले यी क्षेत्रको विकासमा संघले नविनतम सोचका साथ काम गर्न आग्रह गरे । भक्तपुरको ऐतिहासिक महत्वलाई उजागर गर्ने र पर्यटन पूर्वाधार विकासमा संघले नेतृत्वदायी भूमिका निर्वाह गर्न सुुझाव दिँदै उनले संघले थालेका सवै कार्यमा महासंघले सहयोग गर्ने प्रतिवद्धता जनाए ।
महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन काम गरेर देखाउन जरुरी रहेको बताए । सानो ठाउँमा पनि ठूलो काम गर्न सकिने उदाहरण दिँदै उपाध्यक्ष श्रेष्ठले क्षेत्रफलका हिसाबले उस्तै माल्टा देशले प्रति वर्ष २२ लाख पर्यटक भित्र्याउने गरेको भन्दै भक्तपुरसँग पनि त्यो सम्भावना प्रवल रहेकाले यसमा केन्द्रीत हुन सुुझाव
दिए ।
स्थानीय निकायबाट अव्यवहारिक रुपमा उठाइएका करका सम्बन्धमा महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकेको पनि उनले स्पष्ट पारे । महासंघको सञ्जालभित्रका सबै सदस्यको महत्वलाई अझ बढाउने गरी कार्य गर्न वर्तमान नेतृत्व लागेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ । उद्योग व्यवसाय विकासका लागि अवरोध वनेका ऐन कानूनको संशोधन, पुर्नलेखनका लागि महासंघले सरकारसँग निरन्तर छलफलमा रहेको उनले बताए ।
महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले भक्तपुर कला, संस्कृति, मौलिकतामा सम्पन्न रहेकाले अहिलेको युवा टीमले त्यसैको आधारमा काम गर्नुपर्ने सुुझाव दिए । उनले विगतमा भक्तपुर ताजा तरकारीका लागि निकै प्रशिद्ध रहेको पनि चर्चा गरे । कुनै समय कृषिका लागि अब्बल मानिएको भक्तपुर यतिखेर पर्यटनको बढी सम्भाव्यता बोकेको जिल्ला भएकाले आफूमा जे सामथ्र्य छ त्यसैको विकासमा लाग्नुुपर्ने उनले सुझाव दिए ।
संघका नवनिर्वाचित अध्यक्ष शिवप्रसाद मानन्धरले संघले महासंघसँग संस्थागत सहकार्य गर्दै आएको र आफ्नो कार्यकालमा पनि त्ययसले निरन्तरता पाउने बताए ।
स्थानीय निकायले जथाभावी उठाएका करहरु रोकिनुुपर्ने र चेम्बर कानून ल्याउनुु पर्नेमा जोड दिँदै उनले त्यसमा सहयोग गर्न आग्रह गरे । कोभिडले थलिएको अर्थतन्त्रको पुनरुत्थानका लागि महासंघले ल्याउने कार्यक्रममा संघकातर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्