Logo

‘तत्काल मेलम्चीको पानी ल्याएर भट्टराईको सपना पूरा गर्छु’

नेपाली कांग्रेसका सहमहामन्त्री तथा नेपाल सरकारका खानेपानीमन्त्री उमाकान्त चौधरीले राजधानी काठमाडौबासीलाई मेलम्चीको पानी चाँडोभन्दा चाँडो पूरा गर्नका लागि आफूले गृहकार्य गरिरहेको बताएका छन् ।
नेपाल निजामती कर्मचारी युनियन, खानेपानी मन्त्रालय विभागीय कार्यसमितिको आठौं विभागीय अधिवेशनको आइतबार उद्घाटन गर्दै मन्त्री चौधरीले भने, “पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईको सपना पूरा गर्न पनि मैले मेरै कार्यकालमा राजधानीबासीलाई मेलम्चीको पानी खुवाउँछु ।”
मन्त्री चौधरीले विगतको सरकारको जस्तो हतारमा लतार गरेर काम गर्ने पक्षमा आफू नरहेको भन्दै कांग्रेसको सरकारको पालामा काम हुने तर हतारमा विगतका सरकारले उद्घाटन गर्ने क्रियाकलापले विकृति र विसंगति नै फैल्याएको बताए ।
कर्मचारीको सहयोगमा काठमाडौंबासीलाई चाँडोभन्दा चाँडो मेलम्चीको पानी खुवाउने आफ्नो योजना रहेको भन्दै मन्त्री चौधरीले आफूहरूले बनाएको नियम, कानुन र योजना कार्यान्वयन गर्ने जिम्मेवारी कर्मचारीको भएको बताए ।
‘निजामतीकर्मचारी भनेकै सरकारको मेरुदण्ड हो । निजामतीकर्मचारी युनियन नेपाली कांग्रेसको शुभेच्छुक संगठन भएर दिएको योगदान सरकारलाई समेत सहयोग हुन्छ,” मन्त्री चौधरीले भने, “कर्मचारीको सेवा सुविधा, पेशागत हकहितको लागि युनियनको माग पूरा गराउन म तयार छुु तर सरकारको काम पनि कर्मचारीले गरेर देखाउनु पर्छ ।”
मन्त्री चौधरीलेले मन्त्रालय मातहतका करार, अस्थायी र ज्यालदारी कर्मचारीलाई राज्यले सम्मान गर्ने भन्दै प्रस्तावित निजामती ऐनमा रहेको कर्मचारीको पेशागत हितविपरीतका प्रावधान संशोधन गर्न आफूले पहल गर्ने बताए ।
कार्यक्रममा खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले कर्मचारी युनियनले कर्मचारीको हक, हित, सुविधा र वृत्ति विकासका लागि उठाएका माग पूरा गराउन मन्त्रालय तयार रहेको बताए ।
नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले अस्थायी, करार र ज्यालादारीमा काम गर्ने कर्मचारीलाई विधि, प्रकृया र मापदण्ड पु¥याएर स्थायी गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस्