Logo

समयमै मेलम्चीको पानी आउँछ : खानेपानीमन्त्री

खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौंबासीलाई छिटोभन्दा छिटो मेलम्ची खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मन्त्री चौधरीले केही समयअघि आएको बाढी र पहिरोको कारणले गर्दा बन्द भएको मेलम्चीको पानी काठमाडौंबासीलाई अस्थायी रूपमा भए पनि छिटोभन्दा छिटो खान पाउने व्यवस्था मिलाउने बताए ।
चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधानमा शुद्ध खानेपानी र सरसफाईलाई मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै आफ्नो कार्यकालभित्रै काठमाडौंबासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्ने बताए । मन्त्री चौंधरीले भने, “मैले एउटा उद्देश्य पक्कै लिएको छु । आज मेलम्चीको खानेपानी काठमाडौंबासीले खाइरहनु भएको थियो ।
तर बाढिपहिरोको कारणले बन्द भएको छ । संविधानमा मौलिक हकको रुपमा शुद्ध खानेपानी र सरसफाई हरेक नागरिकको अधिकार भएको कारणले काठमाडौंबासीलाई यतिमात्रै म भन्न चाहन्छु–मेरो कार्यकालमा चाँडोभन्दा चाँडो मेलम्ची खानेपानी स्थायी त होइन तत्काल अस्थायी भए पनि तुरुन्तै आफ्नै कार्यकालमा काठमाडौंबासीलाई खुवाउँछु भन्ने प्रतिबद्धता म व्यक्त गर्न चाहन्छु । आउँदो दिनमा मेलम्चीको खानेपानी तपाईहरुले अवश्य मेरै कार्यकालमा खान पाउनु हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।”
त्यस अवसरमा मन्त्री चौधरीले देश र जनताका लागि काम गर्ने सामाजिक संघ, संस्थालाई सरकारले सक्दो सहयोग गर्ने आश्वासनसमेत दिए । उनले चन्द्रलोक प्रतिष्ठानजस्ता सामाजिक संघ, संस्थाले समाजमा योगदान पु¥याएका व्यक्ति तथा संघ, संस्थालाई सम्मान गरेर राष्ट्र र जनताको हितमा काम गरिरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्