उत्पादनशील उद्योगले सहुलियतमा बिजुली पाउने «

उत्पादनशील उद्योगले सहुलियतमा बिजुली पाउने


अर्थमन्त्री जनार्दन शर्माले विद्युतको बिक्रीभन्दा खपत गर्नुपर्ने नीति अहिलेको आवश्यकता भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले राजधानीमा आयोजना गरेको नवउत्थान सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्युत बिक्री गरेर व्यापार घाटा कम नहुने भन्दै स्वदेशमै उद्योगधन्दा बढाई रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
खपत बढाउन सरकारले केकस्तो मोडालिटिमा सहुलियत दिन सकिन्छ, कस्ता उद्योगलाई प्राथमिकता दिने भन्ने विषयमा छलफल भएको उनले बताएका छन् । अर्थमन्त्री शर्माले विद्युत खपत गरी वस्तु उत्पादन र रोजगारी सिर्जना गरेर मात्र व्यापार घाटा कम गर्न सकिने बताए । उनले विद्युत महसुल घटाएर उत्पादन गर्ने उद्योगहरूलाई उपलब्ध गराउनुपर्नेमा जोड दिए । अहिले विद्युत बिक्रीभन्दा पनि उत्पादनशील उद्योगहरूलाई सहुलियतमा विद्युत उपलब्ध गराएर खपत बढाउनुपर्नेमा उनको जोड थियो । स्वदेशी उत्पादनमूलक उद्योगलाई विद्युत नदिने र सस्तोमा निर्यात गर्ने नीतिलाई सरकारले सच्याउने उनको प्रतिवद्धता थियो । उद्योगलाई पर्याप्त विजुली उपलब्ध भएमात्रै रोजगारी, उत्पादनदेखि आर्थिक गतिविधि बढ्नेमा सरकारको जोड रहेको उनले बताए । खासगरी निर्यात बढाउनेतर्फ सरकारको ध्यान रहेकोले निर्यात उद्योगलाई सहुलियतमा बिजुली दिने संकेत उनले गरेका थिए । यद्यपि गहन छलफलपछि मात्रै यसको अन्तिम निर्णयमा पुग्ने मन्त्री शर्माको भनाइ थियो ।
अर्थमन्त्री शर्माका अनुसार नीति परिमार्जन गर्नेबारे मन्त्रालय र सम्बन्धित निकायसँग छलफल भइरहेको छ । देशमा रोजगारी बढाउन, उत्पादन वृद्धि गर्नेतर्फ लगानी बढाउन उद्यमी–व्यवसायीलाई उनले आग्रह गरे । नेपालमा मोटरसाइकल, गाडी, मोबाइलजस्ता सामग्रीका कारखाना किन खुल्न सकेनन् अर्थमन्त्री शर्माले त्यसतर्फ पनि व्यवसायीलाई ध्यान दिन आग्रह गरे । सस्तो श्रम भएको देशमा विद्युत पनि सरकारले न्यून मूल्यमा उपलब्ध गराउने बताउँदै उनले देशमै ठूला उद्योग खोल्न व्यवसायीलाई आग्रह गरेका छन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको लागि आवश्यक भएको बताए । देशमा ठूलो लगानी आवश्यक रहेको भन्दै उनले वैदेशिक लगानीमा जोड दिए । त्यसका लागि एमसीसी आवश्यक रहेको उनको भनाइ थियो । “नेपालमा अब नवउत्थान गर्ने समय आएको छ, त्यसैले ठूलो लगानी आवश्यक छ” अध्यक्ष गोल्छाले भने । उनले मुलुकमा वैदेशिक लगानी ल्याउन सहजीकरण गर्ने उद्देश्यले महासंघमा वैदेशिक लगानी सहयोग डेस्क राख्न लागिएको जानकारी दिए । पछिल्लो समय नेपालमा वैदेशिक लगानी, अनुदान वा ऋण आउन नसकेको भन्दै सरकारले यसको लागि पहल गर्नुपर्ने उनको जोड थियो ।
बजारमा तरलता अभावको समस्याका विषयमा व्यवसायीहरुका प्रश्नमा अर्थमन्त्री शर्माले तरलता अभाव हटाउन सरकारले के गर्दा ठिक हुन्छ त्यसको सुझाव दिन महासंघलाई आग्रह गरे । उनले तरलता अभावले गर्दा ब्याजदरमा प्रभाव परेको भन्दै यसको नियाम गर्ने कि बजारलाई नै छोडिदिने हो भन्ने विषयमा निजी क्षेत्रले सुझाव दिएमा सजिलो हुने धारणा राखे ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा. निलम ढुंगानाले अहिलेको समस्या भनेको बैंकको पुँजी अभाव नभएर तलता अभावमात्र भएको बताइन् । उनले तरलता अभाव भयो भन्दैमा सीडी रेसियोको नीति हटाएर पुनः सीसीडी रेसियोमा जाने अवस्थामा नेपाल राष्ट्र बैंक नरहेको प्रस्ट पारिन् ।

प्रतिक्रिया दिनुहोस्