बाढीपहिरो प्रभावित डेढ वर्षपछि लाभग्राही सूचीमा «

बाढीपहिरो प्रभावित डेढ वर्षपछि लाभग्राही सूचीमा


लमजुङमा गतवर्ष आएको बाढि र पहिरोबाट पूर्ण क्षतिपुगेका घरपरिवार प्रभावित बनेको डेढ वर्षपछि बल्ल लाभग्राही सूचीमा सूचिकृत भएका छन् । जिल्लास्थित विपद व्यवस्थापन समितिको बैठकले अघिल्लो वर्षको जेठदेखि गत असोजसम्म विपदबाट पूर्ण क्षति भएका प्रभावितलाई प्रवलीकरण तथा पुनः स्थापनाको निम्ति लाभग्राही नम्बरसहित सूचीकरण गरेको हो ।
जिल्लास्थित विपद व्यवस्थापन समितिको बैठकले बाढी र पहिरोका कारण मस्र्याङ्दी गाउँपालिका र मध्यनेपाल नगरपालिकाको पूर्ण प्रभावितलाई लाभग्राही नम्बरसहित सूचीकरण गर्ने निर्णय गरेको हो । बाढीका कारण पूर्णक्षति भएका मस्र्याङ्दी गाउँपालिकाअन्तर्गत १८ र मध्यनेपाल नगरपालिका अन्तर्गतका १८ परिवारलाई लाभग्राही नम्बरसहित सूचीकरण गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी जगदिश मिश्रले बताए ।
मनसुनजन्य विपदबाट निजी आवास प्रवलीकरण तथा पुनर्निर्माणका लागि लाभग्राहीको अनुसूची फारमलगायतका कागज प्राप्त भएका तथा पूर्णक्षतिमा परेका दुई स्थानीय तहका ३६ घर परिवारलाई लाभग्राही नम्बर कायम गर्ने निर्णय भएको हो । बैठकको निर्णयअनुसार मस्र्याङ्दी गाउँपालिका–३ पल्लोटारीका १८ घर र मध्यनेपाल नगरपालिका–२ का ६ घर, वडा नम्बर ७ काचार घर, वडा नम्बर ५, ६ र ९ का दुई–दुई घर, वडा नम्बर ३ र ८ को एकएक घरले पूर्णक्षति लाभग्राही नम्बर पाउने भएका हुन् ।
जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले मस्र्याङ्दी र मध्यनेपालबाहेक अन्य बेसीसहर, राईनास, दोर्दी र दूधपोखरी गाउँपालिकाबाट हालसम्म पनि लाभग्राहीको अनुसूची फारम प्राप्त नभएको भन्दै तत्काल माग गर्ने निर्णय गरेको छ । बाढी र पहिरोले क्षति पु¥याएको दुई वर्ष हुनलाग्दा पनि प्रक्रियागत रुपमा आवश्यक कागजपत्र नआउँदा पुनर्निर्माणको काम अघि बढ्न नसकेको भन्दै कामलाई गतिदिन स्थानीय तहले विशेष चासो दिनुपर्ने सरोकारवालाले बताएका छन् ।
लाभग्राही सूचीमा सूचिकृत भएसँगै प्रभावितले अनुदान पाउने निश्चित भएको छ । अब प्रभावितले लाभग्राही नम्बरको आधारमा अनुदान सम्झौता गरी पुनर्निर्माणको काम अघि बढाउन सक्नेछन् । बाढी र पहिरोका कारण डेढ वर्षदेखि घरबारविहीन बन्दै आएका पीडितहरू सरकारले अनुदान नदिँदा अहिलेसम्म निजी आवासको काम अघि बढाउन सकेका छैनन । कतिपय स्थानमा त निजीआवास निर्माणका लागि देश विदेशबाट ठूलो रकम संकलन भए पनि त्यसको उपभोग गर्न नपाएको पीडितहरूले बताएका छन् ।
यसैगरी विपद व्यवस्थापन समितिको बैठकले जिल्लाका विभिन्न स्थानीय तहहरूमा धानबालीमा पुगेको क्षतिका सम्बन्धमा कृषि ज्ञान केन्द्रबाट प्राप्त पत्रानुसार स्थानीय तहबाट पूर्णक्षति वा आँशिक क्षतिबारे एकिन नआएकाले तत्कालै पठाउन स्थानीय तहहरूलाई पत्राचार गर्ने निर्णय पनि गरेको मिश्रले बताए । जिल्लामा यही वर्ष बेमौसमी वर्षा र अन्य कारणले १ सय ६५ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रको तथ्याँक छ । कृषि ज्ञान केन्द्रले प्रारम्भिक तथ्यांक विपद व्यवस्थापन समितिमा पेस गरे पनि स्थानीय तहहरूले त्यसलाई पुष्टि गर्नुपर्ने र सोसम्बन्धी आवश्यक प्रक्रिया पूरा नभएको प्रशासनले जनाएको छ । कृषि ज्ञान केन्द्रको प्रारम्भिक तथ्याँकअनुसार बेमौसमी वर्षा र अन्य कारणले धानबालीमा क्षति पुग्दा जिल्लाका तीन सय बढी कृषक प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्