वाणिज्य बैंकमा सात अर्ब निक्षेप थपियो

पछिल्लो एक सातामा वाणिज्य बैंकहरुमा ७ अर्ब निक्षेप थपिएको छ । मंसिर पहिलो र दोस्रो साता बैंकहरुको निक्षेप घटेकोमा तेस्रो साता भने वृद्धि भएको नेपाल बैंकर्स संघले जानकारी दिएको छ ।
संघका अनुसार मंसिर ११ देखि १७ गतेसम्ममा वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले बढेको छ । यस अवधिसम्ममा बैंकहरुको कुल निक्षेप ४२ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।
यसअघि मंसिर पहिलो र दोस्रो साता भने बैंकहरुको निक्षेप घटेको थियो । पहिलो साता ८ अर्ब र दोस्रो साता ६ अर्ब रुपैयाँ वाणिज्य बैंकबाट बाहिरिएको थियो । निक्षेपसँगै बैंकहरुले कर्जा प्रवाह पनि बढाएका छन् । मंसिर तेस्रो सातामा वाणिज्य बैंकहरुको कर्जा १४ अर्बले वृद्धि भई ४० खर्ब ६९ अर्ब पुगेको छ । पछिल्लो समय कर्जा विस्तारको तुलनामा निक्षेप वृद्धि नहुँदा बैंकहरुले तरलता अभावको समस्या भोगिरहेका छन् ।
आक्रामक कर्जा लगानीका कारण बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन र कर्जा लगानीबीच उच्च असन्तुलन छ । बैंकहरुले स्रोतको व्यवस्था नभई कर्जा लगानीमा मात्र जोड दिँदा बजारमा तरलता अभाव भएको छ भने बैंकहरु थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा छन् ।
चालु आर्थिक वर्षको कात्तिकसम्ममा वाणिज्य बैंकहरुमा ३२ अर्ब निक्षेप वृद्धि हुँदा कर्जा भने तीन खर्ब १३ अर्ब रुपैयाँले विस्तार भएको छ ।
राष्ट्र बैंकले चालु आवदेखि बैंकहरुले निक्षेपको आधारमा मात्र कर्जा लगानी गर्न पाउने गरी सीडी रेसियोको व्यवस्था कार्यान्वयन गरेको छ । तर बैंंकहरुले यसलाई बेवास्ता गर्दै लगानी बढाउन आक्रामक हुँदा समस्या भएको गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन् ।
चालु आवको सुरुदेखि नै रेमिट्यान्स घट्नुका साथै उच्च व्यापार घाटा र सरकारको कमजोर पुँजीगत खर्चका कारण पनि बैंकहरुमा तरलता अभाव बढेको विश्लेषण गरिएको छ ।