एमाले महाधिवेशनले आन्तरिक पर्यटनमा वृद्धि «

एमाले महाधिवेशनले आन्तरिक पर्यटनमा वृद्धि

Picture Credit : Naya Patrika

नेपाल पर्यटकीय सम्भावनाको प्रचुर खानी भएको मुलुक हो । प्राकृतिक सम्पदाले भरिपूर्ण भएको हाम्रो मुलुकमा अवलोकन गर्न बर्सेनि लाखौं बाह्य पर्यटकले खचाखच रहन्थ्यो । नेपाल आन्तरिक तथा बाह्य पर्यटकका निमित्त प्रमुख पर्यटकीय गन्तव्य स्थल पनि हो ।
तर, लाखौंको संख्यामा नेपाल भित्रिने विदेशी पर्यटक अहिले ठप्पजस्तै छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को प्रभावले पर्यटन क्षेत्र चलायमान हुन सकिरहेको छैन ।
नेपाल भ्रमण वर्ष, २०२० मनाउन खोजिरहेको अवस्थामा कोराना भाइरस बाधक बनिदियो । अहिले बिस्तारै कोरोनाको प्रभाव कम हुँदै जाँदा पर्यटन क्षेत्र पनि सलबलाउन थालेको छ । मुलुकका प्रमुख पर्यटकीय गन्तव्यहरू चलायमान बनाउन होटल व्यवसायीहरूले विभिन्न प्याकेजहरू बनाएर आन्तरिक तथा बाह्य पर्यटक भिœयाउनतर्फ लागिपरिरहेका छन् ।
अहिलेको यो सिजनमा आन्तरिक पर्यटकहरू विभिन्न पर्यटकीय स्थल पोखरा, चितवन, मुस्ताङ, रारा, लुक्ला, धुलिखेललगायतका स्थानहरूमा घुइँचो लाग्न सुरु भइसकेको छ । कोरोनाका कारण घरभित्रै रहन बाध्य भएका आमनेपाली अहिले घुमफिरमा रमाउन खोज्दै छन् ।
मुलुकको प्रमुख पर्यटकीय स्थल चितवन घुम्न आउने बाह्य तथा आन्तरिक पर्यटकको घुइँचो प्रायःजसो रहिरहन्थ्यो ।
तर, यति बेला चितवनमा आन्तरिक पर्यटकले होटल खचाखच भएको अवस्था छ । हुन त चितवनमा कुनै त्यस्तो मेला–महोत्सवले आन्तरिक पर्यटकले भरिभराउ भएको होइन । एमालेको १० औं महाधिवेशनले गर्दा चितवनका साधारण होटल, लजदेखि उच्चस्तरीय होटल, रिसोर्टहरू भरिभराउ भए ।
एमालेको १० औं महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म हुने भनिए पनि केही दिन अझै लम्बियो । यसरी लम्बिँदै जानुमा होटल व्यवसायीलाई निकै फाइदा पुगेको अनुमान लगाउन गाह्रो पर्दैन । यसै त चितवनलाई पर्यटक गन्तव्यको उत्कृष्ट स्थान मान्न सकिन्छ, जहाँ विश्वकै दुर्लभ मानिएको एकसिंगे गैंडाको अवलोकन गर्न सकिन्छ भने जंगल सफारीको स्वर्गीय अनुभूतिसमेत लिन सकिन्छ । यसका अतिरिक्त पर्यटकलाई लोभ्याउन सक्ने कैयौं अवलोकन स्थलहरू रहेका छन् ।
एमालेको महाधिवेशनले चितवनमा रहेका होटल कोभिडपछिकै भरिभराउको अवस्था सिर्जना भएको छ । यसले थप आन्तरिक तथा बाह्य पर्यटक भिœयाउन मद्दत गर्छ । कोरोनाले थिलथिलो भएको होटल व्यवसाय बिस्तारै उकालो लाग्दै छ । एमालेको तामझामपूर्ण महाधिवेशनले अर्थतन्त्र त चलायमान होला, तर यस्ता कार्यले भ्रष्टाचार नबढाउला भन्न सकिँदैन । त्यसको प्रत्यक्ष असर भने आम सर्वसाधारणलाई पर्न सक्छ । चितवनका करिब ३ सय हाराहारी होटलमा ३५ हजारदेखि ४० हजार महाधिवेशनमा उपस्थित भएका नेता कार्यकर्ताले भरिभराउ भएका थिए भनेर अनुमान गर्न गाह्रो पर्दैन ।
सामान्य रूपमा अनुमान गर्दा पनि ८ देखि १० करोड रुपैयाँबराबर त होटलको कमाइ हुन्छ । अझ महाधिवेशन लम्बिँदा होटल व्यवसायीलाई झनै फाइदा नै पु¥याउने देखिन्छ । यसका अतिरिक्त अन्य आन्तरिक पर्यटक त छँदै छन् । समग्रमा भन्नुपर्दा एमालेको यो महाधिवेशनले भने चितवनका होटल सञ्चालकहरूलाई भने निकै फाइदा पुगेको छ । यसबाट थप आन्तरिक पर्यटक वृद्धि हँुदै जानेमा पनि निश्चित छ ।
–मथुरा तिवारी

प्रतिक्रिया दिनुहोस्