विद्युतीय उपकरणको प्रयोगमा जोड दिऔं

हामी नेपालीले लोडसेडिङको तालिका बोकेर नहिँडेको पनि पाँच वर्षजति भइसकेको छ । यसर्थ हामीले क्रमशः लोडसेडिङलाई बिर्सिंदै गएका छौं भनेर मान्न सक्छौं । आजभन्दा पाँच वर्ष अगाडिसम्म आमनेपालीले दैनिक २४ घण्टामा १८ घण्टा त लोडसेडिङको मार खेप्नुपरेको थियो । हप्तैपिच्छे विद्युत् प्राधिकरणले लोडसेडिङको तालिका परिवर्तन भएको सार्वजनिक गरिरहेको हुन्थ्यो । पर्याप्त विद्युत् नहुँदा दैनिक जीवनमा आइपर्ने विद्युतीय काम–कारबाहीबाट वञ्चित हुँदा आममानिसको दैनिकी नै अस्तव्यस्त भएको थियो ।
लोडसेडिङका कारण नेपालीहरू रोबर्टजस्तो भएका थिए । २४ घण्टामा १८ घण्टा लोडसेडिङ हुँदा बाँकी रहेको ६ घण्टामा विद्युत्सम्बन्धी कार्य सम्पन्न गर्न भ्याइनभ्याइ हुन्थ्यो । पानीको मोटर, मोबाइल चार्ज, इलेक्ट्रिक लाइट चार्ज, इन्भर्टर चार्ज, आइरनलगायत विद्युतीय उपकरणहरूको चार्ज र उपयोग गर्न विद्युत् आउने समय कुरेर बस्नुपर्ने अवस्था थियो । १८ घण्टा लोडसेडिङ खेपेको नेपालीलाई ६ घण्टा आउने विद्युत्लाई जबर्जस्ती पु-याउनुपर्ने बाध्यता थियो ।
हाम्रा कलकारखाना, उद्योगधन्दा नियमित चल्न निकै सकस थियो । अधिकांश समय वैकल्पिक विद्युतिय सामग्री जेनेरेटर, इन्भर्टरजस्ता सामग्रीमा निर्भर रहनुपथ्र्यो । नेपालीहरूको महान् चाड दीपावली मनाउन अधिकांशले मैनबत्तीमा निर्भर रहनुपर्ने बाध्यता थियो । आजभन्दा पाँच वर्षअगाडिको समय यस्तो थियो कि चरम ऊर्जा संकटको अवस्था थियो । त्यस्तो अवस्थामा गुज्रिएको नेपाल विद्युत् प्राधिकरण तिहारको लक्ष्मीपूजाका दिन झिलिमिली बत्ती नबाल्नू भनी सार्वजनिक रूपमा सूचना जारी गर्नुपर्ने अवस्था रहेको नेपाल विद्युत् प्राधिकरणले एकाएक चमत्कार गरेको सर्वविदितै छ ।
नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङ जब कार्यकारी प्रमुखका रूपमा नियुक्ति लिए, त्यसयता नेपालीले लोडसेडिङको मार खेप्नुपरेको छैन । मन्त्रालय स्तरबाटै विशेष टिमवर्कले कार्य गर्दा एउटा प्रभावकारी भूमिका निर्वाह गर्दा लोडसेडिङ अन्त्य गर्ने कार्यमा सफल भयो, जसमा जनताले पनि साथ दिए । अनावश्यक विद्युत् उपयोग नगर्न प्राधिकरणले निर्देशन गरेबमोजिम जनताको साथ दिए । त्यसैको प्रतिफल मान्नुपर्छ, आज मुलुकमा लोडसेडिङको अन्त्य भएको छ । लोडसेडिङ अन्त्य मात्र भएको छैन, घाटामा रहेको प्राधिकरण नाफामा समेत गएको छ ।
समय फेरिएको छ, मानिसहरूले ढुक्कले विद्युतीय सामग्रीहरूको उपयोग गर्न पाएका छन् । विगत पाँच वर्षदेखि राम्रोसँग दीपावली मनाउन पाएका छौं । जति आवश्यक छ, उपयोग गर्न सुनिश्चितता छ । नेपाली उद्योगहरूले आवश्यकताअनुसारको विद्युत् पाएका छन्, जसले उत्पादनमा वृद्धिसमेत गर्न सकेका छन् । अझ नेपालले भारतलाई विद्युत् बेच्नेसम्मको प्रस्ताव अगाडि बढाएको छ, तर सरकार विद्युतीय सामग्रीको उपयोग बढाएरै नेपालमै विद्युत्को खपत बढाउनेतर्फ लागिपरेको छ । यो सुखद पक्ष हो । लाग्छ, आगामी दिनमा लोडसेडिङ खेप्नु नपरोस्, ढुक्क भएर विद्युतीय उपकरण प्रयोग गर्न सकौं र यस्ता सामग्री उपयोगमा समेत सरकारी स्तरबाटै जोड गरौं ।