भर्चुअल साधारणसभामा सेयरधनीको सहभागिता

भर्चुअल सभाले भौतिक रूपमा सभामा भाग लिन चाहेका सेयरधनीहरूलाई कतिपय कम्पनीले साधारणसभामा भाग लिनबाट वञ्चित गरिरहेका छन् ।
मंसिर २ गते नेपाल बङ्गलादेश बैंकको २७ औं वार्षिक साधारणसभा भएको थियो । तर, जुम सभा भनेर सर्वसाधारण सेयरधनीहरूलाई सभाहलमा प्रवेश गर्न दिइएन, गेटबाटै फर्काइयो । त्यसैगरी कात्तिक १६ गते होटल सोल्टीमा शिवम् सिमेन्ट कम्पनीको वार्षिक साधारणसभा भएको थियो, त्यसमा भाग लिन होटल सोल्टी पुगेका सेयरधनीहरूलाई जुम सभा भनेर सभाहलभित्र पस्न दिइएन, गेटबाटै फर्काइएको थियो । तर, सिटिजन्स बैंक, कुमारी बैंक, साङ्ग्रिला डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स, स्वरोजगार लघुवित्त वित्तीय संस्था, सिभिल लघुवित्त वित्तीय संस्थाहरूमा पनि जुम सभा नै भनेका थिए, तर सर्वसाधारण सेयरधनीहरूलाई प्रवेश निषेध गरिएको थिएन । त्यसो त कतिपयले यदि जुमबाट सभा गर्ने भए होटल सोल्टीमा किन गर्नुप-यो, आफ्नै कार्यालयमा गरे हुँदैन र भनेर पनि आलोचना गरे । अहिलेको अवस्थामा जुमबाट सभा गर्नु ठीक पनि हो, तर पनि भौतिक रूपमा उपस्थित हुन चाहने सेयरधनीहरूलाई मापदण्ड पालना गराएर सभामा भाग लिन दिनुपर्दछ । भौतिक रूपमा वार्षिक साधारणसभामा सहभागी हुन नचाहने सेयरधनीहरूका लागि जुम सभा राम्रो पनि हो । तर, भौतिक रूपमा सहभागी हुन चाहने सेयरधनीहरूलाई जुम सभा भनेर सभामा भाग लिन वञ्चित गर्नु हुदैन ।
पछिल्लो समयमा कोरोनाको कारणले भर्चुअल साधारणसभा गर्ने लहर नै चलेको छ । कोरोनाको जोखिमका कारणले सुरक्षाका लागि वाध्यतावश भर्चुअल वार्षिक साधारणसभा गर्नुपरेको केही कम्पनीहरूले बताइरहेका छन् । भर्चुअल सभाले भौतिक रूपमा सभामा भाग लिन चाहेका सेयरधनीहरूलाई कतिपय कम्पनीले साधारणसभामा भाग लिनबाट वञ्चित गरिरहेका भान परेको छ । पछिल्लो समयमा सबै क्षेत्र पूर्ण रूपले खुलिसकेका छन् । पार्टी प्यालेसदेखि सिनेमा हलसम्म खुलिसकेका छन् । विदेशबाट पर्यटकहरूसमेत नेपालमा आइरहेका छन् ।
अहिले पब्लिक लिमिटेड कम्पनीहरूको वार्षिक साधारणसभा गर्ने सिजन हो । त्यसो त एक आर्थिक वर्ष सकिनासाथ पब्लिक लिमिटेड कम्पनीहरूले वार्षिक साधारणसभा गर्नुपर्ने हुन्छ । पब्लिक लिमिटेड कम्पनीहरूले आर्थिक वर्ष समाप्तिपछि पुस महिनाभित्र वार्षिक साधारणसभा गर्नुपर्छ । यस कारणले पनि पुस महिनाको अन्तिम–अन्तिममा साधारणसभा गर्ने कम्पनीहरूको भीड नै हुने गरेको छ । तर पनि कोरोनाको जोखिमको कारण देखाई केही कम्पनीहरूले जुममार्फत सभा गर्ने गरेका कारण मर्का परेको केहि लगानीकर्ताको गुनासो छ । कतिपय कम्पनीहरूले अझै आफ्नो वार्षिक साधारणसभा भर्चुअल माध्यमबाट गर्ने सूचना प्रकाशित गरिरहेका छन् ।
कोरोनाको कहरका कारण भीडभाड गर्न नहुने कारण देखाई धेरै जनाको उपस्थिति नगराउने भनी सर्वसाधारण सेयरधनीहरूले सभामा भाग लिन पाइरहेका छैनन् । वार्षिक साधारणसभामा सेयरधनीहरूको उपस्थिति महत्वपूर्ण हुन्छ । कम्पनीहरूको वार्षिक साधारणसभाहरूमा कम्पनीको समीक्षा अवधिमा भएगरेका कामहरूको बारेमा छलफल हुने गर्छ भने सभामा सेयरधनीहरूले सल्लाह–सुझावहरू दिने गर्छन् । कम्पनीको प्रतिवेदन, प्रस्तावहरूलाई साधारणसभाको बहुमतले पारित गर्नुपर्ने हुन्छ र त्यसपछि मात्र लागू हुने गर्छ । यस्तो महŒव भएको वार्षिक साधारणसभामा सेयरधनीहरूले भाग लिन पाइरहेका छैनन् भने कतिपयले त यसपालि साधारणसभाहरूमा बोल्ने वक्ता सेयरधनीहरूको आम्दानी पनि घट्यो होला भनेर व्यंग्य पनि गर्ने गरेका छन् ।
वार्षिक साधारणसभाहरूमा भाग लिन पाउनु सर्वसाधारण सेयरधनीहरूको अधिकारको कुरा हो । भर्चुअल सभाको कारणले केही कम्पनीहरूको साधारणसभाहरूमा सर्वसाधारण सेयरधनीहरूले भाग लिन पाइरहेका छैनन् । यस्ता सभाहरूमा आफ्ना पक्षका केही सेयरधनीहरूमात्रको सहभागिता रहने कारणले जुनसुकै प्रस्ताव, प्रतिवेदन पनि सजिलै पारित हुने सम्भावना रहने हुन्छ । यसले सञ्चालकहरूको एकाधिकार रहने हुन्छ । यस कारणले पनि सर्वसाधारण सेयरधनीहरू भर्चुअल एजीएमप्रति असन्तुष्टि जनाइरहेका थिए । अहिले पनि सुरक्षाका उपाय अपनाएर भीडभाड नहुने गरेर पनि वार्षिक साधारणसभाहरू गर्न सकिने सर्वसाधारण सेयरधनीहरूको भनाइ रहेको छ । केही कम्पनीहरूको वार्षिक साधारणसभाहरूमा सर्वसाधारण सेयरधनीहरूले भाग लिन नपाएका कारण पनि यसले सर्वसाधारण सेयरधनीहरूले वार्षिक साधारणसभामा भए-गरेका गतिविधि, कम्पनीको प्रतिवेदन, प्रस्तावको छलफल आदिप्रति अनभिज्ञ नै हुने गरेका छन् । त्यसो त कतिपयको अहिले नै हतारमा वार्षिक साधारणसभाहरू गर्न आवश्यक नरहेको पनि भनाइ छ । वार्षिक साधारणसभाहरू ढिलो भए सेयरधनीहरूले पाउने लाभांशहरू पनि समयमा पाउँदैनन् । वार्षिक साधारणसभाले पारित नगरेसम्म सेयरधनीहरूले लाभांश पाउन सकिँदैन । यसले सर्वसाधारण सेरधनीहरू समयमा लाभांश पाउनबाट वञ्चित भने हुनुपर्नेछ ।
नेप्सेमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीहरूले एक आर्थिक वर्षको समाप्तिपछि वार्षिक साधारणसभा गर्नुपर्छ । चालू आर्थिक वर्षको समाप्तिपछि गरिने वार्षिक साधारणसभामा कम्पनीको समीक्षा वर्षको अवधिमा भए-गरेका काम, कारबाही, गतिविधिको प्रतिवेदन प्रस्ताव साधारणसभामा पेस गर्नुपर्ने हुन्छ । त्यसैगरी साधारणसभामा आगामी वर्षमा गर्ने गर्नुपर्ने भावी योजनाका बारेमा पनि छलफलहरू गर्ने गरिन्छ र योजना र प्रस्तावहरू पारित गर्ने काम हुन्छ । समीक्षा वर्षमा भए गरेका काम, गतिविधिहरूको विभिन्न प्रस्ताव, प्रतिबेदन वार्षिक साधारणसभामा सेयरधनीहरूबीच छलफल गरेर पारित गर्नुपर्छ । साधारणसभामा उपस्थित भएका सेयरधनीहरूको बहुमतले पारित भएपछि मात्र लागू हुने प्रावधान छ । यसका लागि पनि वार्षिक साधारणसभाहरू महत्वपूर्ण हुने गरेका छन् । यस कारणले चालू आर्थिक वर्ष सकिनासाथ विभिन्न कम्पनीले वार्षिक साधारणसभाहरू गर्ने गर्छन् । वार्षिक साधारणसभाहरूमा सर्वसाधारण सेयरधनीहरूको बाक्लो उपस्थिति हुन्छ । कतिपय सेयरधनीले कम्पनीले पेस गरेको प्रस्ताव, प्रतिवेदनमा छलफल विश्लेषण पनि गर्छन् । विगतका वर्षहरूमा चालू आर्थिक वर्ष सकिनासाथ वार्षिक साधारणसभा गर्ने गरिन्थ्यो ।
त्यसो त कतिपय कम्पनीले विगतमा पनि पुस महिनामा मात्र वार्षिक साधारणसभा गर्ने गर्थे भने केही कम्पनीहरूले त दुई–तीन आर्थिक वर्षको साधारणसभा पनि एकैचोटि गर्ने गर्थे । वार्षिक साधारणसभा गर्नका लागि कम्पनीको कुल सेयर संख्याको ५१ प्रतिशत र ३ जना सर्वसाधारण सेयरधनीहरूको प्रत्यक्ष उपस्थिति भए पनि सभा गर्न सकिने कम्पनी ऐनले व्यवस्था गरेको छ भने वार्षिक साधारणसभा पुस मसान्तभित्र गर्नुपर्छ । पुस मसान्तपछि वार्षिक साधारणसभा गर्ने कम्पनीहरूले हर्जानासमेत तिर्नुपर्ने सरोकारवालाहरू बताउँछन् ।