रेलसेवा पुनः सञ्चालनमा ल्याइने

पाकिस्तान तथा इरानका अधिकारीबीच सुधारिएको सुरक्षासहित पाक्षिक रूपमा यात्रुवाहक रेलसेवा सञ्चालनमा ल्याउने सहमति भएको छ ।
दुई इस्लामिक मुलुकबीच सुरक्षाको समस्या देखाउँदै यसअघि सञ्चालन हुँदै आएको रेलसेवा बन्द भएको थियो ।
यस विषयमा छलफलमा सहभागी दुवै देशका अधिकारीले पछिल्लो समयमा सुरक्षाको अवस्थामा सुधार आएकाले आगामी सेप्टेम्बरसम्म रेलसेवालाई सुचारु गरिने निर्णय गरिएको पाकिस्तानी सञ्चारमाध्ययमले जनाएका छन् ।
पाकिस्तानी रेलसेवाका सञ्चालक समितिको अध्यक्षतामा बिहीबार बसेको दुई देशका रेल मन्त्रालयका उच्च अधिकारी सम्मिलित विज्ञहरूको संयुक्त समितिले रेलसेवा सञ्चालनका लागि सुरक्षा अवस्थालाई थप मजबुत पार्दै सेवालाई पुनः सञ्चालनमा ल्याउने सहमति भएको हो ।
यससँगै रेलसेवाले पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटालाई जनसंख्याका दृष्टिकोणले इरानका दुई ठूला सहर कोम र मस्सादलाई जोड्नेछ ।
दुईदेशीय समितिले पाकिस्तानको क्वेटा र इरानको जाहेदानबीच मासिक रूपमा १५ वटा मालवाहक रेलसेवा सञ्चालन गर्ने पनि सहमति गरेको छ । यद्यपि यसलाई दुई देशको उच्च राजनीतिक नेतृत्वसँग सुझावका लागि प्रस्तुत गरिनेछ ।
बैठकमा इस्लामाबाद–तेहरान–इस्तानबुलसम्मको प्रत्यक्ष रेलसेवाका लागि पनि छलफल भएको तर यसबारे थप छलफलपछि मात्र निर्णय लिइने सहमति भएको पाकिस्तानी सञ्चारमाध्यमले सहभागीलाई उद्धृत गरी जनाएका छन् ।