लक्ष्य भन्दा १ सय ३३ प्रतिशत बढी राजस्व संकलन «

लक्ष्य भन्दा १ सय ३३ प्रतिशत बढी राजस्व संकलन


पोखरा महानगरपालिका–१३ मा रहेको कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट करदाता घोषित भएको छ । आन्तरिक राजस्व कार्यालय पोखराले दसौं राष्ट्रिय कर दिवसका अवसरमा आयोजना गरेको कर सप्ताहमा उक्त सहकारीलाई उत्कृष्ट करदाताको रुपमा घोषणासहित सम्मान समेत गरेको छ ।
यही मंसिर एक साता चलेको कर सप्ताह कार्यक्रमको अवसरमा गत आर्थिक वर्षमा आयकरतर्फ बढी कर भुक्तानी गरेको भन्दै कार्यालयले उक्त सहकारीलाई सम्मान गरेको आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख रमेश शर्माले बताए । उक्त सहकारीले गत आर्थिक वर्षमा आयकर बापत ६७ लाख २९ हजार रुपैयाँ कर तिरेको सहकारीले वार्षिक चार अर्ब भन्दा बढीको कारोबार गरेको उनले जनाए ।
प्रदेश सरकारका प्रमुख सचिव पन्थले कोभिड–१९ उद्योग व्यवसायमा प्रभाव पारेपनि कर संकलन उत्साहजनक रहेको बताए । कर प्रशासनमा देखिएका कमी कमजोरी सुधार गरेर जानुपर्नेमा जोड दिँदै कर शिक्षा बढेका कारणले कर संकलन उत्साहजनक भएको उनको भनाइ थियो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कर तिर्न आउने करदातालाई सहज सेवा प्रवाह हुनुपर्नेमा बताए । कर बृद्धि गर्नु भन्दा करका दायरा वृद्धि गर्दै जानुपर्ने उनको भनाइ थियो । कार्यालय प्रमुख शर्माले चालू आर्थिक वर्षको प्रथम चौमासिकमा लक्ष्य भन्दा बढी कर संकलन गर्न सफल भएको दाबी गरे । प्रथम चौमासिकमा एक अर्व १५ करोड ८६ लाख राजस्व संकलनको लक्ष्य रहेकोमा लक्ष्यभन्दा बढी एक सय ३३ प्रतिशत अर्थात एक अर्व ५५ करोड राजस्व संकलन भएको कर अधिकृत विजय लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्