प्रदेश २ मा बैंकको ३.६८ खर्ब लगानी

प्रदेश २ मा बैंक तथा वित्तीय संस्थाको लगानी ३.६८ खर्ब पुगेको छ । वित्तीय पहुँचको विस्तारसँगै वित्तीय साक्षरता पनि बढेकाले बैंकिङ कारोबार बढ्दै गएको नेपाल राष्ट्र बैंकले गरेको प्रादेशिक आर्थिक स्थितिसम्बन्धी अध्ययनले औंल्याएको छ ।
अध्ययन प्रतिवेदनअनुसार, प्रदेश २ मा २०७८ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरू दुई खर्ब ४८ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो अघिल्लो वर्षको यसै अवधिमा निक्षेप ३०.२७ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष बैंकहरूको निक्षेप २६.८१ प्रतिशतले वृद्धि भएको थियो ।
यसैगरी २०७८ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरू प्रदेशभित्र प्रवाह गरेको कर्जा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २९.३४ प्रतिशतले वृद्धि भई तीन खर्ब ६८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो कर्जा प्रवाह २७.०७ प्रतिशतले वृद्धि भएको थियो ।
प्रदेशभित्र बैंकबाट कर्जा लिएर व्यावसायिक कृषि, औद्योगिकलगायत सेवा क्षेत्रमा लगानी बढिरहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । २०७८ असारसम्ममा बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा प्रवाह गरेको कर्जा ५१.९३ प्रतिशतले वृद्धि भई ४४ अर्ब २८ करोड पुगेको छ । कृषि क्षेत्रमा प्रवाहित कर्जामा सबैभन्दा बढी पर्सा जिल्लामा २०.०८ प्रतिशत र सबैभन्दा कम सप्तरी जिल्लामा ७.७० प्रतिशत रहेको छ
यसैगरी प्रदेशभित्र प्रवाह भएको सहुलियतपूर्ण कर्जा पनि १८१.२९ प्रतिशतले वृद्धि भई १४ अर्ब ५ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा चार अर्ब ९९ करोड रहेको थियो ।
प्रवाहित कुल सहुलियतपूर्ण कर्जामध्ये सबैभन्दा बढी २०.२३ प्रतिशत सर्लाही जिल्लामा र सबैभन्दा कम ४.८९ प्रतिशत सप्तरी जिल्लामा रहेको राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तसम्म प्रदेश २ मा बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा ११.०४ प्रतिशतले वृद्धि भई एक खर्ब ५ अर्ब २३ करोड पुगेको छ । प्रदेशभित्र प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश २८.८४ प्रतिशत रहेको छ ।
यसैगरी सेवा क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा ३०.९७ प्रतिशतले वृद्धि भई एक खर्ब ४३ अर्ब ८० करोड पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो कर्जा ३४.२७ प्रतिशतले वृद्धि भएको थियो । कुल क्षेत्रगत कर्जामध्ये थोक तथा खुद्रा बिक्रेता क्षेत्रमा सबैभन्दा बढी एक खर्ब १४ अर्ब ८३ करोड (५३.२८ प्रतिशत) रहेको छ । सबैभन्दा कम पर्यटन क्षेत्रमा पाँच अर्ब १४ करोड (२.३९ प्रतिशत) कर्जा प्रवाह भएको छ । यसैगरी यातायात भण्डारण र संचार क्षेत्रमा २.६१ प्रतिशत, वित्त, बीमा तथा अचल सम्पति क्षेत्रमा ४.५३ प्रतिशत, अन्य क्षत्रमा ३.९३ प्रतिशत, उपभोग्य कर्जामा ६.६७ प्रतिशत अन्य सेवा क्षेत्रमा २६.५७ प्रतिशत कर्जा प्रवाह भएको अध्ययनले देखाएको छ ।
प्रदेश २ भित्र बैंक तथा वित्तीय संस्थाहरुका १ हजार ६०७ शाखा सञ्चालनमा रहेको र यसमध्ये वाणिज्य बैंकका ५ सय ४९, विकास बैंकका ७९, वित्त कम्पनीका २५ र लघुवित्त वित्तीय संस्थाहरूको ९ सय ५४ शाखाहरु सञ्चालनमा छन् । यसमध्ये बारा जिल्लामा सबैभन्दा बढी २ सय ३१ शाखा र रौतहटमा सबैभन्दा कम १ सय ६७ शाखा सञ्चालनमा छन् ।
सबै स्थानीय तहमा वाणिज्य बैंकको कम्तिमा एक शाखा विस्तार गर्ने राष्ट्र बैंकको नीतिअनुसार प्रदेश २ मा रहेका १ सय ३६ वटा स्थानीय तहमा नै वाणिज्य बैंकका शाखाहरू विस्तार भएका छन् । निर्देशनपछि तोकिएको स्थानीय निकायमा वाणिज्य बैंकका ८२ वटा शाखा विस्तार भएको प्रतिवेदनमा उल्लेख छ ।