कमजोर नियमनले अस्वाभाविक मूल्यवृद्धि «

कमजोर नियमनले अस्वाभाविक मूल्यवृद्धि

पछिल्लो समय बजारमा दैनिक उपभोग्य वस्तुदेखि अधिकांश सामानको मूल्य बढेको छ । लगातार पेट्रोलियम पदार्थको मूल्य बढेकाले त्यसको प्रभाव बजारमा पर्न गएको छ । इन्धनको मूल्य बढ्दा सवारी साधनको ढुवानी भाडा बढेको भन्दै व्यवसायीले मनपरी ढंगले मूल्य बढाएका हुन् । विशेष गरी हरियो तरकारी, फलफूल, खाद्यान्न, सार्वजनिक यातायात, हवाई भाडा, पेट्रोलियम पदार्थ, खाद्यान्न, इन्धन, लत्ताकपडालगायतको मूल्य बढेको छ । पछिल्लो तीन महिनाको अवधिमा बजारमा सबैभन्दा धेरै हरियो तरकारीको मूल्य बढेको छ । पछिल्लो तीन महिनामा झन्डै ५ सय प्रतिशतसम्म वृद्धि भएको छ, खाना पकाउने ग्यास प्रतिसिलिन्डर १ सय २५ रुपैयाँ बढेको छ भने सार्वजनिक यातायातमा २८ प्रतिशत भाडा वृद्धि गरिएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पनि डेढ वर्षयता निरन्तर बढाइरहेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले समग्र बजारलाई नै असर गरेको छ । लामो समयदेखि बजार नियमन गर्ने निकाय प्रमुखविहीन हुँदा बजारमा व्यवसायीले मनपरि ढंगले मूल्य बढाएका छन् । पछिल्लो समय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा झन्डै दुई महिनादेखि प्रमुख नभएकाले बजार अनुगमन प्रभावकारी नभई व्यवसायीले बजारमा मनपरि मूल्य बढाएको उपभोक्ता अधिकारकर्मीको गुनासो छ । तीन महिनाअघि १ हजार ६ सय ७५ रुपैयाँ पर्ने २५ किलोको जिरामसिनो चामल अहिले १ हजार ७ सय ५० रुपैयाँ पुगेको छ भने किलोको १ सय २५ रुपैयाँ रहेको मुसुरोको दाल १ सय ६० पुगेको छ । त्यस्तै १ सय १० रुपैयाँ किलोको मस्यौरा २ सय र ८६ रुपैयाँ प्रतिकिलोको चिनी १ सय पु¥याइएको छ । बजारमा सबैभन्दा धेरै हरियो तरकारीको मूल्य तेव्बरले बढेको छ । नयाँ सिजनको तरकारी बजारमा नआएको भन्दै व्यवसायीले मनपरी मूल्य लिँदा त्यसको असर उपभोक्तामा पर्न गएको छ ।
नेपाल खुद्रा व्यापार संघका अनुसार पछिल्लो तीन महिनामा मैदाको भाउ प्रतिबोरा २ सय रुपैयाँ बढेर २ हजार ५ सय पुगेको छ । ताइचिन चिउरा १० रुपैयाँ बढेर १ सय ४० रुपैयाँ पुगेको छ । तिहारको छेउमा डाल्डा घिउको मूल्य प्रतिकिलो १० रुपैयाँ बढेर २ सय ३० रुपैयाँ प्रतिकिलो पु¥याइएको थियो । तीन महिनाअघि १ हजार ६ सय ७५ रुपैयाँ पर्ने २५ किलोको जिरामसिनो चामल अहिले १ हजार ७ सय ५० रुपैयाँ पुगेको छ भने किलोको १ सय २५ रुपैयाँ रहेको मुसुरोको दाल १ सय ६० पुगेको छ । त्यस्तै, १ सय १० रुपैयाँ किलोको मस्यौरा २ सय र ८६ रुपैयाँ प्रतिकिलोको चिनी १ सय पु¥याइएको छ । तेलको मूल्य पनि बढेको छ । तीन महिनाअघि ३ सय रुपैयाँ प्रतिलिटर रहेको धारा तोरीको तेल अहिले ३ सय ६० रुपैयाँ पुगेको छ । त्यस्तै, २ सय ३० रुपैयाँ लिटरको भटमासको तेल २ सय ६०, सनफ्लावर तेल २ सय ४० रुपैयाँबाट बढेर २ सय ६० र तोरीको तेल २ सय ३० बाट २ सय ६० रुपैयाँ लिटर पुगेको छ । त्यस्तै, खुर्सानी पाउडर ३ सय २० रुपैयाँबाट ४ सय ५० पुगेको छ । पछिल्लो समय बजारको अवस्था के छ, आपूर्ति, मूल्यवृद्धि र नियमनको अवस्था के छ, तरकारीको मूल्य यसरी किन बढिरहेको छ भनेर सरोकारवाला व्यक्तिसँग कारोबारले गरेको कुराकानी :

व्यापारीले फितलो नियमनको फाइदा उठाइरहेका छन्
माधव तिमिल्सेना
अध्यक्ष
उपभोक्ता अधिकार अनुसन्धान मञ्च

बजार अनुगमन, नियमन र हस्तक्षेप गर्ने निकायमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा लामो समयदेखि प्रमुख नहुँदा बजारमा अस्वाभाविक मूल्यवृद्धि भएको छ । उपभोक्ता संरक्षण ऐन कार्यान्वयन गर्ने केन्द्रीय निकाय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री नहुनुले पनि बजार नियन्त्रणबाहिर गएको छ । विगत लामो समयअघिदेखि उपभोक्ता अधिकारकर्मीहरूले उठाएको कुरा बजार अनुगमन, नियमन र उपभोक्ता हितका लागि स्थानीय संयन्त्र बनाउनुपर्ने हो । स्थानीय संयन्त्रमार्फत मूल्य, गुणस्तर, आपूर्ति, नापतौलका कुरालाई पारदर्शी ढंगबाट अनुगमन गर्नुप¥यो भनेर हामीले लामो समयदेखि माग गर्दै आएका छौं, तर ती कुरा अहिलेसम्म सम्बोधन हुन सकेको छैन । सरकारको मुख्य प्राथमिकतामा उपभोक्ता हित र स्वच्छ बजार नपरेकाले पनि त्यसले गर्दा बजारमा अत्यावश्यक वस्तुको माग कति हो भनेर तथ्याङ्क राख्न सकिएको छैन । सरकारले उखुको मूल्य तोक्ने गर्छ तर चिनीको मूल्य तोक्न सक्दैन । उपभोक्ता संरक्षण ऐन, २०७५ ले अत्यावश्यक वस्तुहरूको सूची, मूल्य र अधिकतम खुद्रा मूल्य (एमआरपी) तोक्न भनिरहेको बेला पनि सरकारले यसतर्फ कुनै ध्यान दिएको छैन । ऐन र नियमावलीले व्यवस्था गरेका विभिन्न प्रावधानहरू छन्, तिनलाई कार्यान्वयन गर्नका निमित्त पनि सरकारी संयन्त्र चुकेको छ । एकीकृत रूपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य विभाग, गुणस्तर तथा नापतौल विभाग, औषधी व्यवस्था विभाग, कृषि विभाग, पशु सेवा विभाग सम्बन्धित मन्त्रालय र स्थानीय निकायहरू नीतिगत र व्यावहारिक रूपमा समन्वय भएको छैन । बजार अनुगमन र नियमनका लागि जुन किसिमको रणनीति तयार गर्नुपर्ने थियो, रणनीति तयार गर्नका लागि सरकार चुकेकाले पनि तरकारी, फलफूल, माछामासु तथा खाद्यान्नको मूल्य बढेको छ । अत्यावश्यक वस्तुको मूल्यवृद्धि भएको छ । सेवाको पनि मापदण्ड तयार हुनसकेको छैन । औषधि, स्कुल, कलेजका सेवाहरूमा पनि सरकारले मापदण्ड बनाउन नसक्दा अहिले बजारमा अत्यावश्यक वस्तु तथा सेवामा मूल्यवृद्धि भइरहेको छ । दसैं तिहार, छठजस्ता महान् चाडपर्वको बेला बजारमा चलायमान बढी हुने बेला नियमनकारी निकायमा प्रमुख नहुँदा बजारमा अनुगमन र नियमन कमजोर भएकाले त्यसको फाइदा व्यवसायीले उठाए । निमित्तको भरको विभाग चलेको र विभागमा सामान्य प्रशासन मन्त्रालयमा पठाइएका कर्मचारीहरू सम्बन्धित क्षेत्रको विषयमा ज्ञान नभएकाले पनि बजार अनुगमन प्रभावकारी रूपमा हुन सकेन । वस्तु तथा सेवाको मूल्य र गुणस्तर अनुगमन संयन्त्र कमजोर हुँदा व्यवसायीले मनपरि ढंगले मूल्य बढाउँदै गए । कमजोर अनुगमनको फाइदा केही गलत काम गर्ने व्यवसायीले उठाएका छन् । अहिले विशेष गरी हरियो तरकारी, चिनी, चामल, तेल, गेडागुडीको मूल्य बढेको छ । अहिले आपूर्तिमा कुनै समस्या छैन । मूल्य बढ्न नपर्ने बेला पनि बजारमा मूल्य बढ्दै गएको छ । माग र आपूर्तिमा कुनै समस्या छैन, उत्पादन भइरहेको छ । जाडोमा प्रयोग हुने लत्ताकपडामा धेरै नै मूल्य बढेको छ । चाइनाबाट सामान आउन सकेको छैन । जसका कारणले बजारमा चाडोका कपडामा मूल्य बढिरहेको छ । बजारमा मूल्य मूल्यवृद्धि नियन्त्रण गर्नका लागि सरकारले आपूर्ति बढाउनुपर्छ । बजार अनुगमन र नियमनलाई कडाई गर्नुपर्छ । खरिद मूल्य र बिक्री मूल्यलाई पनि कडाइ गरिनुपर्छ । साथै सरकारले राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्ने व्यवसायीलाई दण्डित गर्ने काम गर्नुपर्छ । विभागीय मन्त्री लामो समयदेखि खाली भएको र प्रधानमन्त्रीले हेर्न नभ्याउने भएकाले पनि तत्काल नियुक्त गर्नुपर्छ । विभागीय मन्त्रीले बजार अनुगमन र नियमन गर्नका लागि जति पनि नियम–कानुन रहेका छन्, उपभोक्ता संरक्षण ऐनलाई छाता कानुनका रूपमा विकास गर्नपर्छ । बजार नीति, उपभोक्ता नीति जारी गरेर कार्यान्वयन गर्नेतर्फ सरकार लागेपछि बजार व्यवस्थित बन्न सक्छ ।

सिजनको तरकारी बजारमा आइनसकेकाले मूल्य बढेको हो
विनय श्रेष्ठ
उपनिर्देशक
कालिमाटी फलफूल तथा बजार विकास समिति

बजारमा तरकारीको मूल्य घटेको छैन । दुई–तीन महिना अघिदेखि बढेको मूल्य तल नझरेको हो । हिउँदे तरकारीको सिजन सुरु भए पनि बजारमा राम्रोसँग नआउँदासम्म मूल्य घट्दैन । बर्खे तरकारीको सिजन सकिएकाले सिमी, बोडी, लौका, घिरौंलाको मूल्य घट्ने कुरा भएन । बजारमा तरकारीको आपूर्ति भइरहेको छ, तर सिजनल तरकारी जुन परिणाममा आउनुपर्ने थियो, नआएकाले पनि तरकारीको मूल्य घट्न सकेको छैन । समितिले दैनिक तरकारीको मूल्य तोकेर सार्वजनिक गरिरहेको छ । दैनिक कालीमाटी बजारमा ७ सय टन हाराहारीमा तरकारी आयात भइरहेको छ । कालीमाटी बजारमा यति बेला दैनिक ७ देखि ८ सय टन तरकारी आउनुपर्नेमा ७ सय टन आइरहेको छ । ताजा तरकारीको आयात कम देखिन्छ । आलु, प्याजको आयात धेरै नै भइरहेको छ, जसमा ताजा तरकारीको आयात अलि कम भइरहेको छ । आलुप्याज अन्य बजारले ठूलो परिणाममा खपत गर्न नसक्ने भएकाले पनि कालीमाटी बजारमा धेरै खपत हुन्छ । दैनिक २० देखि २२ टनका गाडी सीधै अन्य बजारमा लगेर खपत हुँदैन । ताजा तरकारीको पर्याप्त उत्पादन नभएको, अन्य बजारहरूको क्षमता बढ्दै गएकाले सोझै अन्य बजारमा जाने प्रवृत्ति बढेकाले कालिमाटी बजारमा कम आपूर्ति हुने गर्छ । कालिमाटी बजारसँगै निजी स्तरबाट स्थापना भएका तरकारी बजारहरू छन् । तिनमा तरकारी जाने गरेकाले पनि कालिमाटी बजारमा कम तरकारी भित्रिने गर्छ । अयन्त्र बजारमा धेरै तरकारी जाने भएकाले कालिमाटी बजारमा कम भित्रिँदा मूल्य पनि तत्काल घट्न सक्दैन ।
कालिमाटी बजारमा तरकारीको आपूर्ति धेरै नै घटेको देखिँदैन । त्यसमा पनि अन्यको तुलनामा ताजा तरकारीको आपूर्ति कम भएको मात्र हो । कृषकको बारीमा तरकारीको मूल्य बढेर आएको छ । अफ सिजनको तरकारीको उत्पादन सकिएको र छिमेकी मुलुक भारतबाट पनि धेरै तरकारी नआएकाले मूल्य बढ्न गएको हो । भारतबाट ४० प्रतिशत तरकारी आयात हुने र ६० प्रतिशत स्वदेशी तरकारी कालिमाटी बजारमा आउने गर्छ । भारतबाट अहिले ताजा तरकारीभन्दा पनि आलु–प्याज बढी मात्रामा आइरहेको छ । केही मात्रामा करेला, लौका, सिमी, फलफूल आए पनि पर्याप्त आएको छैन । सिमी, बोडी, लौका, घिरौंला अफ सिजनको तरकारी भएकाले पनि पनि उच्च नै छ । सिजनल तरकारी बजारमा धेरै आयो भने खपत पनि कम भएकाले मूल्य क्रमिक रूपमा घट्दै जान्छ । अहिले सिजनको तरकारी पनि बजारमा राम्रोसँग आउन सकेको छैन । काउलीको सिजन भए पनि पर्याप्त मात्रामा बजारमा आउन सकेको छैन । आगामी दुई सातापछिबाट तरकारीको मूल्य क्रमिक रूपमा घट्दै जान्छ । दसैंतिहारको भन्दा अहिले सामान्य मूल्य घट्ने क्रम सुरु पनि भइसकेको छ । काउली, बन्दाको मूल्य घट्ने क्रममा छ । कालिमाटी बजारमा धादिङ, नुवाकोट, काभ्रे, मकवानपुरलगायतका जिल्लाबाट तरकारी आउने गर्छ । स्वदेशी उत्पादनले बजार माग धान्न नसकेपछि ठूलो परिमाणमा भारतबाट समेत आयात हुने गर्छ । भारतबाट र स्थानीयस्तरबाट बजारमा पर्याप्त मात्रामा तरकारी भित्रियो भने मूल्य पनि क्रमिक रूपमा घट्दै जान्छ । तर, अहिले तीन महिनादेखि बजारमा तरकारीको मूल्य घट्न सकेको छैन ।

अत्यावश्यक वस्तुको आपूर्ति नियमित रूपमा भइरहेको छ
दुर्गाराज श्रेष्ठ
उपाध्यक्ष
नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेश

बजारमा वस्तु तथा सेवाको आपूर्तिमा कुनै किसिमको अवरोध नभइकन नियमित रूपमा भइरहेको छ । बजार खुले पनि व्यापार भने उत्साहजनक अवस्थामा भएको छैन । दसैंतिहार सकिएपछि आमउपभोक्तासँग रकम अभाव भएको र सामानहरू पहिले नै खरिद गरिसकेकाले पनि व्यापार त्यति बढ्न सकेको छैन । स्कुल, कलेज लागेकाले व्यापार बढ्नमा व्यवसायीहरू आशावादी रहेका छन् । बजारमा चिनीको मूल्य बढेको छ । साल्ट्र ट्रेडिङ र स्वदेशी उद्योगसँग पर्याप्त मात्रामा मौज्दात नभएकाले आयातित चिनी मात्र भएकाले पनि मूल्य बढेको छ । आयातकर्ताले प्रतिकेजी ९२ रुपैयाँमा बिक्री गरिरहेकाले बजारमा खुद्रा मूल्य एक सय रुपैयाँ पुगेको छ । सरकारले समयमै साल्ट्र टे«डिङ कर्पाेरेसनलाई भन्सार छुटमा चिनी आयातको अनुमति नदिँदा र स्वदेशी चिनीमिलसँग चिनी नभएकाले पनि आयातित चिनीको कारणले गर्दा मूल्य बढ्न गएको हो । चिनीको मूल्य बढे पनि अरू सामानको भने मूल्य खासै बढेको छैन । खाद्यान्नको आपूर्ति बिहान ९ देखि ११ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म ढुवानीका सवारी साधन चल्न नदिने निर्णय भएको छ । भित्री बाटोमा पनि सामान बोकेका गाडीलाई कुनै अवरोध नपु¥याउने गरी सहमति भएको छ । तोकिएको समयमा मुख्य बाटोमा ढुवानीका गाडी चलाउन पाइँदैन । भित्री सडकमा चलाउँदा जरिवाना नगर्ने सहमति भएको छ । यसअघि भित्री सडकमा गाडी चलाउँदा ट्राफिकले जरिवाना लिने गरेको थियो । अहिले त्यसमा कुनै अवरोध भएको छैन । तोकिएको समयमा मुख्य बाटोमा गाडी चल्न नदिए पनि भित्री बाटोबाट ढुवानी भइरहेकाले पनि अहिले आपूर्तिमा कुनै समस्या छैन । बजारमा बढी माग भए पनि मूल्यमा चलखेल बढी हुने गर्छ । अहिले बजारमा माग बढेको छैन । बैंकमा तरलता अभावको कारणले नयाँ एलसी खोल्नुपर्ने र नयाँ सामान मगाउनका पैसा पठाउनुपर्ने हुन्छ । त्यति बेला तरलता अभावको असर पर्छ कि भन्ने देखिन्छ । अहिले बैंकहरूले एलसीलाई झुलाइरहेको भन्ने कुरा आइरहेको छ । खरिदका लागि एलसी म्याचुअड भएपछि नेपाली बैंकहरूले भुक्तानी नदिएको भन्ने गुनासो आइरहेको छ । यस विषयमा सम्बन्धित निकायसँग छलफल गरिसकेका छौं । हाललाई त्यसको कुनै असर परेको छैन । बैंकको ब्याज नबढ्दिए हुन्थ्यो भन्ने छ । बैंकको ब्याज बढ्यो भने व्यापार कम भएको र ओभर एड खर्च पनि बढेकाले व्यवसायीलाई समस्या पर्न सक्छ । अहिले बजारमा अरू कुनै समस्या छैन । आपूर्ति सहज रूपमा भइरहेकाले बजारमा अत्यावश्यक वस्तुको अभाव छैन । लामो समयसम्म कोभिडको असर कायम रहेको र आमउपभोक्तासँग पर्याप्त रकम नभएकाले पनि व्यापार बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्