आधुनिक सहरी सडक निर्माणको प्रगति कमजोर

आधुनिक सहरी सडक निर्माण कार्यले एक वर्षको अवधिमा लगभग २४ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ ।
२४ महिनामा निर्माण सम्पन्न गरिसक्ने गरी २०७७ असार मा गरिएको सम्झौताअनुसार साउनबाटै काम सुरु भए पनि २०७७ कात्तिकसम्म भौतिक प्रगति २४ र वित्तीय प्रगति १८ प्रतिशतमात्रै गरेको छ ।
११ अर्ब रुपैयाँ बजेटमा अत्याधुनिक सहरी सडक र एकीकृत फोहर मैला व्यवस्थापन केन्द्र निर्माण गर्ने गरी कैलालीको दुई र कञ्चनपुरको दुई स्थानीय तहमा क्षेत्रीय सहरी विकास आयोजना लागू गरिएको छ ।
स्थानीय तहहरुले स्थान छनोट गर्न नसक्दा समयभन्दा निकै ढिलो सोअन्तर्गतका योजना कार्यान्वयन भए पनि निर्माण कार्य एकदमै सुस्त गतिमा भइरहेका छन् ।
संघीय आयोजना कार्यान्वयन इकाई कैलालीले धनगढी उपमहानगरपालिकामा पहिलो चरणका निर्माण गर्न थालिएको सडको भौतिक प्रगति २० र वित्तीय प्रगति १७, गोदावरी नगरपालिकामा भौतिक प्रगति १८ र वित्तीय प्रगति १५, शुक्लाफाँटा नगरपालिकामा भौतिक प्रगति ३४ र वित्तीय प्रगति ३० तथा भीमदत्त नगरपालिकामा भौतिक प्रगति २१ र वित्तीय प्रगति १० प्रतिशत भएको जनाएको छ ।
धनगढीमा कालिका कन्ट्रक्सनले सात वटा सडकको जम्मा १०.२४ किलोमिटर खण्ड ७६ करोड ६ रुपैयाँमा काम गरिरहेको छ ।
तर सात सडकमध्ये चार वटा सडकमा मात्रै काम सुरु भएको छ । ३.६५ किलोमिटरको चटकपुर–क्याम्पस रोड, ०.७ किलोमिटरको क्याम्पस रोड–जाखोरताल, ०.८७ किलोमिटरको डिभोटी–पिपलचौतारा र १.१५ किलोमिटरको हसनपुर रोड बनिरहेको छ भने २.७ किलोमिटरको गुल्म–चर्च रोड, १.३८ किलोमिटरको चौराहा–कैलालीनाला (चार लेन) ०.४३ किलोमिटरको मालपोत रोडमा काम सुरु भएको छैन ।
गोदावरी नगरपालिकामा पनि कालिका कन्ट्रक्सनले ६ वटा सडकको १६ किलोमिटर खण्ड ४८ करोड १७ लाख रुपैयाँमा निर्माण गरिरहेको छैन ।
संघीय आयोजना कार्यान्वयन इकाई कैलालीका आयोजना प्रमुख प्रविन शाहले गेटा आँखा अस्पतालदेखि जोनापुर, जोनापुरदेखि कत्था उद्योग, गेटा आँखा अस्पतालदेखि लालपुर, लालपुरदेखि गौरी, सिर्जनानगरदेखि चौकीडाँडा र चौकीडाँडादेखि चाक्ले खोलासम्मको सडक निर्माण भइरहेको बताए ।
यसैगरी, शुक्लाफाँटा नगरपालिकामा रमण केसी जेभीले २७ करोड ८७ लाखमा ४.७७ किलोमिटरको तीन वटा सडक निर्माण गरिरहेको छ । झलारीदेखि फुलेली, शुक्लाफाँटा नगरपालिका र पिपलाडीसम्मको तीन वटै सडकमा काम भइरहेको छ । भीमदत्त नगरपालिकामा जेडआईईसी लामा कन्ट्रक्सनले ८७ करोडमा १४ किलोमिटरको १९ वटा सडक निर्माण गरिरहेको छ । तीमध्ये दुईवटा सडक मदनचोक–दशरथ चोकर ट्राफिक चोक–विपि चोक सडक चार लेनको बन्ने आयोजना प्रमुख शाहले बताए ।
उनले कोरोना महामारी र अन्य कारणले निर्माण कम्पनीहरुले समयमा काम गर्न नपाएको हुनाले समयमा काम हुन नसकेको बताए । ड्रेन निर्माणमा बढी समय लाग्ने र अन्य काममा कम समय लाग्ने भएकाले पनि निर्माण कार्यको प्रगति कम देखिएको उनले बताए । आयोजना प्रमुख शाहले आवागमन अवरुद्ध हुने भएकाले धनगढीका सबै सडक एकसाथ बनाउन नसकिएको बताए । उनले चटकपुर–क्याम्पस रोड निर्माण सम्पन्न भएपछि मात्रै चार लेनको चौराहा–कैलालीनाला (धनगढीको मेनरोड) निर्माण सुरु गरिने बताए ।
आयोजनाअन्तर्गत धनगढीमा ४३ किलोमिटर सडक निर्माण गर्ने योजना छ । पहिलो चरणको निर्माण सम्पन्न गरी सकेपछि दोस्रो चरणको निर्माण सुरु गरिने इकाईका इन्जिनियर पुजन न्यौपानेले बताए ।
सन् २०१५ मा ११ अर्ब रुपैयाँको लागतमा आधुनिक सडकहरु र प्रत्येक स्थानीय तहमा एकीकृत फोहर मैला व्यवस्थापन केन्द्र बनाउने गरी एसियाली विकास बैंक (एडीबी) को ऋण अनुदानमा आयोजना लागू भएको थियो । एडीबीले पहिले फोहर मैला व्यवस्थापन केन्द्र बनाउनुपर्ने सर्त राखे थियो तर स्थानीय तहहरूले सोका लागि ठाउँ नै छान्न नसकेपछि पाँच वर्ष ढिलो आयोजना कार्यान्वयन भएको छ ।